नेतृत्व गर्न असक्षम भएपछि प्रेस युनियनको बेलायत शाखा भंग

बायाँबाट क्रमश नेपाल प्रेस युनियन नेपालका महासचिव अजयबाबु शिवाकोटी, सगुनका संस्थापक अध्यक्ष गोविन्द गिरी, नेपाल प्रेस युनियन बेलायतका संस्थापक संयोजक बिपिन निरौला, नेपाल प्रेस युनियन बेलायतका उपसंयोजक संजयभक्त कंडेल । तस्विर- कंडेलको फेसबुकबाट

लन्डन । नेपाली कांग्रेस समर्थक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको बेलायत शाखा भंग भएको छ । युनियन केन्द्रिय समितिले एक विज्ञप्तिमार्फत बेलायत शाखाका संयोजक नेतृत्व गर्न असक्षम देखिएको ठहर गर्दै शाखा भंग गरिएको जनाएको हो ।

युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले कात्तिक १० को मितिका दिन जारी गरेको विज्ञप्तिमा शाखा संयोजकमाथि विभिन्न 
आरोप र कमी कमजोरी थोपरिएको छ । बेलायत शाखा संयोजकमा बिपिन निरौला र उपसंयोजकमा सञ्जय कंडेल थिए ।

लामो परामर्शपछि शाखा गठन गरेर बेलायतमा रहेका पत्रकारहरुलाई जानकारी दिइ प्रेस युनियनको छाताभित्र संगठित गर्न केन्द्रले 
निर्देशन दिएको जनाउंदै विज्ञप्तिमा शाखा गठनपछि विधानत गर्नुपर्ने अधिवेशन गर्न पटक पटक निर्देशन दिइएपनि एकवर्ष हुन लाग्दासम्म त्यसको जानकारी बेलायत शाखा समिति र स्थानीय क्रियाशिल पत्रकार कसैलाई नगराइएको, कार्यसमितिको एकपटक पनि बैठक नबोलाइएको, नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समितिको बेलायतमा भएको संयुक्त अधिवेशनका बेला समेत आफ्नो उपस्थिति जनाउन नसकेको, अधिवेशनको मिति तोकेर केन्द्रले अधिवेशन गर्न गरेको निर्देशनलाई समेत अवज्ञा गरेको, अधिवेशन गर्नका लागि केन्द्रिय अध्यक्ष बेलायत आउने बन्दोवस्ती मिलाउन केन्द्रिय कार्यालयका तर्फबाट गरिएको परिप त्रलाई वेवास्ता गर्दै कुनै पत्राचार नभएको, कार्यसमितिमा परामर्श र छलफल समेत नगरि एकलौटी रुपमा संयोजकले अधिवेशन स्थगित गरेको सूचना फेसबुकमार्फत सार्वजनिक गरेको, केन्द्रिय कार्यसमिति र पूर्व पदाधिकारीबीचमा अन्तरद्वन्द्व बढाउन खोजेको तथा सबैतिर अन्तरद्वन्द्व बढाएर प्रेस युनियन यूके शाखाका संयोजकले आफ्नो म्याद मात्र बढाउन खोजेको देखिएको जस्ता आरोप छ ।

विज्ञप्तिमा बेलायतमा क्रियाशिल र संगठनका लागि खट्ने साथीहरुसंग परामर्शपछि शाखा पुन गठन गरिने पनि जनाइएको छ ।
नेपाल प्रेस युनियनले विदेशमा पनि शाखा खोल्ने नीतिगत निर्णय गरेपछि बेलायतमा शाखा खोल्न पहल अघि बढेको थियो । युनियनको यही नीतिगत निर्णयपछि युएइमा शाखा स्थापना भइ अधिवेशन पनि सकिइसकेको छ ।

यसअघि बेलायत शाखाको अधिवेशन नोभेम्बर १ तारिखका दिन 
गर्ने बताइएको थियो । गत २५ अगष्टका दिन नेपाल प्रेस युनियनका 
केन्द्रीय महासचिव शिवाकोटीको र नेपाल प्रेस युनियन बेलायत शाखाका संयोजक बिपिन निरौला लगायतको उपस्थितिमा उक्त अधिवेशन गर्ने तय भएको बताइएको थियो ।

शाखा भंग भइसकेपनि निरौलाले भने सार्वजनिक कार्यक्रमहरुमा युनियनको संयोजककै हैसियतमा अझै उपस्थिति जनाइरहेका छन् । गत साता एनआरएनए उपाध्यक्ष कुल आचार्यलाई बधाइ दिन लन्डनमा आयोजित कार्यक्रममा निरौलाले संयोजकका रुपमा आचार्यलाई खादासहित बधाइ दिएका थिए । नेपाल पत्रकार महासंघ बेलायत शाखाको निर्वाचनमा पराजित भएर बाहिरिएकाहरुलाई लिएर निरौलाले युनियन शाखा खोल्ने जमर्को गरेका थिए । शुरुमा एभरेष्ट गौतम संयोजक हुने हल्ला भएपनि पछि निरौला उक्त जिम्मेवारी लिन सफल भएका हुन् ।

केन्द्रको प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित सामाग्री