पास आउट परेडमा २७० गोर्खा र परिवार, छायो यस्तो खुशीयाली

लन्डन । क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टर बिहीबार गोर्खाहरु र तिनका परिवारले भरिभराउ थियो । ब्रिटिश आर्मीमा भर्ती हुन नेपालमा करिब पांच हजार प्रतिष्पर्धी मध्येबाट छानिएर गत 
फेब्रुअरीमा बेलायत आएका २७० जना गोर्खाहरुका लागि 
अर्को ऐतिहासिक क्षण । ति जवान ३९ हप्ताको कठिन प्रशिक्षण पुरा गरेर ‘ग्रयाजुएट’ हुंदै थिए र पास आउट क्षण पुरै खुशीयाली । हेल्स ब्यारेक परेड स्क्वायरमा उनीहरुको परेड कम चाखलाग्दो थिएन ।

नेपालको दुर्गम गाउं देखि नयां घर क्याट्रिक ग्यारिजनको यात्रा तय गरेका गोर्खाहरुले झण्डै एक वर्ष अवधिमा अंग्रेजी भाषासहित धेरै कुरा सिके । कतिपय त यसअघि जहाज नचढेका पनि थिए । उनीहरु जीवनको नयां खुड्किलो उक्लन सफल भएकामा दंग देखिन्थे ।

‘वास्तवमा गोर्खाहरुले नेपाल र नेपालीको नाम विश्वभर राखेका 
छन्’, परेडमा सहभागी राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘गोर्खा हामी सबैको गर्वका विषय हुन् । उनीहरुले बेलायत र नेपालको सम्बन्ध थप सुदृढ पारेका छन् ।’

नेपाली राजदूतका साथ बेलायतको आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टर पनि निरिक्षणका लागि समारोहमा सरिक थिए । पूर्व क्वीन्स गोर्खा इन्जिनियर ल्यानक्यास्टरले नै भूपू गोर्खाहरुको समान पेन्सन लगायत मुद्दा समाधानका लागि जारी वार्तामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

पासिङ आउट परेडमा सहभागी गोर्खाहरुलाई मन्त्री ल्यानक्यास्टरले बधाइ दिंदै ब्रिटिश आर्मी करिअरमा सफलताको शुभकामना दिए । नयां पुस्ताले ब्रिटिश आर्मीसंगको ऐतिहासिक सम्बन्ध कायमै राखेकामा मन्त्रीले खुशी पनि व्यक्त गरे । पहिलो दिन देखि उनीहरुको तालिम नियालेका कमाण्डिङ अफिसर प्रेम गुरुङले पास आउट 
समारोहलाई गर्वको क्षणका रुपमा लिएका छन् । ‘यहां देखिएका मध्ये कतिले त तीन चार पटकसम्म भर्ती हुन प्रयास गरेका थिए’, गुरुङले भने, ‘सजिलै आजको दिन आएको होइन । उनीहरुको ब्रिटिश आर्मी यात्रा गन्तव्यमा पुग्न सम्भवतः दुई तीन वर्ष लाग्यो ।’

उक्त अवसरमा गोर्खाहरुले तेक्वान्दो प्रदर्शन देखि खुकुरी नाच समेत देखाएका थिए ।

इन्फेन्ट्री ट्रेनिङ सेन्टरले वर्षेनी दुई हजार जनालाई प्रशिक्षण दिने गरेको छ । सेन्टरले आर्मी इन्फेन्ट्री ट्रेनिङ बटालियनबाट जिम्मेवारी लिइ गत १ मे १९९५ देखि तालिम दिन शुरु गरेको हो । ब्रिटिश आर्मीमा सन् १८१५ देखि गोर्खाहरुको भर्ती शुरु भएको थियो ।

तस्विरहरु- नर्दन इको

प्रतिक्रिया

सम्बन्धित सामाग्री