बिहीबार, मंसिर २८ २०७४ | Thu, December 14, 2017
नेपालको समय: ०४:०७ | UK Time: 22:22

डा. कवितारामसित क्षमायाचना

नरेश खपाङ्गीमगर
२०७४ मंसिर ११ गते २३:०४

नेपालीमा भनाइ छ–जोसित नजिक भइन्छ उसैसित रिसाइन्छ । हुन पनि हो वास्तविकता यस्तै हुने रहेछ । टाढाको को हो, को होसित, हाइ हेलो मात्र हुनेहरुसित न हितको कुरा हुन्छ, न त कुनै दुखेसो नै । न घुर्की, न गुनासो । जो नजिक छ उसैसित त हो खुशी साट्ने, धाकधक्कु लगाउने, रिसाउने, ठस्सा पार्ने । जीवनमा यस्तै घटना पर्न गयो स्वर्गीय डा. कविताराम श्रेष्ठसित ।

त्यसो त डा. कवितारामलाई के भनेर परिचय दिने । समस्या छ । उनी पीएचडी स्कलर थिए । विश्वविद्यालयमा पढाए । थुप्रै एनजिओ-आइएनजिओमा काम गरे । सरकारी-गैरसरकारी नियुक्ति पाए । पुस्तक कोरे । कविता लेखे । फिल्म बनाए । गीत रचे । संगीत भरे । नाटक खेले । फिल्ममा अभिनय गरे । आफैँमा एक साहित्यिक अभियन्ता थिए उनी अस्वीकृत साहित्य आन्दोलन चलाउने । विचारको विनिमय गर्दथे । त्यसैले कुनै एक परिचयमा उनलाई बाँध्न नसकिने भएकाले उनलाई माथि कुनै विशेषण नदिएको हुँ ।

डा. श्रेष्ठसित भौतिकरुपमा मेरो कुनै घनिष्ठता र निकटता थिएन । शायदै उनले मलाई चिन्थे होलान् । गत सालको कुनै एउटा साहित्यिक कार्यक्रममा उनीसित अल्डरसटको एम्पायर हलको माथिल्लो तल्लामा भेट भएको थियो । त्यहीँ टेलिफोन नम्बर साटासाट भएको थियो । जीवनमा उनीसित भएको प्रथम र अन्तिम भौतिक भेट त्यही नै थियो । तथापि उनको नाम र काम मेरा लागि नयाँ थिएनन् । अझ भनौं दशकौं पुरानो थियो । लालपानी माध्यमिक विद्यालय, झापामा पढ्दा आधा कोर्सको किताब र आधा कोर्स बाहिरको सामग्री पढिइन्थ्यो । सामान्य ज्ञान, साहित्यको पुस्तक र म्यागाजिनहरुमा कुनै नगद आम्दानी नभएका पिताजीले थुप्रै खर्च गरेका थिए । शायद छोराहरुले रुचाएको देखेर होला । रंगमंच, युवामञ्च, अन्तर्राष्ट्रिय मञ्च, प्रतियोगिता मन्च, विश्वज्ञान मन्च, मूल्यांकन, विमोचन, मुना, नवयुवा जस्ता पत्रिकाहरु पढेर म हुर्केँ । ती म्यागाजिनहरुमा छापिएका जीवनवादी र वैज्ञानिक विचारहरुले कलिलो दिमागमा अमिट छाप बसायो । रुढीबादी, अन्धविश्वासी र बाल मनोविज्ञानलाई कमजोर बनाउने कुराहरुबाट टाढै राख्न मद्दत गर्यो । त्यसैमध्येका एक लेखक थिए डा. कविताराम । उनका के किन कसरी भयो, बुद्धि बंगाराको यात्रा, मुक्तिसंघर्ष चलचित्रले मेरो वर्तमान विचार बन्नमा मद्दत गरेको ठान्दछु । त्यसैले म चाहन्थे प्रिय लेखकलाई यी सबै कुरा भनुँ ? तर सबै भेट यसका लागि उपयुक्त हुँदैनन् । समय र परिस्थितिको दास मानिसले हिजो पनि आफ्ना चाहनाको आफैँभित्र हत्या गर्नुपरेथ्यो, आज पनि गर्नु परिरहेछ र शायद भोलि पनि गर्नु परि नै रहला । उपनिवेश, साम्राज्यवादबाट मुलुकहरु स्वतन्त्र बने तर मानिस समयको दासत्वबाट अझै मुक्त बन्न सकेको छैन । म पनि त्यतिबेला समयकै एक दास बनेँ ।
त्यसको केही समयपछि उनलाई फोन गरेँ । उठेन । भ्वाइस म्यासेज छोडेँ । एसएमएस छोडेँ । प्रत्यूत्तरको आशा थियो तर एक-दुई दिन गर्दै हप्ता बित्यो आएन । मैले दोहोर्यार फोन पनि गरिनँ । तत्कालमा मन कुँडिए पनि समयले त्यसलाई निको बनायो । मनको घाउमा खाटा बस्दै थियो । मित्र सुरेन्द्र श्रेष्ठले एक दिन अनायासै भने, ‘डा. कवितारामको सम्मानमा आउनुहुन्छ ?’ सुरेन्द्रजीसित दोस्ती पुरानो नभए पनि मनको कुरा खोलेर कुराकानी हुन्छ । त्यसैले मैले भनिदिएँ –‘तपाईको डाक्टरसाबले हामीलाई मान्छे गन्नुहुन्न । हामी पनि किन आउने ? बरु घरमै सुतिन्छ ।’ सुरेन्द्रजीले सोधेपछि भएको घटना बेलिबिस्तार लगाएँ । उहाँले पनि कार्यक्रममा जान कर गर्नु भएन । म पनि गइनँ ।

कार्यक्रमको समाचार प्रकाशित भएपछि जब उहाँको फोटो देखेँ । अब पो म झल्याँस्स भएँ । उहाँलाई चिकित्सकले मृत्युको डेट दिइसकेका रहेछन् । नाकमा अक्सिजनको पाइप थियो । तथापि अनुहारमा जोश थियो उस्तै । मानिस जीवनमा विभिन्न आरोह अवरोहबाट गुज्रन्छ । फेसबुकमा नाचिरहेको भिडियो, हाँसिरहेको तस्वीर, विचारयुक्त स्टाटस राख्ने डा. कवितारामलाई मृत्युले यसरी भाका दिइसकेको थाहा पाउँदा र आफूले उनको स्वास्थ्यका बारेमा बुझ्दै नबुझी फोनको रेस्पोन्स मात्र नभएको सानो निहुँमा त्यत्रो आक्षेप लगाएकोमा खपिनसक्नु लज्जाबोध भयो ।

मलाई डा. कवितारामको लेखनी कुन स्तरको थियो थाहा छैन । स्तर मापन गर्ने समीक्षक पनि म होइन । तर उनको धाराबाहिकरुपमा विभिन्न म्याजिनहरुमा आउने लेखनीले मेरो बाल मनोविज्ञानमा गहिरो छाप पारेको थियो । जो मेरो सिंगो व्यक्तित्व निर्माणमा सहायक छ । शायद मजस्तै अरु धेरैलाई पनि वैज्ञानिक सँस्कृति र जीवनशैली अँगाल्नमा मद्दत गरेको होला । म यी सबै कुरा उनलाई सुनाउन त अब पाउँदिनँ किनभने १९ नोभेम्बर, २०१७ मा उनले यस दैहिक संसारबाट बिदा लिइसके । हुन त उनले अन्तिम इच्छापत्रमा भनेका छन्, ‘मलाई मरेपछि स्वर्ग, नर्क वा अन्यत्र पुगिन्छ भन्ने कुरामा किँचित विश्वास छैन । जीउँदो हुँदा नदेखेको नभोगेको कुनै पनि कुरामा मेरो विश्वास छैन ।’ तथापि त्यसैमा आफू हिन्दू धर्ममा पनि विश्वास राख्ने बताएका छन् । हिन्दू धर्ममा त शरीर मर्छ आत्मा मर्दैन भनिन्छ यदि उहाँको आत्माले यो आलेख पढ्न पाएछ भने मलाई एक अज्ञानी पाठक सम्झी क्षमायाचना अवश्य होला ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक