अन्त्येष्टीको लाइभ गर्नेलाई मुन्द्रेले गरे घोचपेच

लन्डन । नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहंदा ‘स्टयाण्ड अप’ कमेडियन जितु नेपाल (मुन्द्रे) पनि यसबाट अछुतो रहेनन् । लाइक, अपडेट अनि कमेन्ट्स । समय समयमा फेसबुक अपडेट्स नियालिरहंदा मानिसहरु खुशीयाली देखि मसानघाटसम्मको लाइभमा अभ्यस्त रहंदा मुन्द्रे आश्चर्य चकित छन् । ‘हुंदा हुंदा अहिले त लास जलिरहंदा पनि धुरु धुरु रुंदै लाइभ गर्ने चलन बढ्यो’, लन्डनको ग्रीनफोर्ड टाउन हलमा शनिबार आयोजित एक कार्यक्रममा मुन्द्रे प्रस्तुत भए, ‘खुशीको क्षण त ठीकै हो, वियोगमा समेत लाइभ गरेर मानिसहरुको 
संवेदना किन हराउंदैछ ?’

सामाजिक सञ्जालको विकृतिमाथि कटाक्ष गरेका यी जनप्रिय हांस्यकलाकारले पारिवारिक विचलन र नेपालको समसामयिक राजनीतिक बेथितीमाथि समेत कडा प्रहार गरे । उनले आसन्न निर्वाचन जोडेर नेताहरुमाथि तीखो व्यंग्य गर्दा दर्शकले साथ दिइरहेका थिए । ‘अहिले चुनाव लागेको बेला त उम्मेदवारहरु खेतमा धान काट्ने देखि उस्तै परे कपाल नै काटिदिन समेत तयार देखिएका छन्’, चुनावका बेला मिठो सपना बांडेर जनता माझ पुग्ने अनि जितेपछि गायब हुने नेताहरु मुन्द्रेको ‘टार्गेट’ भए ।

नेपालका शीर्षस्थ नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओली, रामचन्द्र 
पौडेलको क्यारिकेचर गरेर पनि दर्शक हंसाए मुन्द्रेले । आधुनिक जमानामा महिलाहरुको बढ्दो फेसन र मेकअप संस्कृति उनको व्यंग्य मसला बनेको थियो । नेपालको तुलनामा बेलायतका नेपाली महिलाको सुःख-सयललाई उनले व्यंग्य मिश्रित प्रशंसा गरे ।

चौंथो पटक बेलायत आएका मुन्द्रले नेपाली टाइम भनेर दुई घण्टापछि हल्लिंदै कार्यक्रममा झुल्किने प्रति पनि छाडेनन् ।

इलिट इन्टरटेनमेन्ट यूकेले बेलायतमा गरेको कार्यक्रममा मुख्य आकर्षण बने मुन्द्रे । शुक्रबार उनी केन्टवासी नेपाली दर्शक हंसाउंदै थिए भने शनिबार अल्डरसटस्थित एम्पायर हलमा । उनी अभिनित फिल्म ‘छक्का पन्जा २’ को ५१ औं दिनको कार्यक्रम भ्याउन छिट्टै नेपाल फर्कनु परेको मुन्द्रेले बताए ।

स्टयाण्ड अप कमेडीमा बेग्लै पहिचान बनाएका जितु अहिले टेलिसिरियल ‘जीरे खुर्सानी’ मा समेत व्यस्त छन् ।

कार्यक्रममा जितुसंगै नेपाल आइडलका टप ६ सुरज थापा, टप १० केन्जल मेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत दर्शकलाई मनोरन्जन दिलाए ।

हेम गुरुङ, निरा पिजी, इन्द्र घोताने, मनोज गुरुङ र लाटो मगरले संयुक्त रुपमा नेपाली सांझ ३ गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री