एसेक्समा गोर्खाहरुको घरमा डकैती बढेपछि सांसदले देखाइन् चासो

तस्बीर इन्टरनेटबाट

लण्डन । इंग्ल्याण्डको पूर्वी क्षेत्र एसेक्समा गोरखा समुदायलाई लक्षित गरी लगातार डकैतीका घटना हुन थालेपछि स्थानीय सांसद र प्रहरीले चासो देखाएका छन् । बितेका पाँच महिनामा गोरखाहरुमाथि छ वटा यस्ता घटना भएपछि सो क्षेत्रकी सांसद केमी बाडेनोचलाई गोरखाहरुले भेटी आफ्ना समस्या अवगत गराएका छन् ।

सो क्षेत्रकी सांसद बाडेनोचले एसेक्स प्रहरीका उच्च अधिकृतहरुलाई भेटेर यस बारेमा ध्यानाकर्षण गराएको स्थानीय पत्रिकाले जनाएको छ । उनको सो कदमपछि प्रहरीले गोरखा समुदायलाई भेटी उनीहरुको सुरक्षाका बारेमा आस्वस्त पारेका छन् भने सो क्षेत्रमा गस्ती पनि बढाएका छन् ।

तीन साताअघि तीनजना चोरहरु बलजफ्ती एउटा फ्लाटमा पसी त्यहाँ रहेकी एक महिला र उनकी कलिली छोरीमाथि दुब्र्यबहार गरेका थिए । उनीहरुले चक्कु देखाउँदै सो घरबाट पासपोर्टहरु, नगद र गहनाहरु चोरेका थिए । आमा चाहिँ जसोतसो चोरहरुबाट फुत्केर चिच्याएपछि छिमेकीहरुले ‘अलार्म’ बजाउँदा चोरहरु भागेका थिए।

सबै घटनाहरुमा गरी करिब १० हजार पाउण्डभन्दा बढीको सामान र ठूलो मात्रामा नेपाली रुपियाँ चोरिएको बताइएको छ ।
चोरीका घटना एसेक्समा एसियन समुदायलाई लक्षित गरी भइरहेका चोरीका घटनासित सम्बन्धित रहेको जनाइएको छ ।
सासद बाडेनोचले चोरीका घटनाहरु हिँसात्मक हुँदै गएकाले परिवारको सुरक्षा स्वत चिन्ताको विषय भएको बताएकी छिन् ।
‘जो यस घटनामा पीडित छन् उनीहरुमध्ये अधिकांश महारानी र यस देशको लागि लडेका छन् उनीमाथि यस्तो हुँदा मलाई अफसोच छ’, उनले भनेकी छिन् ।

‘उनीहरुको ख्याल राख्नु हाम्रो कर्तब्य हो र म स्थानीय प्रहरीसित मिलेर उनीहरुलाई साफ्रोन बाल्डेन क्षेत्रमा सुरक्षित राख्न काम गर्नेछु’ उनले भनिन् । साँसद, स्थानीय प्रहरी र स्थानीय गोरखाहरुबीच आउने साताहरुमा बैठक बसी सुरक्षा प्रगतिको समीक्षा गर्ने र घटनाहरुको अनुसन्धानका बारेमा जानकारी गराउने बताइएको छ ।

गस्तीका अलाबा गुप्तचार प्रहरीको विशेष टोलीले एसियन समुदायको घरमा भएका सुन चोरीमा भएको साँघातिक पक्षका बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।

एसेक्स प्रहरीका प्रमुख सुपरिडेण्टेड एवेन विल्सनले गोरखा समुदायमाथि लक्षित गरी डकैती गरिएकोमा आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री