पहिलो चरण निर्वाचनको मतगणना सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अनुगमनका क्रममा भक्तपुर क्षेत्र नं. २ अन्तर्गत मध्यपुर थिमि वडा नं. ३ कौशलटार मतदान केन्द्रमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव । तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २१ मंसिर – मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् ।

संखुवासभा– दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५.३० बजेदेखि यहाँको जिसस सभाहलमा शुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

हलमा दुई भागमा मतगणना गर्ने गरी मतगणना स्थललाई तारजाली गरिएको छ । तारजालीभित्र गणकहरु र बाहिर दलका प्रतिनिधिहरुलाई राखिएको छ । मतगणना स्थलमा सिसि क्यामेरा समेत जडान गरिएको छ ।

धादिङ– यस जिल्लामा मतगणना आज साँझ ५ बजेदेखि शुरु भएको छ ।

यहाँ भिन्दाभिन्दै छ स्थानमा मतगणना सुरु गरिएको छ । तारजालीले घेरेर सुरक्षित बनाइएको मतगणना स्थलभित्र सुरक्षाकर्मी र कर्मचारीमात्र राखेर गणना गर्ने कार्य गरिएको मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले बताउनुभयो ।

धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदातामध्ये ७९ हजार ४२३ जनाले मत खसालेका थिए ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख १५ हजार ३५५ मतदातामध्ये ७६ हजार ९५० जनाले मतदान गरेका थिए ।

लमजुङ– लमजुङमा पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आज साँझ ५ बजेदेखि मत गणना शुरु गरिएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा चार स्थानबाट मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभाका लागि दुई समूह, प्रदेश सभा क र ख मा एक-एक समूह बनाई मतगणना गरिँदै छ ।

मतगणनामा कर्मचारीसहित राजनीतिक दलका एक-एक प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा कर्मचारी, दलका आधिकारिक प्रतिनिधि र सञ्चारकर्मीबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।

लमजुङमा प्रतिनिधि सभा सदस्यका लागि ११ जना र दुई प्रदेशमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक लाख १५ हजार ४४९ मतदाता रहेको यस जिल्लामा ७७ हजार तीनसय ४० मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री