राष्ट्रपतिबाट बुर्ज खलिफा अवलोकन, शेख जायद मस्जिद भ्रमण

संयुक्त अरब इमिरेटस (युएई) को भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दुबईस्थित बुर्ज खलिफाको अवलोकन गर्नुहुँदै । तस्वीर – सुरेन्द्र बहादुर नेपाली, दुवई, रासस

दुबई, २९ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबईस्थित बुर्ज खलिफाको भ्रमण गर्नुभयो ।

राष्ट्रपति भण्डारी बुर्ज खलिफा पुग्नुहुँदा उहाँको स्वागतार्थ अरमानी होटेल एन्ड रिसोर्टका शिष्टाचार अधिकारीहरूको उपस्थिति थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले भवनको १५२ औँ तलास्थित स्वागत कक्षमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द पनि हुनुहुन्थ्यो ।

नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

अंग्रेजी भाषाको ‘खलिफा टावर’ को अरेबिक रूपान्तर नै ‘बुर्ज खलिफा’ हो । यसलाई उद्घाटन पूर्व ‘बुर्ज दुबई’को नामबाट पनि चिनिन्थ्यो । यो संयुक्त अरब इमिरेट्स (युएई) को निकै अग्लो भवन हो । यसमा १६४ तला रहेको छ ।

‘बुर्ज खलिफा’को कूल उचाइ ८२९.८ मिटर अर्थात दुई हजार २१७ फिट रहेको छ । सन् २००८ को अन्त्यतिर निर्माण सम्पन्न भएपछि यो संसारको सबैभन्दा अग्लो संरचनामा गनिन पुग्यो ।

‘बुर्ज खलिफा’को निर्माण २००४ मा आरम्भ भएको हो र सन् २००९ मा यसको बाहिरी भाग पूर्ण भएको हो । बाहिरी भागलाई कङ्क्रिटले बलियो बनाइएको छ ।

दुबई सरकारले तेलमा आधारित मुलुकको अर्थतन्त्रबाट मुक्ति पाउन र यस अमिरातलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो संरचना निर्माण गर्ने योजना बनाएको हो ।

प्रारम्भमा यसको नाम ‘बुर्ज दुबई’ राखिएपनि पछि अबुधावीका शासक तथा संयुक्त अरब इमिरेट्सका राष्ट्रप्रमुख खलिफा बिन जायद अल नेह्यानको सम्मानमा यसको नाम परिवर्तन गरिएको हो । अबुधावी तथा युएईले यसको ऋण तिर्न दुबईलाई रकम उपलब्ध गराएको थियो । उचाइका अनेकौँ कीर्तिमान कायम गरेर यो भवन विश्वकै सबैभन्दा अग्लो टावर बन्न पुगेको छ ।

बुर्ज खलिफाको डिजाइन स्किडमोर, ओइङ्स तथा मेरिलका एड्रियान स्मिथले तयार गर्नुभएको हो । यसै कम्पनीले विल्स टावर तथा वन वल्र्ड ट्रेड सेन्टरको पनि डिजाइन बनाएको थियो । यस परियोजनाको वास्तु निरीक्षण गर्न हाइदर कन्सल्टिङलाई र सुपरीवेक्षण गर्न नोर ग्रुप कन्सल्ट्यान्टलाई जिम्मा दिइएको थियो ।

यसको डिजाइन ग्रेट मस्क अफ समाराको जस्तै इस्लामी वास्तुकलामा आधारित छ । ‘वाई’ आकारको तीन भाग भएको तलाको ज्यामितीय डिजाइनले आवासीय तथा होटेललाई स्थान दिएको छ । यसको मध्यभाग तथा अन्य शाखा भागले यस भवनको उचाइलाई भर दिएको छ ।

राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार साँझ अबुधावी पुग्नुभएको हो । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चारमाध्यमका प्रतिनिधिहरु हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारी आजै बिहान अबुधावीबाट सडकमार्गबाटै दुबई आइपुग्नुभएको हो ।

राष्ट्रपतिबाट शेख जायद मस्जिदको भ्रमण

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गर्नुहुँदै । तस्बिर – सुरेन्द्रबहादुर नेपाली, अबुधावी, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गर्नुभयो ।

राष्ट्रपति भण्डारी ग्रान्ड मस्क पुग्नुहुँदा त्यहाँका महानिर्देशक शेख युसिफ अल ओबाइदीले उहाँलाई स्वागत गर्नुभयो ।

महानिर्देशक अल ओबाइदी तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई ग्रान्ड मस्कका विभिन्न पक्षका विषयमा जानकारी दिनुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले ग्रान्ड मस्कमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उहाँलाई उक्त केन्द्रका तर्फबाट मस्जिदको इतिहास तथा कलासम्बन्धी पुस्तक उपहारस्वरुप दिइएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उपस्थित हुनुहुन्थ्यो ।

शेख जायद ग्रान्ड मस्कलाई यस मुलुकमा प्रमुख प्रार्थनास्थलको रूपमा लिइन्छ । यसको डिजाइन सिरियाली वास्तुविद् युसेफ अब्देल्कीले गर्नुभएको हो ।

युएईका पूर्व राष्ट्रप्रमुख शेख जायद बिन सुल्तान अल नेह्यानले यस परियोजनाको आरम्भ गर्नुभएको हो । उहाँले वास्तुकलाको ऐतिहासिक तथा आधुनिक मूल्यका साथमा इस्लामिक विश्वको सांस्कृतिक विविधतालाई एकीकृत गर्न यो मस्जिदको स्थापना गर्न चाहनुभएको बताइन्छ ।

यसै मस्जिद नजिकैको भागमा उहाँको समाधिस्थल छ । यो मस्जिद सन् १९९६ देखि २००७ बीच निर्माण भएको हो र यो संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो मस्जिद पनि हो । यसको भवनले १२ हेक्टर भूमि ढाकेको अनुमान गरिएको छ र यसका आफ्नै बाह्य संरचना र गाडी बिसौनी छन् । यस मस्जिदले शैक्षिक, सांस्कृतिक तथा भ्रमण आदानप्रदान पनि गर्छ ।

यस मस्जिदमा रहेको पुस्तकालयमा २०० वर्षभन्दा अगाडिदेखिका विज्ञान, सभ्यता, हस्तलिपि, कला तथा सिक्काका दुर्लभ प्रकाशन उपलब्ध रहेको बताइन्छ । यहाँ अरबी, फ्रेन्च, इटाली, स्पेनी, जर्मन तथा कोरियाली भाषाका सामग्री छन् ।

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारीका साथै राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि पनि उपस्थित हुनुहुन्थ्यो ।

लुभ्र अबुधावी संग्रहालयको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गर्नुहुँदै । तस्बिर – रासस

राष्ट्रपति भण्डारीले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारी लुभ्र अबुधावी पुग्नु हुँदा उहाँलाई यहाँका निर्देशक म्यानुएल राबातले स्वागत गर्नुभयो । उक्त अवसरमा निर्देशक राबात तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई विभिन्न कलाकृतिका विभिन्न पक्षका विषयमा जानकारी गराउनुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द पनि हुनुहुन्थ्यो । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

लुभ्र अबुधावी कला तथा सभ्यताको संग्रहालय हो । यस संग्रहालयको उद्घाटन २०१७ नोभेम्बर ८ मा भएको हो । यो संग्रहालय अबुधावी तथा फ्रान्सेली सरकारबीच ३० वर्षीय सम्झौताको एक भाग हो र यो सादियत द्वीप सांस्कृतिक जिल्लामा रहेको छ ।

यो संग्रहालय २४ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ र यहाँ ८,००० वर्गमिटर क्षेत्रमा प्रदर्शन कक्ष रहेका छन् । यो अरेबियाली प्रायःद्वीपमा सबैभन्दा ठूलो संग्रहालय ठानिन्छ ।

लुभ्र अबुधावी संग्रहालय निर्माण गर्न ६० करोड दिराम खर्च भएको अनुमान गरिएको छ । ‘लुभ्र’ नामसँग सम्बन्धित हुन अबुधावीले ५२ करोड ५० लाख अमेरिकी डलर खर्च गरेको छ र कला प्राप्त गर्न विशेष प्रदर्शन तथा व्यवस्था गर्न थप ७४ करोड ७० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

यहाँ विश्वभरबाट ल्याइएका कला प्रदर्शन गरिएको छ र विशेषगरी पूर्वीय र पश्चिमी कलाबीचको अन्तर हटाउन यहाँ प्रयास गरिएको छ ।

राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यस मुलुकको औपचारिक भ्रमणमा सोमबार साँझ यहाँ आइपुग्नुएको हो ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनुभएको थियो ।

राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

संयुक्त अरब इमिरेटसको भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शहीद स्मारकमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्बिर – सुरेन्द्रबहादुर नेपाली, अबुधावी, रासस

संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

राष्ट्रपति भण्डारी शहीद स्मारक पुग्दा उहाँलाई शहीदका परिवार मामिला कार्यालयका निर्देशक शेख खलिफा बिन तहनुन बिन मोहम्मद अल नेह्यानले स्वागत गर्नुभयो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले शहीद स्मारकमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

‘वाहत अल करम’ नाम दिइएको यो शहीद स्मारक संयुक्त अरब इमिरेट्स (युएई) का बहादुर शहीदको सम्मानमा निर्माण गरिएको हो ।

यो शहीद स्मारक करिब शेख जायद ग्रान्ड मस्क र युएईको सशस्त्र बलको सामान्य मुख्यालयबीच करिब ४६ हजार वर्गमिटर क्षेत्रमा अवस्थित छ । यहाँ वार्षिकरूपमा शहीद दिवसमा शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चारहजार वर्गमिटर क्षेत्र रहेको छ भने केन्द्रमा एक वृत्ताकारको पोखरी पनि छ ।

यसमा ३१ वटा एल्मुनियमका पाता जडान भएको छ र यसले एकता, भाइचारा र नेतृत्व तथा नागरिकप्रति आपसी सहयोग प्रदर्शन गर्ने धारणा राखिएको छ । यस स्मारकको डिजाइन बेलायती कलाकार इद्रिस खानले तयार गर्नुभएको हो ।

यसमा रहेको श्रद्धाञ्जलि मञ्च (प्याभिलियन अफ अनर) को छत्मा आठवटा ठूला पाता छन् र यी पाताले युएईको सात इमिरात तथा आठौँले राष्ट्रिय शहीदको प्रतिनिधित्व गर्छन् ।

मञ्चको केन्द्रमा सातवटा ठूला सिसाका पाता राखिएका छन् र तिनीहरूले सात इमिरातको प्रतिनिधित्व गर्छन् । त्यसमा सशस्त्रबलको दृढ समर्थन कोरिएका छन् ।

उहाँका साथ भ्रमण दलका अन्य सहभागी पनि उपस्थिति हुनुहुन्थ्यो ।

मस्दार नगरको पनि भ्रमण 

यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै अबुधावीस्थित मस्दार नगरको पनि भ्रमण गर्नुभयो ।

राष्ट्रपति भण्डारी मस्दार नगर पुग्नुहुँदा अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा संस्थाका महानिर्देशक अदनान अमिन तथा त्यहाँका अन्य अधिकारीहरुले उहाँलाई स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा महानिर्देशक अमिनले उक्त नगरमा भइरहेका क्रियाकलापका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिनुभएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले कम्प्युटर पर्दामा आफ्नो औँलाबाट हस्ताक्षर गरी त्यसलाई डिजिटल रूपमा दर्ता गर्नुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उपस्थित हुनुहुन्थ्यो ।

‘मस्दार नगर’ अबुधावीको योजनाबद्ध रूपमा निर्माण गरिएको नगर हो । यस नगरको केन्द्रीय भाग मुबादला डेभलपमेन्ट कम्पनीको सहायक संस्था मस्दारले निर्माण गरिरहेको छ । यस कम्पनीको प्रारम्भिक पूँजीको अधिकांश भाग अबुधावी सरकारले उपलब्ध गराएको छ । यस नगरको डिजाइन बेलायती वास्तुनिर्माण संस्था फोस्टर एन्ड पार्टनर्सले तयार गरेको हो ।

मस्दार नगर पूर्णतया सौर्य ऊर्जा तथा नवीकरणीय ऊर्जामा निर्भर छ । यो नगर अबुधावी अन्तरराष्ट्रिय विमानस्थल नजिकै निर्माण भइरहेको छ । यस नगरमा अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा संस्थाको मुख्यालय पनि अवस्थित छ ।

मस्दारमा पहिलो कार्यालय स्थापना गर्ने संस्था मस्दार विज्ञान तथा प्रविधि अध्ययन संस्थान हो ।

भ्रमणमा राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि पनि रहनुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री