निर्वाचन सम्पन्न भएकामा एमाले सन्तुष्ट, राप्रपाद्वारा धन्यवाद

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित चण्डी माध्यमिक विद्यालय, बर भोटेनी मतदान केन्द्रमा मतदान सकिएपछि मतपेटिकामा सिलबन्दी गर्दै कर्मचारी । तस्बिर- वासुदेव पौडेल, पोखरा, रासस

काठमाडौँ, २१ मंसिर – नेकपा (एमाले) ले संविधानसभाद्वारा संविधान जारीपछिको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो निर्वाचन सम्पन्न भएकामा सन्तोष व्यक्त गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आज विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक संलग्न मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई धन्यवाद दिँदै राजनीतिक नेतृत्व गर्नुपर्ने सरकारको अस्तव्यस्त कार्यशैली र अनिच्छाबीच निर्वाचन सम्पन्न भएकामा सन्तोष व्यक्त गरेको छ । कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनसँगै मुलुकमा जारी राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता, स्थिरता, विकास तथा समृद्धिको नयाँ युग शुरु हुने अपेक्षा गर्दछौँ ।’

एमालेले सुनसरी, सर्लाही, भक्तपुरलगायत जिल्लामा निर्वाचन प्रक्रियालाई अवरोध गर्ने तथा स्याङ्जा र डोटीका केही स्थानमा मतदान केन्द्र नियन्त्रणमा लिने घटनासमेत भएको जनाउँदै दैलेखमा गम्भीर घाइते हुनेगरी कृष्णराज बुढा र उत्तमकुमार शाहीमाथि आक्रमण गरिएकामा चिन्ता व्यक्त गरेको छ । डडेल्धुरामा एमाले कार्यकर्तामाथि झुटो मुद्दा लगाउने र हतोत्साहन गर्ने कार्य भएको तथा मतदानसम्पन्न भएलगत्तै पार्टीका कार्यकर्तामाथि सत्ताधारी दलका कार्यकर्ताद्वारा दाङलगायत विभिन्न जिल्लामा भएका आक्रमण भएको जनाउँदै एमालेले त्यसप्रति खेद व्यक्त गरेको छ ।

राप्रपाद्वारा आयोग र जनतालाई धन्यवाद

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले मुलुकमा निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ ।
पार्टीका महामन्त्री राजाराम श्रेष्ठले आज साँझ जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उल्लासपूर्ण सहभागी भएका सम्पूर्ण मतदातालाई समेत धन्यवाद दिइएको छ विज्ञप्तिमा पार्टीको संविधानमा केही असहमति भए पनि चुनावका माध्यमबाट जनताको विश्वासका साथ असहमत भएका विषयवस्तु परिमार्जन गर्न सकिने विश्वास गर्दै संविधान कार्यान्वयनका साथ मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनतालाई समृद्ध बनाउन आज सम्पन्न निर्वाचन महत्वपूर्ण भएको जनाइएको छ ।

यसैगरी राप्रपाका प्रवक्ता भुवन पाठकले विज्ञप्तिमार्फत चुनाव सम्पन्न गराउन जनताले देखाएको उत्साहपूर्ण सहभागिताको सराहना गर्नुभएको छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सहमहामन्त्री प्रदीपविक्रम राणाले आज सम्पन्न चुनावले देशमा भइरहेको राजनीतिक अन्योलको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्र गर्दै आयोग र जनतालाई धन्यवाद दिनुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री