एडिनबरामा नेपाली उद्यान उद्घाटन

लन्डन । ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले स्कटल्याण्डस्थित विश्वप्रसिद्ध रोयल बोटानिकल गार्डेन एडिनबरामा नेपाली उद्यानको उद्घाटन गरेका छन्।

सोमबार अपरान्ह रोयल बोटानिकल गार्डेनमा आयोजित एक विशेष समारोहमा राजदूत सुवेदीले नेपालको लाङटाङ क्षेत्रमा पाइने सोरबस भेस्टिटा (Sorbus vestita) नामको  बिरुवा रोपेर नेपाली उद्यानको उद्घाटन गरे । सो अवसरमा स्कटल्याण्डको परम्परागत ब्यागपाइपर बाजा पनि बजाइएको थियो । राजदूत सुवेदी, श्रीमती सुवेदी, नेपाल स्कटल्याणड एसोसिएसनका पदाधिकारीहरु लगायतले उद्यानको अवलोकन गरेका थिए ।

यसअघि गार्डेनकै विज्ञान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत डा. सुवेदीले दुई शताब्दी पुरानो नेपाल-ब्रिटेन सम्वन्ध बहुआयामिक रहेको र अहिले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा पनि दुई मुलुकहरुबीच सम्वन्ध बढीरहेको देख्दा आफुलाई खुसी लागेको बताए । उनले सन् १८०२ मा स्कटिश वैज्ञानिक फ्रान्सिस बुखानन ह्यामिल्टनले गरेको नेपाली बोटबिरुवाको अभिलेख राख्‍ने कामले नेपालको जैविक सम्पदालाई संसारभरि चिनाउन मदत पुराएको बताउँदै रोयल बोटानिकल गार्डेनले अहिले पनि नेपालका वनस्पतिको वैज्ञानिक अध्ययनलाई अगाडि बढाएर सो इतिहासलाई निरन्तरता दिइरहेको बताए।

‘नेपाल र स्कटल्याण्डबीचको वनस्पति क्षेत्रमा रहेको बलियो सम्वन्ध वनस्पतिको क्षेत्रमा मात्र नभएर हाम्रा समाजहरु, हाम्रा सरकार र हाम्रा मुलुकहरुबीचको सम्वन्धसम्म विस्तार भएको छ’, राजदूत सुवेदीले भने । उनले नेपालका अनुसन्धानकर्ताहरु तथा प्राज्ञ एवम् विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न सघाउन पनि रोयल बोटानिकल गार्डेन, एडिनबरालाई अनुरोध गरे ।

सोही अवसरमा बोल्दै रोयल बोटानिकल गार्डेन एडिनबराका प्रमुख (रेजीयस किपर) साइमल मिल्नले आफ्नो संस्थाले संसारका ३५ मुलुकहरुमा वनस्पति संबन्धी अध्ययन, अनुसन्धानको काम गरिरहेको बताउँदै नेपालसंगको ऐतिहासिक सम्वन्ध आफ्नो संस्थाकालागि गौरवको विषय भएको बताए। उनले नेपाल हिमाली जैविक विविधताको केन्द्रको रुपमा रहेको बताउँदै नेपालको सुन्दरता र विविधताका साथै नेपालीहरुको न्यानो आतिथ्य आफूले कहिल्यै बिर्सन नसक्ने पनि बताए। उनले बोटबिरुवाले मानिसहरुलाई शारीरिक रुपमा मात्रै हैन, आध्यात्मिकरुपमा पनि टेवा दिइरहेको बताउँदै आफ्नो संस्थाले बोटबिरुवाको माध्यमबाट दुई संस्कृतिहरुलाई जोडने काम गरिरहेको पनि जनाए।

रोयल बोटानिकल गार्डेन एडिनबराको वनस्पति अनुसन्धान कार्यक्रमका प्रमुख प्रमुख डा. मार्क वाटसनले नेपाल सरकारको वनस्पति विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय वनस्पति विभाग तथा सोसाइटी अफ हिमालयन बोटनी, जापानसंग मिलेर नेपालमा पाइने सम्पूर्ण वनस्पतिहरुको बारेमा अभिलेख राख्‍ने एउटा महत्वाकांक्षी परियोजना शुरु गरिएको र सो श्रृङ्खलामा समटिने १० वटा प्रकाशनमध्ये अहिलेसम्म पहिलो भोल्युममात्रै प्रकाशित भएको र अध्ययनको काम जारी रहेको बताए । उनले काठमाडौंको गोदावरीस्थित वनस्पति उदयानमा जैविक विविधता शिक्षा बगैंचा स्थापना गर्न आफ्नो संस्थाले सघाएको र नेपाली प्राज्ञ तथा विद्यार्थीहरुको क्षमता वृद्धि गर्न पनि आफ्नो संस्थाले काम गरिरहेको जानकारी दिए । उनले ब्रिटेन नेपाल सम्वन्धको २०० वर्ष पुरा भएको अवसरमा गत वर्ष नेपाली तथा ब्रिटिश वैज्ञानिकहरुको टोलीले नेपालको संयुक्त अध्ययन भ्रमण गरेको र त्यसबेला नेपाली वनस्पतिका केही नयाँ प्रजातिहरु पनि फेला पारेको बताए ।

रोयल बोटानिकल गार्डेन एडिनबरामै अनुसन्धानकर्ताको रुपमा कार्यरत डा. भाष्कर अधिकारीले आफूहरुले नेपाल सरकारको अनुमतिबाट मात्र बोटबिरुवा तथा बिउहरु ल्याउने गरेको र नेपाली बिउको अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल सरकारलाई सघाउन तयार रहेको बताए । उनले नेपालमा अहिले मिचाहा प्रजातिका बिरुवाहरुले किसानहरुलाई दुखदिइरहेको र यसबारे जनचेतना फैलाउन आवश्यक रहेको पनि बताए।  नेपाल सरकार तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाहरुसंग मिलेर रोयल बोटानिकल गार्डेनले नेपालमा मिचाहा प्रजातिका बिरुवाहरु नष्टगरी तिनबाट बायोचार भनिने मल उत्पादन गर्ने प्रविधिको विस्तार गर्न काम गरिरहेको पनि बताए ।

सो अवसरमा राजदूत सुवेदीले एउटा विशेष क्यामराद्वारा बाहुनिया वाहिली (भोर्ला) भन्ने बिरुवाको डिजिटल अभिलेख राख्‍नकालागि तस्वीर खिंचेका थिए।  त्यस्तै उनलाई रोयल बोटानिकल गार्डेनका डा. कोलिन पेन्ड्रीले Potentilla fruticosa बिरुवाको स्पेसीमिन राजदूत सुवेदीलाई हस्तान्तरण गरेका थिए ।

झण्डै साढेतीन सय वर्ष अघि स्थापित एडिनबरास्थित रोयल बोटानिकल गार्डेन संसारमै वनस्पति संबन्धी अध्ययन, अनुसन्धानकालागि प्रसिद्ध छ। वर्षेनी झण्डै नौ लाख भन्दा बढी मानिसहरुले भ्रमण गर्ने उक्त गार्डेनमा तीस लाख थरिका बोटबिरुवाहरुको जानकारी संकलन गरिनुकासाथै तिनको डिएनए बारकोड को काम पनि भैरहेको छ। संसारभरिका नेताहरुले भ्रमण गरेर बिरुवा रोप्ने गरेको सो बगैंचामा सन् १९६० मा स्वर्गीय राजा महेन्द्रले पनि भोजपत्रको बिरुवा रोपेको रोयल बोटानिकल गार्डेनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री