बेलायतमा नागरिक सम्मानको तयारी, सिफारिसका लागि आव्हान

लन्डन । बेलायतमा रहेका नेपाली तथा बेलायती अभियन्ताहरुलाई विशेष सम्मानको तयारी भएको छ । नेपाल र नेपाली समुदायको वृहत्तर हितका लागि समर्पित अभियन्ताहरुलाई ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ प्रदान गर्न लागिएको हो । बक्स अफिस इन्टरनेशनल ग्रुपका तर्फबाट युवा पत्रकार रामबहादुर सुवेदी (आर के सुवेदी) ले उक्त सम्मान प्रदान गर्न लागेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रम २६ डिसेम्बर सांझ सि एण्ड एल कन्ट्री क्लब वेष्ट इन्ड रोड, नर्थहोल्टमा हुनेछ ।

नर्थफिल्डस्थित काठमाडौं कुजिन रेष्टरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सुवेदीले आफ्नो पृथ्बी परिक्रमा सम्मान अभियान अन्तर्गत बेलायतका अभियन्ताहरुलाई सम्मान गर्न लागेको बताए । सुवेदीले युएइ, मलेसिया, सिंगापुर र थाइल्याण्डपछि बेलायतमा पांचौं पटक उक्त सम्मान गर्न लागेको जनाए ।

सुवेदीले सन् २०१६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ‘हाइ अल्टिच्युड अवार्ड’ वितरण गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम अंकित गराएका थिए ।

उनले समुद्रमाथि, समुद्रमुनी, उडिरहेको हवाइ जहाजमा, खाडी मुलुक, युरोप र एसियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड वितरण गरेर अन्तर्राष्ट्रिय जगतमा नेपाली कला संस्कृति र भाषालाई प्रचार प्रसार गरेको समेत बताए । भविष्यमा सम्मानित व्यक्तित्वहरुका बारेमा एउटा ‘स्मारिका’ समेत प्रकाशन गर्ने सोच बनाइएको सुवेदीले जनाए ।

विभिन्न क्षेत्रमा योगदान गर्ने नेपाली तथा ब्रिटिश नागरिकलाई सम्मान गर्ने तयारी भएको जनाउंदै कार्यक्रम संयोजक व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठले उपयुक्त नाम सिफारिसका लागि नेपाली समुदायसंग आव्हान गरेका छन् । ‘हाम्रो यो निस्वार्थ र गैर नाफामुलक कार्यक्रम हो । यसमा सबै वर्ग, जातजाती, क्षेत्र र लिंगका मानिस समावेश हुनेछन्’, श्रेष्ठले भने, ‘देशका लागि समर्पित कतिपय अभियन्ता हामीलाई थाहा नभएको हुन सक्छ । त्यस्ता व्यक्तित्वलाई सिफारिस गरिदिन समस्त मिडिया र समुदायसंग हाम्रो आग्रह छ ।’

बेलायतका प्रमुख संघसंस्थाको सिफारिस र ‘मिडिया कभरेज’ को आधार तथा जुरीमार्फत सम्मानित हुने व्यक्तित्व छनोट गरिने पनि श्रेष्ठले बताए ।

कार्यक्रममा सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, क्याप्टेन आर एस श्रेष्ठ लगायतले विभिन्न सुझाव दिए । उनीहरुले कार्यक्रम विवादरहित बनाउन थप परामर्श र ‘एप्रोच’ गर्न सुझाएका थिए । तस्विर- शिव भण्डारी

नाम सिफारिसका लागि-

सुरेन्द्रप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक (बेलायत)

Correspondence Address-

115 Ruislip Road East, London, W7 1BS

Phone no. 07507428575

Email: [email protected]

प्रतिक्रिया

सम्बन्धित सामाग्री