आभारी र धन्य छु म

भर्खरै करिव तीन हप्ताको लागि नेपाल गएँ । मेरा बालसखी, आफन्त र इष्टमित्र सबैसंग भेट भयो । पुरानो दिनको याद आयो । मेरो गाउँको घरमा झन्डै एक हप्ता बसें म । मामाघर गएँ । मैले खेलेको, म हुर्केको र म कुँदेको गाउँ पाखा फेरि डुल्ने मौका मिल्यो । मेरो घर माथिको उही ढुंगे धाराको पानी बिना कुनै प्रसोधन पिउने अवसर मिल्यो । मेरॊ पुरानो स्कुल समेत गएँ । मेरो बाल्यकाल सम्झाउने गरी उही चौतारोमा बसेर चिसो हावा खाने मौका पनि मिल्यो ।

नेपाल गएको बेला मेरो गाउँ कमलबारी र मैले पहिले करिब दश बर्ष काम गरेको संस्था शहिद गंगालाल अस्पताल जसरी पनि जानुपर्छ मलाई ।  हैन भने मेरो नेपाल यात्रा अधुरो र अपुरो हुन्छ । त्यसका केही कारणहरु छन् । करिब अठार बर्षको उमेरसम्म मैले मेरो गाउँमा बिताएँ । मेरो गाउँको जीवन जसरी बित्यो सबै यादगार छन् । म त्यही गाउँमा जन्मे, हुर्कें, बढें र पढें । जति समय त्यो गाउँमा मैले बिताएँ त्यत्ति नै मलाई त्यो माटो, हावापानी, गाउँ, स्कुल, पाखा र पखेरो प्रति मैले केही गर्नुपर्छ भन्ने भावना जागृत भयो । मैले सोचें म यी सबै प्रति ऋणी छु । कुनै न कुनै दिन मैले यो गाउँ, पाखा र पखेराको ऋण तिर्नुपर्छ ।

आज म जे छु, जहाँ छु त्यो अवस्था सम्म ल्याउन मेरो गाउँ, स्कुल र मेरा अभिभावकको ठूलो भूमिका छ । त्यसैले मेरो गाउँ, स्कुल र मेरा मातापिता प्रति म धन्य, आभारी र ऋणी छु । मेरो बा र आमा दुवै यो संसारमा हुनुहुन्न । करिव तीनदशक भयो मैले उहाँहरुलाई गुमाएको । तथापि उहाँहरुको सम्झना र सम्मानमा मैले गर्नुपर्ने धेरै कामहरु छन् ।

म शहिद गंगालाल अस्पतालको पहिलो कर्मचारी मात्रै हैन, दश वर्ष जति प्रशासकीय प्रमुखको रुपमा काम गरें । छालाको थुप्रोले भरिएको पुरानो बाँसबारी छाला जुत्ता कारखानाको हातालाई अस्पताल बनाउनको लागि मैले धेरै पसिना बगाएको छु । साथै, मलाई आज एउटा अस्पताल ब्यबस्थापन विज्ञको रुपमा स्थापित गराउन पनि त्यो अस्पतालको ठूलो हात छ । त्यसैले पनि उक्त अस्पतालसंग मेरो ठूलो भावनात्मक सम्बन्ध छ ।

दुई तर्फी रुपमा हेर्ने हो भने मैले जति त्यो अस्पतालको लागि काम र दु:ख गरें, त्यति नै मैले त्यो अस्पतालबाट पाएँ पनि । त्यसैले पनि म शहिद गंगालाल मुटुरोग अस्पतालप्रति धेरै नै आभारी छु र त्यत्तिकै ऋणी पनि । त्यो अस्पताल मात्रै हैन, मैले अहिलेसम्म काम गरेका अरु पनि संस्था र कार्यालयहरुप्रति पनि म धन्य र आभारी छु ।

करिव बाह्र  बर्ष भएछ नेपाल छोडेर विदेश बसाई सराई गरेको । यो अवधि लामो मान्ने वा नमान्ने धेरै कुरामा भर पर्छ । मलाई भने यो अवधि लामो लागेको छ । मैले बेलायतमा आएर धेरै काम गरें । धेरै ज्ञान, सीप, अनुभव र दक्षता हासिल गरें । त्यसो त मैले नेपालमा सिकेको ज्ञान, सीप र अनुभवकै आधारमा नै यहाँ थप कुरा सिक्ने मौका पाएको हुँ । झन्डै आधा उमेर नेपालमा बिताएँ, उतै काम गरें र धेरै कुरा जान्ने र बुझ्ने मौका पाएँ । त्यसैले पनि म नेपाल प्रति धन्य, आभारी र ऋणी छु ।

म बेलायतमा बस्छु । मेरो परिवार पनि यहीं छ । मेरा छोरा छोरी यहिँ हुर्के, बढे र पढ्दै छन् । म र मेरी पत्नी यहीं काम गर्छौ । बेलायतले मलाई काम, नाम र दाम सबै दिएको छ । त्यसैले बेलायतमा म बस्ने समाज र बेलायतप्रति पनि म आभारी र धन्य हुनु पर्छ । यो देश र समाजप्रति पनि म उत्तिकै ऋणी छु ।

यो लेख नेपाल भ्रमणको सन्दर्भमा लेखिएको हुनाले बेलायती समाज र बेलायत प्रतिको मेरो कर्तव्यको बारेमा धेरै बर्णन हुन सकेन । त्यसको अर्थ हैन कि म आफू र आफ्नो परिवार बस्ने, काम गर्ने र जीवन बिताउने समाजप्रति गम्भीर छैन । अहिले मेरो कर्तब्य त यही समाजप्रति नै बढी छ ।

सबैको जीवनमा परिवारप्रति, समाजप्रति, जन्मभूमि र कर्मभूमि प्रति गर्नुपर्ने धेरै कर्तब्यहरु हुन्छन । हामी हाम्रो अधिकारप्रति जति सचेत छौं र त्यत्तिकै आफ्नो कर्तब्य पनि सचेत हुनु जरुरी छ । कुनै समाज र देशप्रति आभारी भएर मात्रै पुग्दैन, त्यही अनुसार कर्तब्यबोध हुनु र कर्तव्यको पालना गर्नु पनि नितान्त जरुरी छ । जन्मभूमि र आफू हुर्के, बढे, पढेको समाजप्रति केही गर्न, कर्तब्यपालना गर्न र ऋण तिर्न जन्मभूमि वा आफ्नो समाजमा नै फर्कनु पर्छ भन्ने छैन । फर्कन सके राम्रो ।

आफ्नो जन्मभूमिप्रतिको माया र उतै फर्कने सन्दर्भमा एकजना साहित्यकार मुनिया खानले भनेकी थिइन्, ‘तिम्रो त्यो भूमि त सधैं त्यहीं छ, … तिमी हो फर्केर आउने ।’  उनले भने जस्तै त्यो भूमि हामीलाई पर्खेर बसेको छ, हामी हो त्यहाँ जाने ।

अन्त्यमा, माथि उल्लेख गरिएका धन्य र आभारी हुने कुराहरु त प्रतिनिधिमूलक कुरा मात्रै हुन् । जीवनमा हरेक पल र दिन अरुको साथ, सहयोग र सद्भाव चाहिन्छ । त्यसैको लागि पनि अरुप्रति धन्य र आभारी हुनु जरुरी छ । अरु प्रति आभारी हुनु वा धन्य हुनु कसैलाई सम्मान देखाउनु पनि हो । यो पनि सकारात्मक जीवन जिउने वा अरु प्रति सकारात्मक हुने कला हो । त्यति मात्रै हैन अरु केही नकारात्मक कुरा जसले आफ्नो जीवनमा सकारात्मक परिणाम ल्याएको छ, त्यस्तो कुराप्रति पनि धन्य हुन सक्नु पर्दछ । जीवनमा सबै कुराबाट सधै सकारात्मक परिणाम नआए पनि केही न केही पाठ सिक्ने अवसर भने पक्कै मिल्छ । त्यसैले त भनिन्छ जीवन एउटा पाठशाला हो र हामी सधैं विद्यार्थी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री