लोकतान्त्रिक गठबन्धनको पालुङटारमा यस्तो गर्जन

गोरखाको पालुङटारमा आज लोकतान्त्रिक गठबन्धनले गरेको चुनावी आमसभामा उपस्थित भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, नयाँ शक्ति पार्टी तथा गोरखा २ का उमेद्वार डा. बाबुराम भट्टराई, उद्योगपति बिनोद चौधरीलगायत नेताहरु । तस्वीर – प्रशन्न पोखरेल, गोरखा- रासस

पालुङटार, गोरखा, २ मंसिर (रासस) – नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले आज गोरखाको पालुङटारमा चुनावी सभा सम्पन्न गरेको छ ।

सभालाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नं २ का उम्मेदवार डा बाबुराम भट्टराई, उद्योगपति विनोद चौधरी, काँग्रेसका केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिका नेता देवी ओझा, करिष्मा मानन्धर, ज्ञानेन्द्र कुमाललगायतले सम्बोधन गर्नुभएको थियो ।

चरम अवसरवादका लागि वाम गठबन्धन – पौडेल 

सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले चरम अवसरवादका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर गठबन्धन बनाएको आरोप लगाउनुभयो । एमाले नेतृत्वले राष्ट्रवादको नारा लगाए पनि काम भने राष्ट्र विखण्डन हुने खालको गर्दै आएको पौडेलको भनाइ थियो ।

पौडेलले भन्नुभयो, ‘नेपाली काँग्रेस राष्ट्रवादी पार्टी हो, एमाले होइन ।’ काँग्रेस नेतृत्वमा शान्ति र संविधान आएको भन्दै पौडेलले काँग्रेसकै नेतृत्वमा मुलुकमा समृद्धि ल्याउने दाबी गर्नुभयो ।

काँग्रेस वामपन्थी शक्ति हो – डा भट्टराई 

सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक एवं क्षेत्र नं २ का उम्मेदवार डा भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सच्चा कम्युनिष्ट नभई कम्युनिष्टको खोलमात्रै ओढेको आरोप लगाउनुभयो ।

कुनै हालतमा लोकतन्त्र गुम्न नदिने उहाँले बताउनुभयो । ‘एनसेल, बूढीगण्डकी जलविद्युत् आयोजनामा कमिसन खानेहरु कसरी कम्युनिष्ट हुन सक्छन् ?’ डा भट्टराईले भन्नुभयो, ‘काँग्रेस वामपन्थी शक्ति हो । तर कम्युनिष्टले भनेजस्तो एकतन्त्रीय शासनको हामी खिलापमा छौँ ।’

पाँच वर्षमा परिवर्तन गरेर देखाउँछौँ – कोइराला 

काँग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक मुद्दाहरु करिब सकिएको बताउँदै अब बिकास र समृद्धिका मुद्दाहरु उठाउने बेला आएको बताउनुभयो । कोइरालाले भन्नुभयो – ‘अब ब्यवस्था परिवर्तन गर्ने खालका एजेण्डाहरु काम लाग्दैनन् । जनताको चाहना अनुसार देश संमृद्ध बनाउने, गाउँ र सहरको विकास गर्ने कार्यमा लाग्नुपर्छ ।’

काँग्रेसले विकासको नेतृत्व लिएको छ – चौधरी 

उद्योगपति विनोद चौधरीले पालुङटारमा आयोजित आमसभामा काँग्रेसले विकासको नेतृत्व लिएकाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । चौधरीले भन्नुभयो – ‘काँग्रेसले उदार अर्थतन्त्र नीति ल्याएपछि नीजि क्षेत्रबाट लगानी बढ्न थाल्यो । देशमा केही न केही विकास भइरहेकै छ । अब राजनीतिक मुद्दाहरु सल्टिसकेका छन्, देशलाई विकसित गर्नुपर्छ । त्यो काँग्रेसको नेतृत्वमा मात्रै संभव छ ।’

सभालाई पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, दलित संघका केन्द्रीय सदस्य ईश्वर परियार, नयाँ शक्तिका अशोक देवकोटालगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । गोरखा २ का अधिकांश गाउँबाट नेता, कार्यकर्ता तथा समर्थकहरु नेताका कुरा सुन्न आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री