लन्डनमा टयारोट कार्डबाट भविष्य पहिल्याउने पहिलो नेपाली महिला

लन्डन । सन् २००७, १२ जुलाईमा बेलायत छिर्दा क्षमता ढकालसंग बेग्लै सपना थिए । विकसित र सुविधा सम्पन्न 
राष्ट्र बेलायतमा कमाएर सुःखी जीवन जिउने आम चाहना जस्तै उनमा पनि असिमित आकांक्षा । उनलाई पटक्कै लाग्थेन बेलायतमा कुनै दिन आफ्नो परिचय रेकी मास्टर, वास्तुशास्त्रीका रुपमा हुन्छ वा टयारोट कार्डबाट मानिसहरुको भविष्य पत्ता लगाउने जिम्मेवारी सम्हाल्छु भन्ने ।

बेलायत टेक्ने बित्तिकै नर्सिङ होममा काम थालिन् क्षमताले । जागिरका क्रममा सहकर्मीहरुले टाउको दुख्यो भन्दा मसाज गरिदिन्थिन् उनी । उनको स्पर्शपछि साथीहरु निको भयो भनेर प्रशंसा गर्थे । त्यसो त सानैदेखि घरमा परिवारले पिंकी (माया गरेर बोलाउने नाम) टाउको दुख्यो भनेपछि उनी टाउको सुमसुम्याउन अघि सरि हाल्थिन् र पारिवारिक सदस्यले निको भएको अनुभूति गरेपछि उनलाई झन् 
प्रेरणा जाग्थ्यो ।

बेलायतमा एक दिन उनको एकजना मिल्ने साथीले प्रश्न गरिन्- तिमीसंग क्वालिटी छ भने किन गर्दैनौ यो काम ? साथीको यो कुराले छोयो र टयारोट अध्ययन थालिन् उनले । टयारोट, रेकी, वास्तु र स्टोन (पत्थर) विषयमा दुई वर्षको ‘डिप्लोमा’ गरेपछि वर्ष दिन यता यसैमा ‘फूलटाइम’ व्यस्त छन् क्षमता । मानिसहरुको भविष्यवाणी गर्ने कार्यले विशेष गरि नेपाली समुदायमा क्षमतालाई अहिले भ्याइनभ्याइ छ । उनी टयारोट कार्डबाट भविष्य पहिल्याउने आफू नेपाल र बेलायतमै पहिलो नेपाली महिला भएको दावी गर्छिन् ।

टयारोट कार्डबाट भविष्य हेर्ने कार्य ज्योतिषशास्त्र जस्तो नभएको उनको स्पष्टोक्ति छ । ‘मानिसका राशीमा के भइरहेको छ हेरिन्छ तर यो ज्योतिष विज्ञान भन्दा पनि आधुनिक विज्ञान (मोर्डन साइन्स) संग सम्बन्धित छ’, क्षमताले 
भनिन्, ‘१४ औं शताब्दीमा इटालीबाट शुरु भएको हो टयारोट । टयारोट कार्ड ७८ वटा रंगी बिरंगी तास जस्तै कार्ड हुन्छ । एउटा कार्डले ४-५ वटासम्म अर्थ लाग्छ ।’

कार्डमै ऐना हेरे जस्तो मानिसको भविष्य देख्छिन् क्षमता । उनी आफूलाई माता भन्न चाहिं पटक्कै रुचाउंदिनन् ।

टयारोट कार्डबाट लभ म्याटर, बिजनेश, फेमिली इस्यू आदिबारे भविष्यवाणी गर्छिन् क्षमता । शुभ अशुभ पत्ता लगाउने, बिजनेश बढाउने, चिन्ता, स्ट्रेस हटाएर खुशी तुल्याउन टिप्स दिने, मानिसका बलियो पक्ष तथा कमजोरी औंल्याउने र भ्रम वा दिग्दारी भए टयारोटबाट क्लिएर गरिदिने उनले सुनाइन् । आफूले बताएको भविष्य करिब ९० प्रतिशत मिल्ने दावी क्षमताको छ । काम चुनौतिपूर्ण भएपनि अहिलेसम्म यो पेशाबाट तीतो अनुभव भोग्नु नपरेको उनले बताइन् । ‘भविष्य हेरेर फर्किएका ग्राहकले खुशी भएर फोनबाट धन्यवाद दिन्छन् र अरुलाई पनि सिफारिस गर्ने गरेका छन्’, उत्साहित छन् उनी ।

वास्तुशास्त्र उनको अर्को दक्षता हो । प्राय ‘वीकेन्ड’ मा वास्तुको काममा व्यस्त हुने गरेको उनले सुनाइन् । बेलायतका जुनसुकै शहर पनि जाने तर ‘माइलेज’ अनुसार शुल्क लाग्ने क्षमताले बताइन् । वास्तु अन्तर्गत घरको डेकोरेसन देखि घर किन्न साइत जुराउने, घरमा कस्तो रंग लगाउने, ट्वाइलेट कता बनाउने, मुल ढोका कता बनाए राम्रो, बेडरुम कतातिर राख्ने, फेमिलीको फोटो कहां राख्दा आपसमा सम्वन्ध राम्रो हुन्छ जस्ता कुरा उनी बताउंछिन् । घरमा कसैलाई पढेर आउंदैन भने कता फर्किएर पढ्ने ? घर खर्च कसरी कम गराउने उनी भन्छिन् । फेमिलीलाई खुशी र धनी बनाउने तरिका, किचन कता बनाउने, सामान कता कता राख्ने जस्ता काम उनले हेर्छिन् ।

टयारोट कार्डबाट मानिसका कमजोरी पत्ता लागेपछि उनी 
स्टोन (पत्थर) लगाउन, घरमा राख्न वा बोकेर हिंड्न सिफारिस गर्छिन् । उनीसंग विभिन्न १०८ स्टोन साथमा छन् । बिजनेश बढाउन व्यापारीहरुले लगाउने पत्थर (मनी स्टोन), पढ्न तेज हुने पत्थर, श्रीमान श्रीमतिबीचको सम्बन्ध (रिलेसनसीप) गाढा बनाउन राखिने स्टोन उनीसंग छ । निन्द्रा नलाग्नेलाई निन्द्रा लगाउने, टाउको दुःखेको निको पार्ने, नकारात्मक सोचाइलाई हटाएर पोजिटिभ भाइब्स जगाउने आदिका पत्थर आफूसंग भएको क्षमताले बताइन् ।

रेकी पनि गर्छिन् क्षमता । रेकीको दश वटा सेसन चलाउंछिन् उनी । जापनिज ‘टेक्निक’ रेकीले डिप्रेसन, तनाव न्यूनीकरण र शरीरको पीडा कम हुने उनको विश्वास छ । ‘रेकी आध्यात्मिक उपचार हो, यो कुनै धर्म होइन’, क्षमता भन्छिन्, ‘अहिले त रेकीबाट नै क्यान्सर निको भएका उदाहरण समेत छन् । रेकी ‘लाइफ फोर्स इनर्जी’ हो जसले व्यक्तिको दिमाग, भावना र उर्जालाई सन्तुलन गरि आत्मसुधारमा मद्दत गर्छ ।’

नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी सुपुत्री हुन् क्षमता । नेपालमा जावलाखेल स्थायी घर । बेला बेला नेपाल गइरहने उनले नेपाली चलचित्र क्षेत्रका हस्तीहरुको समेत टयारोटबाट भविष्य हेर्ने गरेको बताइन् ।

विदेशमा रहेका नेपालीलाई मध्यनजर गर्दै अनलाइन सर्भिस पनि दिने गरेकी छन् उनले । भविष्यमा टयारोटबारे तालिम दिने आफ्नो सोच रहेको उनले बताइन् । उनी लन्डन साउथ हयारोस्थित बोभिस हाउसमा बस्छिन् । उनलाई 07428212777 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री