युकेमा मनाइयो महाकवि देवकोटाको १०९ औं जयन्ति

केन्ट । विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेको आयोजनामा युकेमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्मजयन्ति मनाइएको छ । गत शनिबार नेपाली भान्साघर रेष्टुराको सभाहल, आशफोर्डमा एक समारोह गरी महाकविलाई सम्झना गरिएको हो  ।
महासङ्घका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षता रहेको उक्त समारोहमा बेलायत तथा नेपालबाट पाल्नु भएका साहित्यप्रेमी र साहित्यनुरागीहरुको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पश्चात गीतकार टि माया राईबाट महाकवि देवकोटाको जीवनी प्रस्तुत गरिएको थियो  । पहिलो चरणको सम्मान कार्यक्रममा दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरिएको थियो । त्यसका साथै विश्व नेपाली साहित्य महासङ्घ केन्द्रले रसियन भाषामा प्रकाशित गरेको कविताहरुको सङ्ग्रह ‘नेपाली कविता कुञ्ज’ पनि महासङ्घ साउथका अध्यक्ष विजय हितान र साहित्यकार घन थापाले संयुक्त रुपमा विमोचन गरे ।
सिर्जना वाचन गर्ने क्रममा टि माया राई, घन थापा, अमित थेबे, लोक बहादुर गुरुङ, लाहाङ चेम्जोङ, विजय हितान, विश्वास दीप तिगेला, औतारी साईला, जानुका पुन मगर, चन्द्रावती राईले आफ्ना सिर्जना पाठ गरे ।  ‘ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो’ बोलको गीत मोहन लिम्बुले आफ्नै कम्पोज र गायनमा प्रस्तुत गरेका थिए भने सुरेन्द्र इङ्नामले बाँसुरीमा देवकोटाको गीति कविता ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो’ बजाएर सुनाएका थिए ।
दोस्रो चरणको समीक्षात्मक कार्यक्रममा अमित थेबेले शोभा कुमारी गजुरेलद्वारा लिखित ‘संविधान कस्का लागी’ कविता सङ्ग्रहको समीक्षा गरे । उक्त संग्रहमा ६४ वटा कविता अटाएका छन् । लेखिका आफैं देश द्वन्द्वकालमा विस्थापित भएर जर्मन, बेल्जियम हुँदै फ्रान्स आएर बसोवास गरिरहेकी छिन् । कविता सङ्ग्रहका ‘यो संविधान कस्का लागी’ शीर्षकको कविता पनि वाचन गरेका थिए । कवयित्री गजुरेल वामपन्थी नेता सीपी गजुरेल सुपुत्री हुन् ।
दिउसो १२ बाट शुरु भएर साँझ ५ बजे सम्म चलेको उक्त समारोहका अध्यक्ष तिगेलाले युकेमा आउदो वर्ष विश्व साहित्य सम्मेलन गर्ने योजना खुलाउँदै सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम विसर्जन गरे । कार्यक्रमलाई साउथ शाखाका अध्यक्ष विजय हितानले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री