इरानमा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४४५ पुग्यो, राष्ट्रपतिद्वारा निरीक्षण

एक इरानी महिला भूकम्प प्रभावित क्षेत्रमा बिलौना गर्दै । तस्विर एपी

तेहरान, इरान, २८ कात्तिक, (रासस-सिन्ह्वा) – आइतबार गएको शक्तिशाली भूकम्पका कारण मङ्गलबार अबेरसम्म इरानमा मात्रै ४४५ जनाको मृत्युभएको इरानी अधिकारीले बताएका छन् ।

इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको सङ्ख्या सात हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ । भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ ।

यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरूको अवलोकन गर्नुभएको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै विपतको यो वेला अविचलित बन्दै उद्धारका काममा सहयोग पुरयाउन स्थानीय जनता, सुरक्षाकर्मी लगायतका उद्धार टोलीलाई आग्रहसमेत गर्नुभएको इरानी टेलिभिजनले जनाएका छन् ।

उद्धारमा इरानी सेना, इश्लामिक रिभोलुसन गार्ड कप्स, स्वयम्सेवक बासिज बल, रेड क्रिसेन्ट र इश्लामिक रिभोलुसन हाउजिङ् फाउन्डेसन लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाले भूकम्पबाट प्रभावित सवैलाई उपचार, औषधि, बास तथा खाद्यान्न लगायतका अतिआवश्यकीय सामग्रीमार्फत सहयोग पुरयाएका छन् ।

यसैबीच भूकम्पबाट इरानलाई परेको दुःखप्रति विश्वभरबाट सहानुभूति तथा सहयोगका लागि व्यक्त गरिएका सन्देशहरू आएका बताइएको छ । विदेशमन्त्री मोहमद जावेद जरीफले इरानको पीडामा दुःख व्यक्त गर्ने सम्पूर्ण विश्वसमुदायको प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री