उलवीचमा वृद्ध गोर्खा लुट्ने लुटेरालाई पांच वर्ष जेल

जसपाल सिंह

लन्डन । एक जना ७५ वर्षीय वृद्ध भूपू गोर्खा सैनिकलाई लुट्ने दुई लुटेराले जेल सजाय पाएका छन् । ति वृद्धलाई पिछा गरेर ८० पाउण्ड नगद, परिचयपत्र र शिव भगवानको चित्र अंकित सुनको तक्का चोर्ने ३० वर्षीय जसपाल सिंह र ३६ वर्षीया केली रोजर्सलाई क्रमशः ५ वर्ष र तीन वर्ष जेल सजाय तोकिएको हो । उक्त तक्मा भावनात्मक र धार्मिक महत्वको रहेको बताइएको छ ।

ति गोर्खा उलवीच स्टेशन वे को बेन्थम हाउस नामक एक फ्ल्याटमा बस्थे । चोरहरुले भूपू गोर्खालाई पिछा गर्दै लिफ्ट प्रवेश गरि सामान लुटेका थिए । लुटिनेक्रममा वृद्ध गोर्खाको हातमा चोट समेत लागेको थियो ।

केली रोजर्स

ग्रीनवीच प्रहरी अधिकारीहरुले घटनास्थलको छानवीन गरि सिसिटिभी फुटेजको सहयोगले शंकास्पद व्यक्तिको पहिचान गरेर बेन्थम हाउसको 
अर्को फ्ल्याटमा उनीहरुलाई पक्रिएका थिए ।

सिंहलाई उलवीच क्राउन कोर्टले एक हप्तासम्मको सुनुवाइपछि गत २५ सेप्टम्बरका दिन ५ वर्षको जेल सजाय तोकेको थियो । सुनुवाइका क्रममा उनले आफ्नो संलग्नता अस्वीकार गरि सबै दोष अर्को प्रतिवादी (रोजर्स) लाई लगाएका थिए । रोजर्स अदालतमा उपस्थित हुन नआएपछि प्रहरीले उनलाई पक्राउ गरी २५ सेप्टेम्बरका दिन अदालतमा पेश गरयो । उनलाई हिरासतमा राखी पुनः ६ नोभेम्बरका दिन उलवीच क्राउन कोर्ट पेश गरियो । रोजर्सले ७ नोभेम्बरका दिन अभियोग स्वीकार गरेपछि तीन वर्षको जेल सजाय तोकिएको थियो ।

एबी रोड बस्ने सिंहलाई ५ वर्ष र ग्रीनवीच साउथ स्ट्रिट बस्ने रोजर्स तीन वर्ष जेल परेका हुन् । जेल सजाय तोकिएपछि वृद्ध गोर्खाले न्याय पाएको भन्दै खुशी व्यक्त गरेको ग्रीनवीच अपराध अनुसन्धान विभाग (सिआइडी) की डिटेक्टिभ कन्सटेबल डेबोरा जोन्सलाई उधृत गर्दै इभिनिङ स्ट्याण्डर्डले जनाएको छ ।

जोन्सले मेट्रोपोलिटन प्रहरी र आर्मड फोर्सेस च्यारिटी (एसएसएएफए) एकापसमा सहकार्य गरि ग्रीनवीच र अन्यत्र बस्ने नेपाली समुदायलाई आवश्यक सहयोग एवं नेपाली समुदायमाथि आपराधिक क्रियाकलाप गर्नेलाई कानुनको कठघरामा ल्याउन काम गरिरहेको बताइन् ।

लन्डन साउथ इष्टको ग्रीनवीच बरोमा नेपाली समुदायको उल्लेख्य बसोबास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री