बेलायतस्थित नेपाली कामदारलाई निकालिएपछि हस्ताक्षर अभियान

लन्डन । बेलायतस्थित एक केवल कम्पनीमा कार्यरत नेपाली मजदुरहरुलाई अन्यायपूर्ण तवरबाट निकालिएको विरोधमा हस्ताक्षर अभियान सुरु गरिएको छ । केन्ट विल्भडेरस्थित क्लेभल्याण्ड केवल कम्पनीमा कार्यरत झलनाथ शर्मा र जुनबहादुर गुरुङलाई अन्यायपूर्ण तरिकाले निष्कासन गरिएको ति कामदारको दावी छ । निष्कासनपछि अनलाइन हस्ताक्षर प्रारम्भ गरि बेलायतस्थित नेपालीहरुलाई सहयोगको आव्हान गरिएको छ ।

गत साता साउथ इष्ट लण्डनमा पत्रकार तथा नागरिक अगुवाबीच छलफल पनि राखिएको थियो । कार्यक्रममा पीडित पक्षले ‘इम्प्लोइमेन्ट 
ट्राइवुनल’ लाई समेत गुहारेको जानकारी दिइयो । छलफलमा पीडित पक्ष, समाजका अगुवा, कम्पनीमा हाल कार्यरत कामदार तथा पत्रकारहरुको उपस्थिति थियो ।

जिएमबीका प्रतिनिधि झलनाथ शर्मा तथा जुनवहादुर 
गुरुङले कम्पनी भित्रको अन्याय, भेदभाव र वेथितिबारेमा आवाज उठाएकै निहुंमा आफूहरुलाई डेढ बर्ष अघि निष्कासन गरेको जानकारी दिए ।

शर्माले केही नेपाली अगुवाहरुकै पहलमा युनियन जिएमबीको प्रतिनिधि भएर कम्पनीको ‘हेल्थ एण्ड सेफ्टी’ को बिषयमा लगातार आवाज उठाउंदै आएका थिए । गुरुङ भूपू गोर्खा हुन् । करिब ११ वर्ष काम गरेका शर्मा र आठ बर्ष काम गरेका गुरुङका अनुसार सो कम्पनीमा काम गर्ने नेपालीको संख्या ६० छ । त्यस मध्ये ४१ जना जिएमबी सदस्य थिए । युनियन विरुद्ध कम्पनीले ‘क्याम्पियन’ गरि युनियनमा लाग्नेलाई हतोत्साही गर्न थालेपछि धेरै नेपाली जागिर छाड्न बाध्य भएको बताइएको छ ।

कम्पनीको उच्च व्यवस्थापकहरुले नेपाली कामदारलाई अंगेजी नजानेको भन्दै हेप्ने, इसाराले बोलाउने लगायतका तल्लो स्तरको व्यवहार गरेको दावी पीडितको छ । नेपाली नेपालीबीच झगडा गराउने काम पनि व्यवस्थापकले गरेको कार्यरत मजदुरको दावी छ । त्यस्तै विभिन्न कागजातमा हस्ताक्षर नगरे केही समय अफिसमा बोलाएर केरकार गर्ने गरेको उनीहरुको गुनासो छ ।

उक्त भेलामा उपस्थित भूपू गोर्खा सैनिकका अगुवाहरुले सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री