सहारा यूकेको च्यारिटी नाइटबाट १० लाख संकलन

लन्डन । सहारा यूकेको च्यारिटी डिनर नाइट शनिबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको छ । सयौं सहभागी उक्त कार्यक्रमबाट करिब १० लाख रुपैयां संकलन भएको अध्यक्ष मिनबहादुर गुरुङ (साईंला) ले जानकारी दिए । संकलित रकम बेलायतमा सहारा यूके खेलाडीको खेल खर्च, सिन्धुपाल्चोकस्थित श्री महादेवस्थान माध्यमिक विद्यालय पुनर्निर्माण र सहारा पोखरा एकेडेमीका लागि खर्च गरिने अध्यक्ष गुरुङले बताए ।

सहारा पोखराले आगामी जनवरी २३ देखि ०३ फेब्रुअरीसम्म पोखरामा आहा रारा गोल्ड कप गर्दैछ । यही अवसरमा सिन्धुपाल्चोकको विद्यालय उद्घाटन र कास्कीको श्री सरस्वती 
प्राइमरी स्कुल उद्घाटन गर्ने योजना रहेको पनि अध्यक्षले 
जानकारी दिए ।

च्यारिटी डिनर कार्यक्रम उद्घाटन प्रमुख अतिथी एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी र सहारा यूके अध्यक्ष गुरुङले संयुक्त रुपमा 
दीप प्रज्वलन गरि गरेका थिए । कार्यक्रममा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको कार्यक्रममा यस वर्षको सहारा यूके अवार्ड शारदा गुरुङ र सहारा यूके स्पेशल अवार्ड हरि श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यक्रममा सहारा यूकेका नयां गोल्ड मेम्बरहरुलाई ब्याज वितरण गर्नुका साथै विभिन्न 
संघसंस्थामा निर्वाचित हुने सहाराका सदस्य, कार्यक्रम प्रायोजक तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार योगेश गुरुङले हेल्थ एण्ड सेफटीबारे ब्रिफिङ गरेका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार गुरुङले स्वागत मन्तव्य दिए ।

कार्यक्रमको दोश्रो चरणमा विभिन्न सांस्कृतिक प्रस्तुति भए । योगेश गुरुङ र मन्जु भट्टले सञ्चालन गरेको उक्त चरणमा गायक गायिका ममता गुरुङ, आरके गुरुङ, भुमा गुरुङ, रुपा गुरुङ र धन गुरुङले विभिन्न गीत प्रस्तुत गरेका थिए । त्यस्तै कलाकार गम थापाको कमेडी र विभिन्न कलाकारका आकर्षक नृत्यहरु पनि कार्यक्रमका आकर्षण बने ।

सहारा यूकेले वर्षेनी च्यारिटी डिनर गरेर त्यसबाट संकलित रकम विभिन्न सामाजिक काममा खर्चंदै आएको छ । सहारा यूकेले बेलायती क्लबमा नेपाली खेलाडीलाई अवसर पनि खोजिरहेको छ ।

विगत ६ वर्ष देखि सन्डे लिगको डिभिजन वान खेलिरहेको सहारा यूकेले नेपालमा २८ जना असहाय बालबालिका रेखदेख गरिरहेको सहारा एकेडेमी पोखरालाई नियमित सहयोग गरिरहेको छ । उसले गोरखामा भूकम्पले क्षतिग्रस्त एक विद्यालय निर्माण गरिसकेको छ ।

तस्विरहरु- मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री