गैर आवासीय नेपालीको चाहना- स्थिरता र समृद्धिको सपना

 

प्रारम्भ-

नेपाल अहिले चुनावमय छ, नयां संविधान जारी भएपछिको यो आम निर्वाचन भब्य र उत्सवमय देखिन्छ । पांच वर्षकालागि केन्द्रीय र प्रदेश सरकार बनाउन छानिने प्रतिनिधिहरुको चुनाव निश्चय नै देशको नयां प्रस्थान बिन्दु भएकोले देशभित्र मात्र होइन, संसारभरि छरिएर रहेका नेपालीहरुलाई चासो, सरोकार, तर्क-बितर्क हुनु अत्यन्त स्वभाविक र बान्छनीय छ । किनकि नेपाल सबै नेपालीको साझा हो । सामान्य अवस्थामा अब अर्को चुनाव पांच वर्षपछि मात्र हुने भएकाले यसबेला दलहरु, उम्मेदवारहरु, घोषणापत्र र प्रतिवद्धताहरुबारेमा तातो वहस हुनु वास्तवमै आवश्यक छ । यसै सन्दर्भमा आज यस आलेखमा झन्डै आधा करोड (पचास लाख) नेपाल बाहिर रहेका नेपालीहरुको चाहना र भावनाहरुको केही प्रतिबिम्बलाई समेट्ने वा उजागर गर्ने प्रयास गरिएको छ ।

चुनाव-

मंसीर १० र २१ गते अर्थात २६ नोभेम्बर र ७ डिसेम्बरमा दुई चरण गरि नेपालको प्रतिनिधि सभा (संघीय संसद) र प्रदेशसभाको निर्वाचन हुंदैछ । चुनावमा दलहरु, तिनका कार्यकर्ता, समर्थक, सुभेच्छुकहरुबीच मत र मान्यताहरु विभाजित हुनु, तिनमा वहस र विवाद हुनु कुनै अस्वाभाविक होइन, बरु त्यसलाई स्वस्थ्य, मर्यादित र शान्तिपूर्ण बनाउन सक्नुपर्छ र त्यो आवश्यक छ ।

प्रतिक्रिया-

यो पंक्तिकारले विभिन्न देशहरुमा रहेका सामाजिक, संस्थागत, पेशागत लगायतका क्षेत्रहरुमा संलग्न र क्रियाशील मानिसहरुसंगको अन्तरसंवादबाट देशका खातिर गैर आवासीय नेपालीहरुका के कस्ता चाहना र सपना रहेछन् भन्ने प्रतिबिम्बितलाई यहां प्रस्तुत गर्ने जमर्को गरेको छ ।

रसियामा बस्दै आएका एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव बद्री केसी भन्छन्, ‘यस निर्वाचनले एउटा स्थिर सरकार दिओस्, देश विकास र समृद्धितिर अघि बढोस्, सहज र शान्तिपूर्ण वातावरण बनोस्, हाम्रो त्यही चाहना छ, हामी बैधानिकरुपमा गठन भएका सबै सरकारसंग काम गर्न तयार छौं ।’ त्यसैगरी बेलायतमा नेपाली पत्रकारिता गरिरहेका नेपाल पत्रकार महासंघ बेलायत शाखाका उपाध्यक्ष ध्रुबराज अर्यालको विचारमा, ‘एउटा स्थिर र स्वच्छ सरकार जसले जनतामा राम्रो ‘डेलिभरी’ दिओस्, अहिलेको गठवन्धन प्रयासहरुले त्यस्तो सम्भावनाको नजिक पुगेको देखिन्छ ।’

एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर सन्जय थापा भन्छन्, ‘आफ्नो देशमा चुनाव हुंदा परदेशमा भए पनि आफैं चुनाव उठे जस्तो लागेको छ, अब देश सुशासन र समृद्धिको बाटोमा जानैपर्छ, त्यसका लागि कसै न कसैको वहुमत आवश्यक छ, म चाहिं बाम गठबन्धनलाई शुभकामना दिन्छु, उनीहरुप्रति भरोसा छ ।’

लेखक थापा

लामो समयदेखि जापानमा ब्यवसाय गर्दै एनआरएनए आन्दोलनमा संलग्न चिरन्जिवी थापाले भने, ‘गैर आवासीय नेपालीको एउटै सपना विकास र समृद्ध नै हो ।’ तर, यो लोकतान्त्रिक गठवन्धनबाट सम्भव देख्छन् उनी । पोर्तुगलका एनआरएनए अध्यक्ष कुबेर कार्की भन्छन्, ‘जसले जितेपनि बिदेशमा बस्ने नेपालीहरुको भावनाको उचित कदर हुनुपर्छ, पूर्ण अधिकार सहितको दोहोरो नागरिकता ग्यारेन्टी गरिनु पर्छ, किनकि हामी सबै एउटै नेपाली हो ।’

अस्ट्रेलियामा बसेपनि नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका आरआर क्याम्पस काठमाडौंका पूर्व स्वबियू सभापति तथा सक्रिय सामाजिक कार्यकर्ता राजन बस्नेतको विचारमा अब देश अघि बढ्यो बढ्यो, मानिसलाई विकास चाहिएको छ, भ्रष्टाचारमुक्त शासन देशले खोजेको छ । विगत र आगत नियाल्दा बामपन्थी सरकारले जनताको इच्छा पूरा गर्ला भन्ने उनलाई विश्वास छ ।

यस्तै विश्वास ब्यक्त गर्दछन्, एनआरएनए जर्मनीका पूर्व अध्यक्ष नवराज रोस्यारा, मलेसियाबाट चित्र थापा, इजरायलबाट रोशनी सापकोटा, दक्षिण 
अफ्रिकामा श्रम बेचिरहेका सानुभाइ बिक पनि ।

तर, पोर्तुगलमा क्रियाशील नेपाली पत्रकार गणेश पान्डेयको भने अलि फरक विचार छ । उनी भन्छन् ‘पुराना कांग्रेस, कम्युनिस्ट जस्ता पार्टीहरुको समय सकियो, उनीहरुले दिने जति योगदान दिए, अब यिनबाट आशा छैन्, त्यसैले नयां विकल्प र नेतृत्वतिर जानु पर्छ, त्यसबाट मात्र देशको समृद्धि सम्भव छ ।’

चाहना-

माथिका केही प्रतिनिधि पात्रहरु बाहेक पनि यो पंक्तिकारले धेरै गैर आवासीय नेपालीहरुसंग विभिन्न माध्यमबाट सम्पर्क गर्दा आम एनआरएनहरुको साझा चाहना र भावना भनेको देशमा स्थिर सरकार 
बनोस्, विकास र समृद्धितिर देश अगाडि बढोस्, देशमै अवसरहरु सृजना हुन्, गरिखाने बाताबरण बनोस्, जुनसुकै गठबन्धनले भएपनि पूर्ण वहुमतको सरकार बनाओस्, भ्रष्टाचार नातावाद, कृपावाद अन्त्य होस्, यो चाहना र सपना बिदेशिएकाहरुको मात्र होइन, स्वदेशीहरुको पनि हो र हामी सबैको हो ।

सञ्जाल-

नेपालको चुनावको सन्दर्भमा अहिले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुबाट विभिन्न सामाजिक 
सञ्जालहरुमा प्रचारप्रसार र आफ्ना मत अभिमतहरु अभिब्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि मुलतः नेपालीहरुले सबैभन्दा धेरै प्रयोग गर्ने फेसबुक मार्फत चुनावमा चासो र जिज्ञासा राख्नेहरुका लागि विश्वब्यापी बनाएको वा भएको छ । द्रुत र आकर्षक सञ्चारका लागि अहिले उम्मेदवारदेखि कार्यकर्ता र आम समर्थक शुभचिन्तकहरु सामाजिक 
सञ्जाललाई भरपुर उपयोग गरिरहेका छन् । यिनै सामाजिक सञ्जालहरुका कारण देश भित्र नै बस्ने भन्दा विदेशमा बस्ने नेपालीहरुले देशको कुनाकाप्चाको खबर क्षणभर मै थाहा पाइरहेका छन् किनकि बिदेश बस्ने नेपालीहरु सामाजिक सञ्जालमा निक्कै सक्रिय देखिन्छन् ।

अन्त्यमा, संघीय लोकतान्त्रिक र गणतान्त्रिक नेपालको नयां संविधान घोषणा पश्चात यो पहिलो आमनिर्वाचन हो, अत्यन्त न्यून असन्तुष्टि बाहेक नेपालमा क्रियाशील 
अधिकांश दलहरु, समाजको सबै तह, तप्का र आम नेपालीहरु आफ्नो सुन्दर, समृद्ध भविष्यको कल्पना, चाहना र आशाकासाथ यो महायज्ञमा सहभागी भइरहेका छन् । देश विदेशमा रहेका सम्पूर्ण नेपाली मनहरु यस चुनावको पूर्ण सफलताको शुभकामना र सुभेच्छा व्यक्त गरिरहेका छन् । जय मातृभूमि

(थापा युरोपमा नेपाली पत्रकारितामा आवद्ध भएर लेख्दै आएका छन् । email – [email protected])

प्रतिक्रिया

सम्बन्धित सामाग्री