जेरुसेलम घोषणा विषयमा अमेरिका विरुद्ध प्रदर्शन जारी

अमेरिकी दूतावास जकार्ता बाहिर प्रदर्शन गर्दै प्रदर्शनकारी । तस्विर- एपी

जकार्ता, २५ मङसिर – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिनेगरी राख्नुभएको आफ्नो अभिव्यक्तिका विरुद्धमा विभिन्न देशमा अमेरिकाका विरुद्ध प्रदर्शन जारी रहेका बताइएको छ ।

यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशहरुले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ ।

प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमाससमूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो ।

राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास अगाडि पनि विरोध जुलुश निकालिएको थियो ।

सो विरोध जुलुशका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र त्यसमा परी अरु केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् ।

आइतबार विरोध जुलुश ल्याएर अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो । त्यस क्रममा उसले अश्रु ग्याँस र पानीको फोहरा पनि हानेको थियो ।

उता हालैका दिनहरुमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया समेत सम्मिलित अरब लिगले पनि राष्टपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन् ।

हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए । सोही बमोजिम अरब क्षेत्रका पनि विभिन्न देशमा रहेका अमेरिकी दूताबासअगाडि प्रदर्शन गरिएका छन् ।

राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनुपर्नेमा उनीहरुले आह्वान गरेका थिए ।

उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसागर्दै उहाँले जेरुसलेमको इतिहासको सम्मान गरेको बताउनुभएको छ ।

अरब र मुसलमान बहुल देशका विभिन्न सहरमा गत हप्तादेखि नै प्रदर्शनहरु भएका छन् । लेबनानका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका समाचारहरु प्राप्त भएका थिए ।

त्यसैगरी टर्कीका राष्ट्रपति तैयब रेसप एर्दोगानले जेरुसलेम इजरेललाई सुम्पिने पक्षमा आफू नभएको प्रतिक्रिया हालै दिनुभएको छ ।

इस्लामिक समूहका हजारौँ नागरिकले अरुतिर पनि अमेरिकाको उक्त निर्णयको व्यापक मात्रामा विरोध गरेका समाचारहरु प्राप्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री