बिहीबार, मंसिर २८ २०७४ | Thu, December 14, 2017
नेपालको समय: ०४:१३ | UK Time: 22:28

एक सराहनीय कार्य- काठमाडौँमा २४ घण्टा एम्बुलेन्स

नरेश खपाङ्गीमगर
२०७४ मंसिर ९ गते १४:२०

आजकल नेपालबाट नेता, अभिनेता, अभियन्ता, व्यापारी, कलाकार, पत्रकार, खेलाडी बेलायत आउने जाने, आफ्ना अनुभव र योजना सुनाउने पानीपँधेरो नै भइसकेको छ । कुनै समय ‘एलिट’हरुको मात्र पहुँच रहेको यस ‘महारानीको देश’मा अहिले ‘जनता’का छोराछोरीको पनि उठबस प्रशस्तै पाइन्छ । नेपाली समाजका विभिन्न विधामा विभिन्न भूगोलमा रहेर आफ्नो व्यक्तिगत जीविकोपार्जनका लागि होस् वा समाजको हितका लागि होस्, काम गरिरहेका व्यक्तिसित साक्षात्कारको कमी छैन यहाँ । फगत तपाईसित फुर्सद हुनुपरयो ।

गत साता मगर संघ युकेका अध्यक्ष नेम थापाले यस्तै एउटा साक्षात्कारमा बोलाए । नेपाल एम्बुलेन्स सर्भिसेजका निर्देशक डा. कुलेश थापासितको भेट भनेर । संघले आफ्ना संजालमा भएकाहरुलाई जसरी अन्य भेटका लागि सूचना पठाउँथ्यो त्यसैको निरन्तरता मात्र थियो यो । डा. कुलेशलाई प्रत्यक्ष नभेटे पनि उनको परिवारसित म परिचित थिएँ । पूर्व आइजिपी स्वर्गीय रोमबहादुर थापाका छोराहरुमध्ये प्रा.डा. त्रिलोकपति थापा जो त्रिभुवन विश्वविद्यालयमा मेडिकल फ्याकल्टीका डिन पनि भए । उनीसित कुनै समय नजिक थिएँ । त्यसैगरी अर्का छोरा लोकदीप थापा जो ‘द राइजिङ नेपाल’ अंग्रेजी दैनिकका प्रधानसम्पादक र गोरखापत्र संस्थानका महाप्रबन्धक समेत भए उनीसित त म नजिक मात्र होइन उनैले पूर्णकालिन पत्रकार बन्ने ब्रेक दिएका थिए मलाई । डा. कुलेश उनै रोमबहादुर थापाका छोरा थिए । त्यस नाताले पनि एकैछिन पुगौँ भन्ने लाग्यो ।

युकेका नेपाली कार्यक्रम समयमै शुरु नहुनु सामान्य बनिसकेको छ । तोकिएको समय २ बजे भएपनि ३ बजेभन्दा ढिलो नगरी कार्यक्रम शुरु भयो । डा. थापाले नेपाल एम्बुलेन्स सर्भिसले नेपालमा गरिहेको कार्यको फेहरिस्त प्रस्तुत गर्दै गए । नेपाल प्रहरीको पूर्व डिआइजिपी पनि भएकोले होला उनको प्रस्तुति ल्याङल्याङ होइन उर्जाले भरिपूर्ण थियो । दशकौँ लामो चिकित्सकीय अनुभवका कारण स्वास्थ्यसम्बन्धी शब्दावलीलाई पनि उनले धेरैले बुझ्ने भाकामा भन्दै गए ।

काठमाडौँ उपत्यकामा २४ सै घण्टा एम्बुलेन्स सेवा दिने उद्देश्यले नेपाल एम्बुलेन्स सर्भिस निजी क्षेत्रका केही व्यक्तिहरुको पहलमा स्थापना भएको रहेछ । जसरी युकेमा ९९९ नम्बरमा फोन गरी आकस्मिक सेवा माग गरिन्छ र केन्द्रीय प्रेषण सेवाबाट एम्बुलेन्स, प्रहरी वा बारुणयन्त्र पठाइन्छ त्यस्तै व्यवस्था नेपालमा गर्न खोजिएको रहेछ । नेपाल सरकारले सर्भिसलाई १०२ नम्बर दिएको रहेछ । सर्भिसले संचालन गर्ने एम्बुलेन्स अन्य एम्बुलेन्सभन्दा फरक छ । युकेको एम्बुलेन्समा जस्तै भेण्टिलेटर लगायतको सुविधासम्पन्न रहेछन् यसका एम्बुलेन्सहरु । यसैगरी, हरेक एम्बुलेन्समा आकस्मिक स्वास्थ्य प्राविधिक पनि रहन्छन् । ‘सर्भिस अलङ द वे’ नारा दिइएको यो सेवा संचालनको सात वर्षमा ४० वटा बच्चा एम्बुलेन्समा जन्मेको सुनाउँदा उनको श्वर गर्विलो बनेको थियो ।

डा कुलेश थापा

काठमाडौँ कालिकास्थानमा केन्द्रीय प्रेषण सेवा रहेको सो एम्बुलेन्स सेवासित अहिले पाँचवटा एम्बुलेन्स छन् । त्यसलाई उपत्यकाको भूबनौटअनुसार त्रिपुरेश्वर, बालाजु, गौशाला, सातदोबाटोमा आधार बनाई एक-एक एम्बुलेन्स राखिएको छ । केन्द्रीय प्रेषण सेवाले प्राप्त गरेको कलका आधारमा उनीहरुलाई खटाउँछ । डा. थापाका अनुसार फोन गरेको करिब २० मिनेटमा एम्बुलेन्स सम्बन्धित ठाउँमा पुग्ने गरेको छ । सर्भिसले अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयको मद्दतमा आकस्मिक स्वास्थ्य प्राविधिक कोर्स संचालन गर्ने गरेको छ र सोही कोर्सबाट दीक्षितहरुलाई सेवामा राख्ने गरेको छ । त्यतिमात्र होइन एम्बुलेन्स चालकहरुलाई पनि कसरी बिरामी बोक्ने लगायतको तालिम दिने गरेको छ । काठमाडौँको साँघुरो गल्ली, भर्याङमा समेत बोक्न मिल्ने खालका मसिनो स्ट्रेचरहरु पनि सर्भिससित छ । यस्तो सुविधायुक्त एम्बुलेन्स सेवा महंगो होला नि ? खुल्दुली जरुर लाग्छ तर थापाले प्रतिकल ६०० रुपियाँ मात्र शुल्क लिइने गरिएको बताए । जो एम्बुलेन्स, स्वास्थ्य प्राविधिक, प्रेषण सेवा संचालनको लागतमा हेर्ने हो भने अत्यन्तै न्यून हो । ‘त्यसमाथि ५ देखि १० प्रतिशत सेवा त हामी सित्तैमा दिन्छौँ’ उनले भने ।

यदि एम्बुलेन्स लिएर गएको टोलीलाई बिरामीको परिवार कमजोर आर्थिक स्थितिको भन्ने लागेमा शुल्क छुट दिने अधिकार दिइएको रहेछ । यसबाहेक अस्पतालमा लैजाँदा कतै कमिसन दिइयो कि भनेर आफ्नै कर्मचारीहरुको सेवाप्रति पनि सर्भिसले चनाखो भएर हेर्दोरहेछ ।

भूकम्पको बेला करिब २५ हजारलाई सेवा पुर्याएको नेपाल एम्बुलेन्स सर्भिसेजले ५० जनालाई रोजगारी पनि दिएको छ । ‘हामीले धेरै तलब त दिन सकेको छैनौँ तर सामान्य तलव दिएका छौँ र समयमै तलव दिन्छौँ’ उनले भने । नेपालमा समयमा तलब नदिइने प्रवृत्ति आम भइसकेको बताउँदै यसपंक्तिकारतर्फ इंगित गर्दै भने, ‘त्यसमाथि पत्रकारको त कुरै नगरौँ ।’ अहिले काठमाडौँका साथै पोखरा, चितवन र बुटवलमा पनि सेवा विस्तारको प्रयास भइरहेको छ । यस्तो सेवा दिन चानचुने खर्चले पुग्दैन । कसरी जुटिरहेको छ त खर्च ? थापा भन्छन्,–‘क्राउड फण्डिङबाट उठाइरहेका छौँ ।’ एम्बुलेन्स सेवाका संस्थापकहरु कसैले पनि तलव लिँदैनन् । बरु उल्टो मासिक खर्च दिन्छन् । यसबाहेक काठमाडौँका बैँक तथा बित्तीय संस्थाहरुबाट मासिक ५-५ हजार सहयोग उठाउने गरिएको छ । ‘हामीलाई दाताले एम्बुलेन्स दिन मिल्ने रहेछ तर ओभरहेड खर्च दिन नमिल्ने रहेछ’ थापाले भने ।

काठमाडौँको जनसंख्या १५ लाख रहेको बताइन्छ । उनीहरुका लागि ५ वटा एम्बुलेन्स अति नै नगण्य हो । तथापि अत्यन्त निराशा, असन्तुष्टि, आक्रोश र आलोचना अहिले नेपालमा व्याप्त भइरहेको अवस्थामा निजी क्षेत्रबाट नाफा कमाउने उद्देश्यले नभई सेवाभावबाट यस्तो प्रयास हुनु सराहनीय मान्नुपर्छ । स्वास्थ्य, शिक्षा जस्तो अत्यावश्यक क्षेत्रमा सरकारले नै सेवा दिनुपर्नेमा निजी क्षेत्रका केही बुज्रुगहरुबाट यस्तो कार्य हुनु अनुकरणीय नै मान्नुपर्छ । देशविदेशमा रहेका साथीभाइहरुले सर्भिसलाई सहयोग गरिरहेका छन् । युकेमा रहेका सर्भिसका मित्रहरुबाट आयोजित च्यारिटीमा भाग लिन थापा युके आएका थिए । शुरुमा एक वर्ष एम्बुलेन्स चलाएर, यसको अवधारणा बुझाएर सरकारलाई हस्तान्तरण गर्ने सोचाइ राखेकोमा अहिले सात वर्ष बितिसक्यो । अब कतिवर्ष यसरी चल्ला ? काठमाडौँ उपत्यकाबाहिर सर्दै गरेको यो सेवा के राष्ट्रव्यापी होला ? जवाफ पाउन प्रतीक्षा मात्र एउटा उपाय बाँकी छ ।
उनीहरुको यस्तो सत्कार्यमा युकेमा रहेका नेपालीले कसरी सहयोग गर्न सक्छन् त ? उनले भने ‘हामीलाई पैसै दिनुपर्छ भन्ने छैन । अरु धेरै किसिमबाट सहयोग गर्न सकिन्छ । हाम्रो सेवाका बारेमा आफ्नो परिवारलाई भनेर साथीभाइसित कुराकानी गरेर सहयोग गर्नसक्नुहुन्छ ।’
‘यो सेवाका बारेमा लेखेर पनि सहयोग हुन सक्दछ’ उनको संकेत फेरि यस पंक्तिकारतिर थियो ।

मैले त यति लेखेर यस पुण्यकार्यमा सरिक भएँ । तपाइँ नि ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक