राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेटस (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुम बुधबार जाबिल राजप्रासादमा भेटवार्ता गर्नुहुँदै । तस्बिर- सुरेन्द्रबहादुर नेपाली, दुबई रासस

दुबई, २९ कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ ।

उक्त अवसरमा दुई मुलुकबीच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । उहाँले नेपालको पूर्वाधार, पर्यटन, कृषि, जलस्रोतको विकास तथा त्यसका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति अल मोक्तुमले छलफलका क्रममा नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गर्नुभएको र राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट परिवारका साथै समाजलाई पनि फाइदा पुरयाएको जानकारी दिनुभएको सचिव वैरागीले बताउनुभयो ।

उहाँले पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउने कुरामा जोड दिइएको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले अदालतबाट मृत्युदण्डका सजाय पाएका तथा १४ वर्षसम्म कारागारमा रहेका अमरबहादुर बमको सजाय माफी तथा निजको रिहाइका लागि उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको सचिव वैरागीले उल्लेख गर्नुभयो ।

वार्तामा आपूर्तिमन्त्री जयन्त चन्द पनि उपस्थित हुनुहुन्थ्यो ।

वार्तामा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति तथा युएईका सभामुखबीच भेटवार्ता

राष्ट्रपति भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गर्नुभयो ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख हुनुभएकोमा डा अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा ७० प्रतिशत तथा राजनीतिमा ३० प्रतिशत स्थान महिलाले प्राप्त गरेकोमा प्रशंसा गर्नुभएको राष्ट्रपतिका विकास मामिलाका स्वकीय सचिव डा विमला राई पौड्यालले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा पनि संविधानअनुसार प्रतिनिधिसभा तथा प्रादेशिकसभा निर्वाचनमार्फत संघीय संरचना कार्यान्वयन भएपछि महिलाले निर्णय गर्ने स्थानको ४० प्रतिशत भाग ओगट्ने उल्लेख गर्नुभएको स्वकीय सचिव राईले जानकारी दिनुभयो ।

उक्त अवसरमा युएईका सभामुख डा. अल कुबैसीले पनि राष्ट्रपति भण्डारी प्रथम नेपाली महिला राष्ट्रपति हुनुभएकोमा वधाई दिँदै यस भ्रमणबाट दुई मुलुकबीच सहयोगको क्षेत्र अझै विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । भेटवार्तामा आपूर्ति मन्त्री जयन्त चन्द पनि उपस्थित हुनुहुन्थ्यो ।

उक्त अवसरमा युएईका अन्य केही सांसदहरूको पनि उपस्थिति थियो भने नेपालका लागि युएईका राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनका साथै राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री