आइतबार, मंसिर ३ २०७४ | Sun, November 19, 2017
नेपालको समय: १०:३९ | UK Time: 04:54

बेलायतको पिआरले टुटेको सम्बन्ध…

कथा

अन्जु भण्डारी
२०७४ कार्तिक १४ गते १२:१४

कथाकार भण्डारी

अर्को हप्ता मनोज आउने…कस्तो भयो होला, यत्रो लामो समयसम्म बिदेशमा बसेको पहिलाको भन्दा नि राम्रो भयो होला है ? मोटाएको होला कि दुब्लाएको । मलाई माया गर्छ कि नाई…भेट्नी बितिकै के गर्ला । अनि म… उसलाई देख्ने बितिकै अँगालो हालेर छातीमा टाँसिएर रुन्छु, अनि सोध्छु- यत्रो बर्षसम्म मेरो याद आएन तिमीलाई ? किन यस्तो ठाउंमा एक्लै छोडेर गएको भनेर रिसाउँछु बोल्दिन । अहँ मरे बोल्दिन, उसले मायाँ नगरिन्जेल र माफी नमागिन्जेल त म बोल्दै बोल्दिन ।

उफ ….यो मन पनि कति सोच्न सकेको ? कहिले नथाक्ने भएं उसको बारेमा सोचेर र आफैसंग कुरा गरेर । कुरा गर्दा गर्दै कति खेर आँखा लागेछ कुन्नि । मनोजले बिस्तारै आएर निधारमा माया गर्यो, आस्था……..यी हेर त म आएं नी । अनि के सोचेर टोलाई रहेकी, मेरो बारेमा त होला । नटोलाउ तिम्रो मनोज तिम्रो लागि फर्केर आयो । मलाई माफ गरिदेउ ल । अब तिमीलाई एक्लै छोडेर कहिं जान्न । हरपल तिमी संगै, तिम्रै वरिपरी तिमीलाई मात्र मायाँ गरिरहने छु । अनि सुन न आस्था- त्यो क्याम्पसको दिनमा मलाई जति मायाँ गर्थ्यौ नि अब पनि त्यतिनै मायाँ गर ल ।

हुन्छ तर तिमीले मलाई पहिलाको जस्तो छोडेर जान चाहि पाउदैनौ नि फेरी । अब नि गयौ भने त म तिमी संग कहिल्यै बोल्दिन ।
हुन्छ छोड्दिन, धरोधर्म छोड्दिन….।

आस्था- आस्था । पर नेपथ्यबाट कसैको मधुरो बोली संगै ढक..ढक … ।

उफ….. ! आज पनि म नउठेर आमाले ढोका ढकढकाउनु भएछ । अनि मनोज मायाँ ति सब कुरा त सदाको जस्तै आज पनि सपना नै रैछ ।

७ बर्ष पहिला क्याम्पसको पहिलो दिन कोठा नचिनेर अल्मलिरहेको थिए, पछाडि बाट कसैको आवाज …

सुन्नुस त् । केही खोज्नु भयो जस्तो छ, मद्दत गरुँ ? गोरो उज्यालो अनुहार, अग्लो कद, ठूला आँखा, नाम था भएन ।

सहमतिमा टाउको हल्लाएं ११ मानविकी संकायको कक्षा ।

ए ! माथि दोस्रो तल्लामा गए पछि भर्याङबाट दाहिने तिरको दोस्रो कोठा ।

धन्यबाद !

त्यो दिन पछि त्यो अग्लो कद भएको मानिस कता हरायो कुन्नि मेरो नजरमा कहिल्यै परेन ।

तर क्याम्पस सुरु भएको ४ महिना पछि अचानक क्यान्टिनमा त्यही अग्लो कद गोरो अनुहारसंग आँखा जुध्न पुगे ।
मेरो दिदीको साथी मनोज पौड्याल, बिएड तेस्रो बर्ष, घर गोर्खा, बिहान क्याम्पस दिउसो स्कूल पढाउने । सरिताले परिचय गराई दिई

आस्था श्रेष्ठ- यती मात्र भनें मैले ।

त्यसको केही दिनमा सरिताले मनोज दाइले दिनुभएको भनेर एउटा खाम मेरो हातमा राखीदिइ ।

खोलेको चिठी रैछ ।

प्रिय आस्था मुटु भरिको मायाँ,

खोइ के भनेर सम्बोधन गरुँ तिमीलाई, त्यसैले सम्बोधन बिना नै यो पत्र कोरेको छु ! माफ गर ल ?
आस्था ! जुन दिनबाट तिमीलाई देखें, त्यो दिनबाट तिम्रो अनुहार आँखा वरिपरी नाची रहेको छ । तिम्रै सम्झनाले हरपल सतारहेको छ । जति जति तिम्रो सम्झना आउंछ, त्यति त्यति यो मुटु जोडले धड्किन थालेको छ । खोइ के भएको हो यो ? कति समयसम्म त मलाई नै था भएन । तर म त प्रेममा परेको रैछु त्यो पनि तिमीसंग । शायद तिमीलाई था पनि छैन होला । म सधै क्याम्पस आउथें तिमीलाई भेट्न । खोइ भेट्न भनुं कि हेर्न भनुं ? तर तिमीलाई जति हेरे नि तृप्त हुन सकिन । था छैन किन ? भगवानले नै तिमीलाई सुन्दर बनाए वा मेरो नजरलाई नै लोभी बनाए । फेरी पनि माफ गरिदेउ है, था नदिकनै तिमीलाई हेरें, तिमीलाई पछ्याएँ । था छैन आस्था तिमी मलाई चिन्छौ कि चिन्दिनौ । नचिने पनि तिमीप्रति कुनै गुनासो हुने छैन किनकी गल्ति मेरै हो, तिम्रो सामु पर्न हरपल डराइरहें । चिने पनि यो जरुरी छैन कि म तिम्रो बारेमा जे सोच्छु तिमी पनि मेरो बारेमा त्यही सोच । तर, आस्था कसरी भनुँ म ? तिमीलाई मायाँ गर्छु भनेर ? कसरी भनु मेरो मन मुटु जतासुकै तिमी नै तिमी छौ । तिमी मेरो आँखामा बसेकी छौ । यो कहिले भन्दिन किनकी आँखामा राखेको चिज त आँसुले बगाएर लैजान्छ रे, अरुको नजर पनि लाग्छ रे । त्यसैले त मैले तिमीलाई मुटु भित्र सजाएको छु त्यो पनि कसैले नदेख्ने गरेर । हो आस्था म तिमीलाई धेरै मायाँ गर्छु, साँचो मायाँ गर्छु । तिमीलाई आफ्नो बनाउन चाहन्छु त्यो पनि जुनी जुनीलाई । नाइँ नभन है ।

उही तिमीलाई मायाँ गर्ने मान्छे…
मनोज

कता कता मेरो मनमा पनि मनोज बसेको रैछ । तर पनि जवाफमा केही फर्काइन । बिस्तारै आँखा मात्र होइन दुई मुटु पनि एक हुदै गए, एक साथ धड्किन थाले । नबोलेर नै धेरै बोल्न थाल्यौ, नबुझेर नै बुझ्ने भयौं । शब्द भन्दा धेरै मन बुझ्ने भयौं, भाव बुझ्ने भयौं ।मायाँ गर्छु नभनिकन अथाह मायाँ गरिरह्यौ । तर पनि यो मन झस्किरहन्थ्यो । म नेवारको छोरी उ बाहुनको छोरा, कतै यो समाज र उसको घरले मलाई नस्वीकारने पो हो कि ?

किन डराएको तिमी । हामीले मायाँ गरेका हौ कुनै पाप गरेका होइनौ । मायाँ गर्नेहरु कायर हुदैनन, डराउँदैनन । झन् मुटु बलियो बनाएर यो समाजसंग लड्छन । समय र परिस्थितिसंग भिड्छ्न । अनि तिमी सधै भरि यसरी नै मुस्कुराई रहनु, यसरी नै मायाँ गरिरहनु, तिम्रो यही माया र मुस्कानको लागि म संसार र भगवानसंग त लडन सक्छु भने यो समाज र परिवार त के हो र आस्था..

मनोज यसरी नै सम्झाई रहन्थ्यो मलाई । १२ को परिक्षा दिएपछि हामीले मन्दिरमा बिहे गर्यौं । बाबा आमाकी एक्ली छोरी, हजुरआमाको मुटुको टुक्रा । उहाँहरुको सपना मान मर्यदा सबैलाई कुल्चिएर आफ्नो घर बसाएं मैले, त्यो पनि मनोजसंग । जो संग न मेरो जात मिल्छ न खान्दान न केही । तर पनि खुशी थिएँ । आफूले सबै भन्दा धेरै मायाँ गरेको मान्छेलाई जीवनसाथी बनाउन पाएकी थिएँ ।
विहे भएको ४ महिनापछि मनोज पढन बेलायत जाने भयो । यति धेरै मायाँ गरेको मान्छेबाट टाढिएर कसरी बाचू त्यो पनि यो अन्जान ठाउँमा । भन्न त मन लाग्यो मलाई छोडेर कतै नजाउ, जति पढछौ यही बसेर पढ, जे गर्नुछ दुबै जना मिलेर यही गरौंला । म गाउमा बसेर दु:ख गरौंला तिमी बांकी रहेको पढाइ पुरा गर । तर भन्न सकिन । उसको सुनौलो भबिष्यको तगारो बन्न पटक्कै मन लागेन ।
आस्था तिमीमाथि धेरै भरोसा गरेकी छु, बिश्वास गरेको छु, मेरो आस्थामा आँच आउने काम कहिल्यै नगर है । मेरो बिश्वास र भरोसालाई कहिल्यै नतोड । अनि मेरो अनुपस्थिमा आमा र बैनीको राम्रो ख्याल राखिदेउ ल ? यति भनेर मनोज मेरो आँखाबाट ओझेल पर्यो ।

७ बर्ष पछि,
मनोज आउने दिन आफूसंग अरुपनि भएकोले लिन आउन नपर्ने र एयरपोर्टबाट सिधै घर आउने भनेकाले हामीले घरमा नै मनोजको प्रतिक्षा गर्यौ, नभन्दै बेलुका ६ बजेतिर मनोज घर आयो साथमा एकजना गोरीसंग । ‘जेसीका’ संगै पढ्ने साथी, बेलायतमा जन्मे हुर्केकी ।नेपाल घुम्न र यहाँको बारेमा जान्न बुझ्न आएकी रे । मनोजले सबैसंग परिचय गरायो ।

उ मेरो अर्को बैनी आस्था, साथीको बिहेको लागि यहाँ आएकी मनोजले जेसीकासंग मेरो परिचय गरायो ।
‘बैनी’ चसक्क मुटु चस्कियो …सोध्न बोल्न केही सकिन । मनोज आएको पनि २ हप्ता बितिसकेको थियो । यी दिनमा उ मेरो नजिक आउने त परै जाओस, बोल्दा पनि बोलेन । उसको यस्तो ब्यबहार अनि उसको र जेसीकाबीचको घनिष्ठता देखेर चुपचाप बस्न सकिन म ।
जेसीका मेरी पत्नी हो हामीले बेलायतमा नै बिहे गरिसक्यौं । यहाँ आमा र बैनी भेट्न आएकी ।

‘पत्नी, बिहे अनि जेसीका’ ! एकै चोटी आकाश खसे जस्तो भयो । र पनि आफूलाई सम्हालें र सोधे- जेसीका पत्नी हो भने म को हुँ त ? के सम्बन्ध रह्यो त तिमी र म बीचमा ?

केही सम्बन्ध छैन तं र म बीच, तं जस्तो पाखे र गँवार कसरी कोही हुन् सक्छेस ? कहाँकी जेसिका बेलायत कि, कहाँ तं पाखे !
हिजोसम्म भगवानको मन्दिरमा तिम्रो दिर्घायुको लागि दियो जलाउँदा म पाखे भइन । यत्रो बर्षसम्म तिम्रो बिरामी आमाको स्याहार गर्दा म गँवार भइन । तिम्रो घर ईष्टमित्र सबै मान्दा म गाउँले भइन । तिम्री बहिनीलाई आमा दिदी भाउजु सबैको मायाँ दिएर हुर्काउदा म तिम्रो घरको लक्ष्मी भएं । तर आज स्वास्नी हुनुको अधिकार खोज्दा म पाखे गँवार भएँ ? त्यसो भने म जस्तो पाखे गँवारसंग किन बिहे गरेको त ? किन यत्रो बर्षसम्म मलाई मायाँको झुटो आशा देखाएर राखेको ? के कमी छ र म मा तेरो लायक नहुन ? के छ त्यो जेसीकासंग त्यस्तो जुन मसंग छैन ? अर्धचेतमा कराउन थालेछु ।

तँलाई मायाँ गर्नु, बिहे गर्नु मेरो जीवनको ठूलो गल्ति थियो । अनि त्यही गल्तिसंग अर्को गल्ति गरेर तँ सँग जिन्दगी भरि बस्न सक्दिन म ।
के भनेको मनोज यस्तो ? मेरो मायाँमा के कमी छ र ? पल पल मरेर भए नि तिम्रो बिश्वास र आस्था बचाई रहेको छु । तिमीलाई अन्दाज पनि छैन होला यो ७ बर्ष मैले कसरी बिताएँ ?

शुरुको १ बर्ष त तिम्रो फोन चिठी अनि त्यो चिठीमा कोरिएका शब्दले एक्लोपन कम भएको थियो । हाम्रो मुटु जोड्ने साधन त्यही चिठी त थियो नि । कसरी बिर्सियौ त्यो एक बर्षमा हाम्रो मौनता कति बोल्थ्यो अनि त्यही मौनतामा हाम्रो मुटु बोल्थे । यी आँसु पीडा सब कति बोल्थे । नबोलेर नै कति बोल्थ्यौ । तिम्रो अगाडि सधैं लजाई रहने यी दुई नयन तिम्रो तस्बिर सामु कति बोले ? तिमी सात समुन्द्र पारी भए नि हरेक पल म संगै रह्यौ । यिनै भावनामा कति डुब्यौं, पोखियौं, कति रोयौं, हांस्यौं । यसको कुनै मापन थिएन किनकी मायाँलाई मापन होइन महसूस गरिंदो रैछ । हो मनोज मैले पनि तिमीलाई हरेक पल महसुस गरें । तर, १ बर्ष पछि त तिमी परिबर्तन भयौ । चिठी फोन दुवै गर्न छोड्यौ । गाउँलेहरु पनि तिमीले उतै विहे गरेर बसेको कुरा गर्थे । लोग्नेले उतै विहे गरेको छ, त चाहिं किन उसलाई कुरेर बस्छेस भन्न सम्म पनि पछि पर्थेनन् । तर पनि त्यति धेरै मायाँ गर्ने मेरो मनोजले कहिल्यै धोका दिदैन भनेर तिमी माथि नै बिश्वास गरिरहें ।

म पनि अरु स्वास्नी मान्छे जस्तै हुँ । अरु जस्तै खुसी हुन चाहन्छु, हाँस्न चाहन्छु । आफ्नो लोग्ने आफ्नो साथमा चाहन्छु । तिम्रो बेवास्ताले गर्दा मेरो जिन्दगी जहर जस्तै भएको छ । घरि घरि त मरुँ जस्तो नलागेको पनि होइन तर पनि तिमी कतै फर्किन्छौ भन्ने झिनो आशले छट्पटिंइदै बाँचेकी छु । त्यसैले यी सब कुरा सुन्न र सहन सक्ने क्षमता म मा छैन अब । या त तिमी आउ कि यी सारा मानिसले भन्ने गरेका कुरा झुटा हुन् भनिदेउ । कति चोटी तिमीलाई फोन गरेर यी सब भन्न खोजेको थिएँ, चिठीमा पनि लेखेको थिएँ तर तिमीले न चिठीको जबाफ फर्कायौ । झन फोन त आबाज सुन्ने बितिकै काटिदिन्थ्यौ ।

यी ७ बर्षमा तिमी प्रतिको मेरो बिश्वास थोरै धर्मराए पनि मन र मायामा कहिल्यै परिबर्तन भएन । हिजो जति मायाँ गर्थें, आज पनि त्यतिनै मायाँ गर्छु । भन्थे छोडेर जानेहरु फर्कंदैनन् तर पर्खनेहरु पनि हार खाँदैनन् । अनन्त सम्म पनि छोडेर जानेको पर्खाइमा आफ्नो आँखा बिछ्याई रहन्छन् । हो म पनि त्यही आशा र बिश्वासमा तिमी आउने बाटो हेर्न कहिल्यै छोडिन । मेरो बिश्वास र मायाँले एकदिन तिमीलाई फर्काउंछ । यी हेर त भगवानले मेरो पुकार सुने, तिमी घर फर्क्यौ ।

म तेरो लागि होइन, आमा र साक्षीको लागि आएको हो । अनि कहिल्यै ऐनामा हेरेकी छस आफूलाई ? पहिला गएर ऐना हेर अनि थाहा पाउँछेस कति लायक छस तँ मेरो लागि …. तँ त मेरो खुट्टामा बाँधे नि सुहाँउदिनस….अनि तँ जस्तोलाई म कसरी स्वास्नी भनुँ ? कसरी जिन्दगी बिताउ तँ संग…. ?

हो त, ऐना राम्रोसंग नहेरेको पनि त महिनौ बितिसकेको रैछ । झन आफूलाई सजाउन छोडेको त बर्षौ बितेछ । अहो…कति फुस्रो भएछ अनुहार पनि, ओठ त झनै कलेटी परेछ, हात खुट्टा त झन् चाउरी परेछ । कपाल त हेर्ने नहुने गरेर जिग्रिंग परेको । राम्रोसंग याद पनि छैन । अन्तिम चोटी कहिले सिंगारेको थिए आफूलाई । यो सब तिम्रो बेवास्ताले त हो नि । एकै छिन पख है मनोज । मुख धोएँ, क्रिम लगाएँ, आँखाभरि गाजल अनि ओठमा रातो लिपस्टिक । अनि दराजबाट उसैले बिहेमा किनिदिएको सारी ब्लाउज निकालेर लगाएँ र दुलही जस्तै बनेर ऐना अगाडि बसें । ७ बर्ष अगाडि दुलही हुँदाजति राम्री थिएँ आज पनि उस्तै राम्री त छु नि । तिनै ओठ, तिनै निर्दोष आँखा । त्यति खेर यी सबै कति राम्रो लाग्थ्यो तिमीलाई, तारिफ गरेर थाक्दैनथ्यौ । तर आज के भयो तिमीलाई ? म भन्दा राम्री त्यो जेसीका लाग्यो । यी हेर त त्यो भन्दा म कुनै कुरामा कमी छु र ? अघि मनोज उभिएको तिर फर्किएको मात्र थिएँ । उ त कतिखेर कोठाबाट बाहिर निस्किसकेछ ।

एकातिर मनोजको बेवास्ता अर्कोतिर उसको र जेसीकाको निकटता । न घर छोडेर जान सकें, न उनीहरु दुइ जनालाई नजिक भएको हेर्न सकें । हरेक पल तड्पिरहें, आफ्नै आँखा अगाडि आफ्नो लोग्ने अरु महिलाको अँगालोमा देख्दा धेरै पीडा हुदो रैछ तर पनि केही गर्न सकिन शिवाय सहनु ।

अहिलेसम्म जे जे भयो भयो, अब धोका दिदिन, पहिलाको जस्तै मायाँ गर्छु । अनि, स्वास्नी हुनुको सारा अधिकार पनि दिन्छु तिमीलाई…एकदिन साक्षी र जेसीका बाहिर गएको बेलामा मनोजले मसंग आएर माफी माग्यो । माफी माग्नु पर्दैन तिमीले । गल्ति तिम्रो होइन गल्ति मेरो हो । भगवान ठानेर तिमीलाई पूजा गर्नु, आँखा चिम्लेर तिमीमाथि बिश्वास गर्नु, मायाँ गर्नु मेरो गल्ति हो । त्यहि गल्तिको सजाँय अहिले भोग्दैछु । अनि कस्तो अधिकारको कुरा गरेको ? मलाई अधिकार होइन तिमी चाहिएको, तिम्रो मायाँ चाहिएको हो । कसरी हेरुँ तिमी अर्को केटीसंग हिडेको, कसरी धोका दिन सक्यौ ? कसरी बिर्सियौ हाम्रो मायाँलाई ?

तिमीलाई धोका दिएको छैन, जेसीकासंग कागजको लागि मात्र बिहे गरेको हो । उसँग बिहे गरेर २ बर्ष सँगै बसे पछि स्थायी बसोबासको लागि कार्ड बन्छ । अनि उ सँग सम्बन्ध बिच्छेद गरेर तिमीलाई बेलायत लान्छु । अब अरु २-३ बर्ष दु:ख गर्यो भने संधैको लागि सुख हुन्छ । हामीबाट जन्मने बच्चा बेलायतमा जन्मन्छन । बरु तिमीलाई मेरो बिश्वास लाग्दैन भने मैले अहिलेसम्म कमाएको सम्पती तिमीलाई दिन्छु । तर बिन्ती… यो घर अनि आमा छोडेर कतै नजाउ ।

बिश्वास त गरेको थिएं तिमीलाई तर तिमीले के गर्यो ? म माथि बिश्वासघात गर्यौ, सौता हाल्यौ । अनि तिम्रो सम्पतीले के गरुँ म, तिमी नै मेरो भएनौ भने, भैगो तिम्रो सम्पती पनि चाहिंदैन, केही पनि चाहिंदैन मलाई । बेलायत पनि जादिन, तर तिमी बेलायत छोडेर यहि आउ, यहि दु:ख गरेर बसौंला । अनि मैले तिम्रो घरमा बिताएको ७ बर्ष फर्काइदेउ । मैले गरेको दु:ख, बगाएको आँसु पीडा सब भुलाइ देउ । तिमी बिना बिताएको चिसो रातहरु बिर्साइदेउ । जेसीका तिम्रो पत्नी हो, तिमीले म माथि सौता हालेको बिर्साइदेउ । मलाई मेरो माइतमा छदाको जस्तै खुसी बनाइदेउ । सक्छौ यी सब गर्न ? सक्छौ भने जिन्दगी भरी यसरी नै कुर्छु तिमीलाई बिना कुनै गुनासो ।
मनोज चुपचाप निस्कियो त्यहाँबाट ।

हे भगवान ! कस्तो मान्छेलाई मायाँ गरेछु । एउटै मान्छेको कति रुप ? कुन रुपको बिश्वास गरुँ ? अहँ…यो त मेरो मनोज हुनै सक्दैन । जब मनोज नै मेरो भएन भने यो घर कसरी मेरो हुन्छ ? यिनै सोचसंगै अघि बढेका पाइलाले कसरी घर देखि बजार सम्मको ४ घण्टा भिरालो छिचोलें पत्तो पाइन । जब था पाएँ हस्पिटलको बेडमा पाएँ । १२ घण्टा भएछ हस्पिटलको बेडमा पल्टेको पनि । तपाईं त धेरै भाग्यमानी हुनुहुदो रैछ । यस्तरी एक्सिडेन्ट हुंदा पनि सामान्य चोटमात्र लागेको छ । हामीले मलम पट्टी गरेर नदुख्ने र निन्द्रा लाग्ने औषधी दिएका थियौ । अब खतरा मुक्त हुनुहुन्छ । ल तपाई आराम गर्दै गर्नुस । डाक्टर साब राउण्डमा आउने बेला भयो । म जान्छु । अहँ ……सांच्चि तपाईंको मान्छे तपाईंलाई यहाँ ल्याएदेखि बाहिर कुरेर बसिरहनुभएको छ । भित्र पठाईदिउ ? ढोकाबाट निस्कदै गर्दा केही सम्झे जस्तो गरेर नर्सले भनि ।

कस्तो छ तपाईंलाई अहिले ? म आकाश । हिजो राति घर फर्कने बेलामा बाटोमा ट्रकले हानेर रगताम्मे भएर पल्टेको अबस्थामा भेटेको थिए तपाईंलाई । साथमा कोही छैन र ? त्यस्तो सुनसान सडकमा राती राती एक्लै हिड्ने । मैले बेलैमा नभेटेको भए जे पनि हुनसक्थ्यो । एकै सासमा धेरै कुरा बोल्यो उसले । सबै छन् तर कोही छैन् । आफ्नाबाट भागेको मान्छेको साथमा को पो हुन्छ र ? भन्न मन लागेको थियो तर भनिन । चुपचाप बसें ।

परिवारमा कोही छन् भने भन्नु खबर गरिदिन्छु । भोली पल्ट बाबा आमा अनि हजुर आमा हस्पिटल आउनुभयो । हजुरआमाको काखमा घोप्टो परेर रोएँ । ५ बर्ष देखिको दुख पीडा अपमान सबै आँसु बनेर उहाँको काखमा पोखियो । लाग्यो सबै रित्तियो। ‘नानी अहिलेसम्म तैले जे गरिस राम्रै गरिस् । कसैलाई मनबाट मायाँ गर्नु बिश्वास गर्नु गलत होइन । गलत त ति हुन् जसले तेरो मायाँ बुझ्न सकेनन, तेरो बिश्वास माथि उभिन सकेनन । भाग्यमानी होस् त् बेलैमा आफूलाई र आफ्ना वरिपरिको मान्छेलाई चिन्न पाइस् । अभागी त ति हुन् जसले आफू अगाडिको मायाँको समुन्द्र चिन्न नसकेर कहिल्यै भेट्न नसक्ने क्षितिजतिर भौंतारिइरहेका छन् । कसैले तेरो मायाँ बुझ्न सकेनन भनेर चित्त सानो नबना । तैले आफ्नो कर्तब्य राम्रोसँग निभाएकी छस् । आफ्नो कर्तब्य पुरा गर्ने मान्छे महान हुन्छन । तँ महान छस् नानी तर तैंले अव जे निर्णय गर्छेस् त्यो भन्दा पहिला राम्रोसंग सोचेस्, बिचार गरेस्, न्याय आफूलाई गर्ने कि अरुलाई गर्ने ? किनकी मनबाट निर्णय गरिस् भने अरुलाई न्याय गर्छेस् । दिमागबाट निर्णय गरिस् भने आफूलाई न्याय गर्छेस् ।’

मनोजको धोकाले विछिप्त भएको मुटु लिएर घर त छोडें । तर उसको यादमा धड्किने र उसको धोकाले रुने यो मुटुलाई के गरुँ म ? न धोएर जाने ति प्रेमिल यादहरु, न रोएर कम हुने यी दुख्ने पीडाहरु । जति नै दुखे पनि अघि बढ्नु पर्ने नियति । अघि बढदै गएँ म । त्यो पनि एउटा स्वतन्त्र चरी जस्तै बिना कुनै पश्चताप आफ्नो स्वाभिमान र आत्म सम्मानलाई कहिल्यै नझुकाउने गरि ७ बर्ष अगाडिको आस्था हुन थालें म ।

५ बर्षपछि एकदिन अकस्मात हस्पिटलमा मनोज भेटें । भेट्ने बितिकै हात समातेर सोध्न थाल्यो-कहाँ गएको तिमी ? २ बर्ष भयो तिमीलाई खोज्न थालेको । कहाँ कहाँ खोजिन ? तिम्रो घर गएँ । आमा बाबाले केही बताउन मान्नु भएन । सरिताकोमा नि गएँ । उसलाई पनि केही था रैनछ । म तिमीलाई लिन आएको आस्था …….घर जाउँ हिंड । कहाँ जाने अनि जेसीका खोइ त ? मैले सोधें ।

तिमीलाई था छैन ? यो ५ बर्षमा मेरो जीवनमा के के भयो ? जेसीका पनि पहिलाको जस्ती रहिन, परिवर्तन भइ । न पहिलाको जस्तो मायाँ गरि न वास्ता । बिस्तारै घर आउन छोडी । मैले भनेको पनि मान्न छोडी । मेरै सामुन्ने भएर नि पर कतै भएको आभाष दिलाउन थाली । जब दुइ मुटु नै प्रेमिल हुदैन तब ति दुइ मुटु जोडिएको सम्बन्ध खोक्रो हुदो रैछ । के गर्ने आस्था शरीर मात्र जोडिएर नहुदो रैछ, मन नजोडिएपछि । झन् पीडा दिदो रैछ, मन दुख्दो रैछ । यस्तो सम्बन्धमा बस्नु भनेको त पल पल मरेर बाँच्ने अनि बाँचेर पनि मर्ने सरह नै रैछ । म पनि कयौं चोटि मरेर बाँचें, बाँचेर पनि मरें, डिप्रेशनमा गएँ । कति समय त औषधीको साहारामा मात्र पनि बाँचें । तिमीलाई सम्झिएँ, तिमी त छौ मेरो लागि, मलाई मायाँ गर्ने भनेर नेपाल फर्किएँ । तर तिमी घरमा थिइनौ । किन घर छोडेर हिंडेको ? भनेको त थिएँ नि म २-३ बर्षमा फर्किन्छु । त्यति पनि कुर्न सकिनौ है मलाई…

कसरी कुर्ने अर्काको लोग्नेलाई ? तिमी त जेसीकाको लोग्ने पो हौ त । म संगको नाता त तिमीले त्यति बेला नै तोड्यौ । जति बेला जेसीका संग बिहे गर्यौ । जेसीकाको बेवास्ताले त तिमी डिप्रेशनमा गयौ । तर म माथि त तिमीले जेसीका ल्यायौ । मलाई कस्तो भयो होला । कहिले सोच्यौ ? भन्न मन लागेको थियो तर भनिन । चुपचाप उसैलाई सुनिरहें …

संसार कै सबै सुख खुशी एक इशारामा तिम्रो सामु ल्याउन सक्ने भएको छु म अहिले । घर, पैसा, बैंक ब्यालेन्स बेलायतको स्थायी कार्ड सब थोक छ मसंग, मात्र तिमी छैनौ । अनि तिमी बिना केही छैन, कोही छैन, एक्लै भएको छु । मुटु छ, धड्कन छैन । सुख छ खुशी छैन । घर छ, तिमी छैनौ । पैसा छ, रहर छैन । वरिपरि हजार मान्छे छन्, आफ्नोपन छैन । घर भरिपूर्ण छ तर मन रित्तो छ । तिम्रो मायाँको अभावमा बाँचिरहेको छु । बिन्ति छ आस्था, यो रित्तिइसकेको मनलाई तिम्रो मायाँले भरिदेउ । म थाकिसकें, यो सम्पति बेलायत केही चाईदैन मलाई, तिम्रो काख अनि त्यो मायाँ गर्ने मुटु, जहाँ म आफैलाई बिर्सेर बाँच्न सकुँ, ति सारा दुख पीडा बिर्सेर हास्न सकुँ । त्यति भए पुग्छ ।

मनोज । म त…..’ममी’ पछाडिबाट आएर रिदमले अंगालो हाल्यो । अनि त्यो भन्दा पछाडि आकाश । जो मेरो लागि साँच्चिकै आकाश जस्तै फराकिलो छ । मेरो बारेमा सबै कुरा थाहा हुँदाहुँदै पनि मायाँ गर्न कहिल्यै छोडेन । कोही नहुँदा नहुँदै पनि सब थोक भयो । मनोजको धोकाले छिया परेको यो मुटुलाई उसैले नै सम्हालेको थियो । मेरो लागि के के गरेन ? यो समाजसंग लड्ने देखि मलाई आज आफ्नो खुट्टामा उभिन सक्ने बनाउने नै उही थियो । उसैको कारण यो आस्था आज आस्था भएकी छे । शायद उ नभएको भए यो आस्था पनि आज कतै भिडमा हराईसकेकी हुन्थी, कतै गुमनाम भएर आफ्नो भाग्यलाई धिकार्दै हुन्थी ।

हाल- लण्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक