प्रकाश दाहालको मृत्यु ‘आकस्मिक हृदयाघात’ का कारण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण आइतबार अस्पताल ल्याउँदा नै मृत्यु भएको जानकारी गराउँदै थापाथलीस्थित नर्भिक अस्पतालका मृटुरोग विशेषज्ञ डा केपी अग्रवाल । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाण्डौं, ३ मंसिर (रासस) – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

बिहान ५.५० बजे अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उहाँको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा जेपी जैसवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ ।’

‘अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उहाँ पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हुदा बिहान ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरिएको थियो’, डा जैसवालले भन्नुभयो । उहाँको उपचारमा डा जैसवाल, डा यादव भट्टसहित, डा रवीन्द्रप्रसाद यादव, डा विमलेश श्रेष्ठ र डा महेश यादवलगायत संलग्न हुनुहुन्थ्यो ।

शरीर चिसो र सुन्निएको पाइएकाले अस्पताल ल्याइपुरयाउनु तीन घण्टाअघि नै उहाँको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् । पुत्रको निधन खबर पाएपछि चुनावी अभियानमा झापामा रहनुभएका अध्यक्ष दाहाल हेलिकप्टरमार्फत काठमाण्डौं आउनुभएको
थियो । छोराको मृत्युपछि शोकमा डुब्नुभएकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको छ । श्रीमान्को मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुग्नुभएकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उहाँको पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेता दाहाल काठमाडौँ पुगी निवास लाजिम्पाट पुगेर बिहान ११ बजेर ३० मिनेटमा अस्पताल आउनुभएको थियो । उहाँसँगै उहाँकी पुत्री तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल पनि सँगै अस्पताल पुग्नुभएको थियो ।

वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएकी प्रकाशकी पत्नी विना मगर पनि शोकाकुलावस्थामा अस्पताल पुग्नुभएको थियो ।

शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका प्रकाश चुनावी अभियानका क्रममा चितवनबाट शनिबार काठमाडौँ आउनुभएको बताइएको छ । डा जैसवालले भन्नुभयो, ‘उहाँलाई आकस्मिक हृदयाघात भएको हो, किनकि उहाँको शरीर हेर्दा राम्रो छ, केही सेवन गरेको देखिएन, धेरैजसो युवामा आकस्मिक हृदयाघात देखिन्छ, वंशाणुगत पनि हुन्छ, ९९ प्रतिशत यही कारण मृत्यु भएको हुनसक्छ ।’

अन्य एक प्रतिशतमा मस्तिष्काघातको कारण हुन सक्ने स्ट्रोक हुनसक्ने चिकित्सकले बताएका छन् । आकस्मिक हृदयाघातका कारण हिँड्दाहिँड्दै छाती दुख्ने र तुरुन्त ज्यान जान सक्ने डा जैसवालले बताउनुभयो ।

राष्ट्रपतिबाट समवेदना प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आज माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरयो ।

समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट गरयो । समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी हुनुहुन्थ्यो ।

दाहालको निधनप्रति देउवा दुःखी

नेपाली काँग्रेसले पनि दाहालको असामयिक निधनमा दुःख व्यक्त गरेको छ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले दिवंगत प्रकाशको चीरशान्तिको कामना गर्दै पूर्वप्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनप्रतिसमवेदना प्रकट गर्नुभएको छ ।

स्व प्रकाशप्रति काँग्रेसले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको चीर शान्तिको कामना र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि दाहालको निधनप्रति दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

राजनीतिक नेताद्वारा प्रकाशलाई श्रद्धाञ्जलि 

पूर्वप्रधानमन्त्री दाहालका सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाशप्रति राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा उहाँप्रति श्रद्धाञ्जलि दिइएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाई सुपुत्र प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस, नेकपा(एमाले), माओवादी केन्द्रलगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेता तथा मन्त्री जनार्दन शर्मा, मन्त्री कृष्णबहादुर महरालगायत सबै नेता पेरिसडाँडा पुग्नुभएको थियो ।

प्रकाशको श्रद्धाञ्जलिका लागि अहिले पार्टी कार्यालयमा भीड लागेको छ । प्रकाशलाई पेरिसडाँडामा श्रद्धाञ्जलिपछि आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने माओवादी केन्द्रका प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

पेरिस डाँडा लैजानु अगाडि प्रकाशको निधनको खबर पाएपछि बिहानैदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा शुभचिन्तकको भीड लागेको थियो ।

हृदयाघात भएपछि बिहान पौने ६ बजे नर्भिकमा ल्याइएका प्रकाशको निधनको खबर बिहानै सामाजिक सञ्जालमा फैलिएपछि शुभचिन्तकको भीड लागेको थियो । अस्पतालले भने निधनको घोषणा मध्याह्न १२ बजेतिर मात्र गरेको थियो ।

अस्पताल परिसरमा कलाकारदेखि विभिन्न पार्टीका नेता कार्यकताको भीड लागेको थियो । माओवादी केन्द्र, एमाले, काँग्रेसलगायत अन्य दलका नेता पनि प्रकाशको निधनको खबर थाहा पाएर नर्भिक अस्पताल पुगेका थिए ।

माओवादी केन्द्रका नेता भुसाल, वर्षमान पुन एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल काँग्रेसका नेता प्रकाशमान सिंह, डा प्रकाशशरण महत, नायक शिव श्रेष्ठ, रेखा थापालगायत निधनको खबरले बिहानै नर्भिक पुग्नुभएको थियो ।

सञ्चारमाध्यमका प्रतिनिधि पनि बिहानदेखि दाहालको अवस्था बुझ्न पुगेका थिए । झापामा रहनुभएका अध्यक्ष दाहाल बिहान हेलिकप्टरबाट काठमाण्डौं आउनुभएको थियो । उहाँ भावुक हुँदै करिब १२.३० बजे छोरा निधन भएको अस्पताल नर्भिक पुग्नुभएको थियो । नेता दाहाल पुगेपछि मात्र अस्पतालले औपचारिक रुपमा निधन भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएको थियो ।

राप्रपाबाट दुःख व्यक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीले दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा सगरमाथा आरोहणीसमेत रहनुभएका दाहालको निधनमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

अध्यक्ष प्रचण्डलाई राजनीतिलगायत विषयमा आवश्यक सल्लाह सुझाव दिने उक्त पार्टीका नेता प्रकाशको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ । यसअघि पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले पनि ट्विटरमार्फत उहाँको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यसैगरी राप्रपा (प्रजातान्त्रिक) ले दाहालको निधनमा दुःख व्यक्त गरेको छ । पार्टीका महामन्त्री राजाराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै दाहालको निधनले आफ्नो पार्टी स्तब्ध रहेको जनाउनुभएको छ ।

यस्तै एकीकृत राप्रपा (राष्ट्रवादी) ले पनि शोकसंतप्न परिवारप्रति समवेदना व्यक्त गरेको छ । पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले उहाँको निधनले असल राजनीतिकर्मीको अभाव खट्कने बताउनुभयो ।

दाहालको निधनमा एक घण्टा चुनावी कार्यक्रम स्थगित

नेकपा (एमाले) ले दाहालको आकस्मिक तथा असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिवालय सदस्य विष्णु रिमालले आज विज्ञप्ति जारी गरी दाहालको निधनप्रति दुःख व्यक्त गदै देशभरि नै आज एक घण्टा चुनावी कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभयो ।

दाहालप्रति सम्मान व्यक्त गर्न र माओवादी केन्द्रका अध्यक्ष दाहाल परिवारप्रति समवेदना प्रकट गर्न देशभरि अपराह्न २ देखि ३ बजेसम्म चुनावी कार्यक्रम स्थगन गरिएको जनाइएको छ ।

‘माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावी कार्यक्रम नरोक्दा पनि हुने भन्नुभएको छ ’, उहाँले भन्नुभयो, ‘तर दाहालप्रति सम्मान व्यक्त गर्नका लागि एक घण्टा देशभरिका चुनावी कार्यक्रम स्थगन गरेका हौँ ।’

घटनाको जानकारी पाउनासाथ पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताले नर्भिक अस्पताल पुगेर नेता दाहाल र परिवारप्रति समवेदना प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री