लघुकथा: मेरो टोपी

स्कुल पढ्दा शुक्रबार मलाई सधैं एकदम रमाइलो लाग्थ्यो । शुक्रबार आधा दिन मात्रै पढाई हुन्थ्यो । अनि हरेक शुक्रबार हाम्रो स्कुलमा केही न केही कार्यक्रम पनि हुन्थ्यो ।

त्यसैले मलाई हरेक शुक्रबार बिशेष लाग्थ्यो । त्यसमध्ये जुन शुक्रबार स्कुलमा गाउने र नाँच्ने पालो आउंथ्यो, त्यो दिन मलाई अझै बिशेष लाग्थ्यो ।

कहिलेकाहीं स्कुलमा नाँच प्रतियोगिता हुन्थ्यो । मलाई नाँच्न खास नआउने । तर, मलाई नाँच्दा लगाउने मौलिक नेपाली पोशाकहरु लगाउन भने खुब सोख लाग्थ्यो । त्यसैले नाँच्न नजाने पनि म सधैं अघि सर्थें । त्यस्तै म दश कक्षामा पढ्दा एक दिन शुक्रबार स्कुलमा हामी बिद्यार्थीहरुबीच नाँच्ने प्रतियोगिता थियो । मैले पनि नाँच प्रतियोगितामा भाग लिएँ । त्यो दिन म नाँच्न दौरा सुरवाल र नेपाली ढाका टोपीमा आएको थिएँ । नजाने पनि मैले नांचे जस्तो गरें ।

नाँच सकिए पछि घर जाने बेला सधैं झैँ म मेरा साथीहरु जनक, प्रकाश, शान्ता र उर्मिलासंगै घर फर्कदैं थियौं । अरुले मेरो खिस्सी गरे पनि शान्ताले मेरो ढाका टोपीको खुब प्रसंशा गरी । उसले मलाई ढाका टोपी लगाएको सुहाएको कुरा सुनाई । उसले मेरो ढाका टोपी र नाँचको धेरै तारिफ पनि गरी ।

शान्ता मेरी मन पर्ने साथी थिई । उ शालिन र पढ्नमा लगनशील पनि थिई । मलाई उसले तारिफ गरेको मन परयो । लाग्यो उसले जे भनि त्यो सही हो । म ढाका टोपीमा साँच्चै राम्रो देखिएको छु । उसले जुन दिन देखि मेरो ढाका टोपीको तारिफ गरी त्यसै दिन देखि मैले ढाका टोपी लगाउन थालें । साथीभाइले जे भने पनि मैले केही मतलब राखिनँ । किनकी मलाई शान्ताले जे भनि त्यही ठिक लाग्यो ।

एसएलसी दिए पछि हामी अलग भयौं । शान्ताको पनि बिहे भयो । उ आफ्नै घर परिवार र जिन्दगी सम्हाल्न ब्यस्त भई । म स्कुले जीवन सकेर कलेज पढ्न काठमान्डौ आएँ । काठमान्डौ आएर पनि म उस्तै भएँ । ममा बदलिने कुनै सोच आएन । शान्ताले प्रेरणा दिएर मलाई लगाउन सिकाएको ढाका टोपी काठमान्डौ आएर पनि मैले लगाएँ ।

कलेज पढ्ने क्रममा हाम्रो आईकमको कक्षामा मेरो एक जना साथी थिइन – इन्दिरा । उनी काठमाण्डौकी रैथानिया । मलाई एकदम मन पर्ने साथी । उनको बोलीचाली र जीउडाल मलाई शान्ताको जस्तै लाग्थ्यो । त्यसैले म उनलाई मन पराउँथें ।

मेरा एकजना मिल्ने साथीले एक दिन इन्दिरालाई मैले उनलाई मन पराउने कुरा सुनाएछ । उनले म जस्तो टोपी लगाउने पाखेलाई हेर्न समेत नसक्ने कुरा बताइछन् । मलाई एकदम नराइलो लाग्यो । मैले उनलाई सम्पूर्ण रुपमा बिर्सें । तर, मैले मेरो टोपी लगाउने बानी बदलिनँ ।

मनमनै शान्ता र इन्दिरालाई तुलना गरें । कहाँ की मेरी गाउँकी साथी शान्ता, कहाँ काठमान्डौकी इन्दिरा । एउटा टोपीको प्रसंशा गर्ने, अर्की टोपी देखि नसक्ने । मनमनै सोचें जसले जे भने पनि आ-आफ्नो विचार हो ।

स्कूलदेखि ढाका टोपी लगाउने बानी पारेको म अहिलेसम्म करिब तीस बर्षको सरकारी जागिरे जीवनमा पनि निरन्तर रुपमा टोपी लगाउंदै आएको छु । मलाई कहिले पनि टोपी लगाएकोमा कुनै ग्लानी भएको छैन् । बरु मैले सगर्व मेरो शीरमा मेरो देश, संस्कृति र राष्ट्रियताको पहिचान टोपी लगाउने गरेकोमा निकै खुसी लाग्छ । मलाई खुसी शान्तालाई सम्झेर पनि लाग्छ, जसले मलाई टोपी लगाउन प्रेरणा दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री