पत्रकार छाङछालाई फोनिज यूकेको आर्थिक सहयोग

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) ले नेपालस्थित बरिष्ठ पत्रकार एवं छहरा साप्ताहिकका सम्पादक तथा प्रकाशक गोपाल छाङछा राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । हाल नेपाल भ्रमणमा रहेका फोनिज यूकेका महासचिब खुशी लिम्बुले काठमाण्डौंस्थित फोनिज केन्द्रको उपस्थितिमा पत्रकार छाङछा स्वयंलाई चालिस हजार रुपैयां हस्तान्तरण गरे ।

उक्त अवसरमा फोनिज केन्द्रका महासचिब गजुरधन राई र किरांत पत्रकार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश खालिङ पनि उपस्थित थिए ।

विगत तीन दशकदेखि आदिवासी सवाल र समावेशीताका लागि लगातार कलम चलाउंदै आएका पत्रकार छाङछाले बिभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् । उनलाई फोनिज यूकेले पनि गत वर्ष २०१६ का लागि फोनिज यूके बरिष्ठ पत्रकार पुरस्कारबाट सम्मान गरेको थियो ।

बिगत निकै लामो समयदेखि मेरुदण्डको समस्याबाट पीडित पत्रकार राई हाल दैनिक दुई हजार रुपैयांका दरले छ महिनासम्मका लागि थेरापी गराइरहेका छन् । उक्त आर्थिक सहयोगका लागि पत्रकार छाङछाले फोनिज यूकेलाई र संयोजनका लागि फोनिज केन्द्रलाई हार्दिक आभार प्रकट गरेका छन् ।

गत अगस्टमा सम्पन्न दोश्रो अधिबेशनपछि फोनिज यूकेले गरेको यो दोश्रो आर्थिक सहयोग हो । यसअघि अर्का पत्रकार संजय संतोषी राईलाई पनि फोनिज यूकेले आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री