प्रा. सुवेदीले नेदरल्याण्डसस्थित मानवअधिकार अध्ययन संस्थाको उद्घाटन गरे

तस्विर- बीरेन्द्र श्रेष्ठ

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले नेदरल्याण्डसको राजधानी हेगस्थित एक मानवअधिकार अध्ययन – अनुसन्धान संस्थाको उद्घाटन गरेका छन् ।

नेदरल्याण्डसको आठवटा प्रमुख र प्रतिष्ठित विश्वविद्यालयको संयुक्त आयोजनामा स्थापना भएको मानवअधिकार अध्ययन तथा अनुसन्धान संस्थाको गत शुक्रबार एक भव्य समारोहबीच सुवेदीले उद्घाटन गरेका हुन् ।

सुवेदी मुख्य अतिथि वक्ताको रुपमा थिए । आफ्नो मन्तव्यका क्रममा सुवेदीले संसारमा अहिलेको मानवअधिकार 
संरक्षण र सम्वर्धनको स्थिति तथा संयुक्त राष्ट्रसंघको तत्वाधानमा हुनुपर्ने सुधारहरुबारे आफ्ना विचार राखेका थिए ।

कुनै मन्त्री वा नेताको सट्टा अन्तर्राष्ट्रिय क्षेत्रमा लब्ध प्रतिष्ठित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका विद्वानद्वारा सो संस्थाको उद्घाटन गराउने निर्णयअनुसार प्रा. सुवेदीलाई आमन्त्रण गरिएको थियो ।

उक्त समारोहमा नेदरल्यान्ड्सका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ताहरु, हेगस्थित विभिन्न देशका राजदूत र कूटनीतिज्ञहरु एवं मानवअधिकार अभियन्ताहरुको उपस्थिति थियो ।

हेगको प्रतिष्ठित आसर इन्स्टिच्यूटमा उक्त नयां संस्थाको स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री