तीनै तहको निर्वाचनले नागरिकमा आशा-प्रधानमन्त्री

चितवनको रत्ननगरस्थित बैरिया मावि मतदान केन्द्रमा बिहीबार भएका मतदानमा भोट हाल्न लामबद्ध मतदाता । तस्बिर – नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

काठमाडौँ, २१ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुरयाउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिनुभएको हो ।

उहाँले विभिन्न सशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “प्रथम चरण र आजको दोस्रो चरणको निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुंदै गएको छ, सरकारप्रति नागरिकको अपार विश्वास प्राप्त भएको महसुस मैले गरेको छु ।”

“तीनै तहको निर्वाचनको सफलताले नागरिकमा आशा जगाएको छ, मुलुकको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि मार्ग प्रशस्त गर्दै संविधानले व्यवस्था गरेको संघीय शासन प्रणालीको जगलाई यसले स्थापित गर्नेछ” विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले संघीय प्रणालीका सबै अवयवले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै आपसी सहकार्य, सहअस्तित्व र समन्वयमार्फत संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Deuba casts vote

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर – रोशन सापकोटा, रासस

निर्वाचन आयोगको कुशल नेतृत्व र सबै पदाधिकारीको रातदिनको मेहनतले निर्वाचन सफलतामा पुरयाउन सकिएको उल्लेख गर्दै उहाँले आयोगका सम्पूर्ण पदाधिकारी र परिवार धन्यवादका पात्र भएको बताउनुभयो । संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन आज ४५ जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा सम्पन्न भएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री