व्यवसायी खड्काले स्थानीय विद्यालयलाई प्रदान गरे एक हजार पाउण्ड आर्थिक सहयोग

लन्डन । वकिंग निवासी एक जना सफल व्यवसायी तथा समाजसेवी सुनिल खड्काले स्थानीय एक प्राथमिक विद्यालयमा बालबालिकाको ‘आउटडोर प्ले ग्राउण्ड’ निर्माणका लागि एक हजार १७ पाउण्ड सैंतिस पेन्स चन्दा प्रदान गरेका छन् । खड्काले मंगलबार परफर्ड वेष्टबाइ फ्लीटमा अवस्थित परफर्ड चर्च अफ इंग्ल्याण्ड प्राइमरी स्कुललाई उक्त सहयोग प्रदान गरेका हुन् ।

खड्का र उनकी धर्मपत्नि सुलोचना खड्काले उक्त विद्यालयकी प्रिन्सिपल क्याथ्रीन क्रिनिक्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

चेक प्राप्त गरेपछि हेड टिचर क्याथ्रीनले खड्का दम्पत्तिलाई धन्यवाद दिंदै सहयोग रकम उचित शीर्षकमा खर्च गरिने बताइन् ।

विगत १८ वर्षदेखि बेलायत बस्दै आएका चितवनका खड्का एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध छन् । खड्काले विगतमा पनि सामाजिक कार्यमा कयौं पटक व्यक्तिगत तथा संस्थागत सहयोग गरेका थिए ।

वकिंगमा विगत ७ वर्षदेखि ‘न्यू हवेली’ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका खड्काले यसअघि चितवन एड ट्रष्ट (क्याट यूके) मार्फत चितवनमा ‘आइ ब्यांक’ स्थापनाका लागि एक लाख ११ हजार एकसय ११ रुपैयां प्रदान गरेका थिए । खड्का क्याट यूकेका सल्लाहकार एवं पूर्व उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री