भूकम्पपछि प्राय इरानी खुल्ला आकासमुनि, ४०० बढीको मृत्यु

भूकम्पपछि उद्दार तथा शव निकाल्ने क्रम जारी छ । तस्विर- एपी

तेहरान, २८ कात्तिक (रासस-एएफपी) – इरान र इराकको सीमाक्षेत्रमा आइतबार आएको ७.३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीहरुले दोस्रो रात पनि खुल्ला आकासमुनि रात विताएका छन् ।

यस भूकम्पमा परी ४०० भन्दा बढी इरानीको मृत्यु भएको छ । सरकारी टेलिभिजनले मङ्गलबार सो जानकारी दिएको हो ।

टेलिभिजनले मङ्गलबार दिएको जानकारी यस भूकम्पकमा ६६ हजार भन्दाबढी घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । यस ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको कुवेत पनि धक्का महसुस गरिएको छ ।

कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प इरानको इतिहासमा आएका शक्तिशाली भूकम्पमध्ये एक हो ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ ।

भूकम्पको कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

इरान र इराकको सीमा क्षेत्रमा भूकम्प गएको भएता पनि विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको छ । साथै अरु पनि कयौं गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ ।

भूकम्पले कतिपय स्थानका बाटोहरु भास्सिएका छन् । केही स्थानमा पहिरोले आवतजावत नै बन्द गराएको छ । उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्नसमेत कठिनाइ भएको छ ।

भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका व्यक्ति त्रास अझै हटेको छैन । बारम्बारको पराकम्पनले उनीहरूको त्रासलाई झन बढाएको थियो । पराकम्पनको कुवेतमा समेत त्रासको स्थिति रहेको छ ।

सन् १९९० इरानमा आएको ७.४ म्याग्नीच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए ।

यसै बीच चिनियाँ राष्ट्रपति सि चिनफिङले मङ्गलबार इरान र इराकका सरकार प्रमुखलाई समवेदना सन्देश पठाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री