जमुनाले गरिन् अध्यक्षमा उम्मेदवारी घोषणा, यस्ता छन् ११ प्रतिवद्धता

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वका लागि आइसीसी सदस्य जमुना घलेले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

वर्तमान अध्यक्ष शेष घलेकी धर्मपत्नी घलेले बिहीबार दिउसो काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

११ बुंदे प्रतिवद्धतामा उनले गैरआवासीय नेपालीहरुको माग र अपेक्षा पुरा गर्न, गैर आवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, संघलाई समय सापेक्ष परिवर्तन गर्दै सामूहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न, संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकास गर्न, एनआरएनएले निर्माण गरिरहेका मेघा परियोजनाहरुलाई समयसीमाभित्र सम्पन्न गराउन, संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०-२० एण्ड वियोण्ड’ लाई सफल कार्यान्वयन गर्न आदि कारण आफूले उम्मेदवारी दिएको बताएकी छन् । (तल हेर्नुहोस् प्रेस विज्ञप्तिको पूर्ण पाठ) ।

सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरुको सहयोग, संस्थाले सञ्चालन गरेका परियोजनाहरुमा फिल्डमा काम गर्दा अझै धेरै काम गर्नुपर्ने आवश्यकताको महशुस, यो अभियानमा महिलालाई अझै सहभागी बनाउनुपर्ने आवश्यकताको महशुस र प्राकृतिक विपतहरु जस्तै भूकम्प र नाकाबन्दीका समयमा फिल्डमा खटिएर काम गर्दाको अनुभव र संघर्ष आफ्नो उम्मेदवारीको प्रेरणा श्रोत भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

यसअघि उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टीबी कार्कीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

एनआरएनएको तीन दिने आठौं विश्व सम्मेलन १४ अक्टोबर शनिबारदेखि काठमाडौंमा सुरु हुंदैछ । सम्मेलनले नयां नेतृत्व चयन गर्नेछ । यतिखेर विश्वभरका एनआरएनहरु काठमाण्डौं पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री