आइतबार, असार १० २०७५ | Sun, June 24, 2018
नेपालको समय: १८:५१ | UK Time: 14:06

क्रिसमस मनाउँदैमा क्रिश्चियन हुइँदैन्

इन्दु भट्टराई
२०७४ पुष १० गते १४:१२

लण्डन । भर्चुअल संसारमा क्रिशमसको शुभकामना आदान प्रदानलाई हेर्दै जाँदा मेरा एक जना मित्रले फेसबुकमा गरेको पोस्ट भेटेँ । जसमा लेखिएको छ- ‘आज हाम्रो सँस्कृति दिवस हो । क्रिसमस मलाई बुझ्नु छैन् ।’ भाषा शिष्ट भएपनि क्रिशमसप्रति नेपालीले देखाएको झुकाव उनलाई मन परेको थिएन । जसलाई उनले सामाजिक संजालमार्फत व्यक्त गरेका थिए । मसिनो विरोधको स्वरलाई छाड्ने हो भने नेपालीले मनाउने चाडपर्व मध्येमा क्रिश्चियन धर्मावलम्बीहरुको फेस्टिवल ‘क्रिसमस’ साझा चाडमा रुपमा उभिन थालेको छ ।

दशैँ, तिहार, न्युदयाँ भिन्तुना, छठ, उधौली, उभौली, र ल्होछारलगायतका चाडपर्व मनाइरहेका हामीबीचमा क्रिशमस साझा पर्वका रुपमा उदाउँदै छ । पश्चिमी विकसित मुलुकबाट आएको धर्मले हाम्रो पूर्वीय समाजमा पारेका असरका बारेमा थोरैले मात्र टीकाटिप्पणी गर्छन् । अल्पविकसित मुलुक नेपालमा प्राय युवायुवतीलाई ढिलो चाँडो त्यही मुलुक जाउँला भन्ने मानसिकतामा छन् । कतिपयका परिवारका सदस्यहरु र साथीहरु विकसित मुलुकमा डलर, पाउण्ड र युरो कमाउन पुगेका छन् । देश अनुसारको भेष भने जस्तै समाजसँग अन्तरघुलन हुन सजिलो हुने माध्यम खाना र चाडपर्वमा सरिक हुनु रहेछ । अहिले विदेशिएका नेपालीले क्रिशमस मनाएर क्रिश्चिनिटी ग्रहण गरेका होइनन्, घुलमिल मात्र भएका रहेछन् ।

यहाँ जन्मेका बच्चाहरु जब स्कूल जान थाल्छन् उनीहरु यहाँको चाडपर्वलाई स्वाभाविक रुपमा ग्रहण गर्छन । स्कूल विदा यहाँकै चाडपर्व अनुसार हुन्छ । स्कुलका क्रियाकलाप यहाँकै संस्कृति परम्परा अनुसार बनाइएका छन् अनि पाठ्यक्रम पनि । भिन्न धर्मका र चाडपर्व मनाउने मुलुकका बालबालिकाले बहुसंस्कृति ग्रहण गरिसकेका हुन्छन् । क्रिशमस भन्ने बित्तिकै बालबालिकाहरु ‘फादर क्रिशमस भेट्ने र उपहार आदानप्रदान गर्ने भन्ने बुझ्छन् ।’ यसलाई हाम्रा आफ्नै मौलिक चाडपर्वसँग पनि तुलना गर्न सकिन्छ । हाम्रा धर्मका बारेमा बालबालिकाले एक पटकमा बताउन सक्दैनन् । अझ हिन्दूधर्मका बारेमा बालबालिकाका आमाबुवाले पनि बताउन मुस्किल छ । किनकि हामीसँग यति धेरै भगवान र देवता छन् । मुख्य भगवान को हुन ? देउता र भगवानमा के फरक छ भनेर बालबालिकालाई बुझाउन हामी नै सक्दैनौं । यसका कारण हिन्दु धर्मका बारेमा पूर्ण रुपमा सटिक र बुझ्ने भाषामा व्याख्या गरिएका छैनन् ।

हामीले धर्मका बारेमा बुझ्न वा व्याख्या गर्न सहजीकरण नगर्ने हो भने आउने पुस्ताले हिन्दुधर्मका बारेमा बुझ्न पनि खोज्दैनन् होला । क्रिशमस मनाए पनि, उनीहरु क्रिश्चयन भने हुदैनन् ।

विगतमा हामीले लिएका शिक्षालाई हेर्ने हो भने दशैँ, तिहार, न्युदयाँ भिन्तुना, छठ, उधौली, उभौली, ल्होछार, गौरा पर्वका बारेमा स्कूलमा अध्ययन गरेका थियौँ । तर, त्यस पछिका दिनहरुमा विस्तारै बिर्सदै जाँदा रहेछौं । अझ विदेशमा आएपछि त नेपाली क्यालेण्डरका गते सोध्यो भने हामी सबै अल्मलिन्छौँ । तिथिको त कुरै छाडौँ । किनकि त्यो मिति हाम्रा दैनिक जीवनमा नचाहिने हुनाले बिर्सनु स्वाभाविक हो ।

विदेशमा चाडपर्व मनाउने बित्तिकै हामी क्रिश्चियन भैहाल्ने भन्ने कुरा बिल्कुल गलत रहेछ । क्रिशमस मनाउने बित्तिकै धर्म छाडेको वा फेरेको होइन मात्र अर्को धर्मलाई पनि सम्मान गरेको सम्झँदा उचित होला । यसका बारेमा सामाजिक संजालमा जे पायो त्यही लेखिहाल्नु पर्ने काम राम्रो होइन ।

तर, आश्चर्यका कुरा, नेपालमा बस्ने नेपालीहरु किन यति धेरै क्रिशमस मनाउँछन् । हिन्दु, बुद्धिष्ट, क्रिश्चियन, मुस्लिमलगायतका धर्ममा बाँधिएको नेपाली समाजमा क्रिशमसको फेशन अलि नसुहाउँदो जस्तो लाग्छ । सामाजिक संजाललाई नियाल्ने हो भने विदेशमा रहेमा नेपालीभन्दा स्वेदशमा रहेका नेपालीले धुमधामसँग क्रिशमस मनाउने गरेको भान हुन्छ । विगतसित तुलना गर्ने हो भने अहिले पश्चिमी संस्कृतिले हाम्रो जन्मभूमि नेपाललाई झपक्कै ढाकेको छ । फरक धर्मप्रतिको सम्मान वा बुझाईले हो सामाजिक संजालमा पश्चिमी संस्कृतिको विरोध गर्ने स्वर घट्दो छ । समाजशास्त्रीय दृष्टिकोणमा यसलाई हेर्ने हो भने परसंस्कृति ग्रहणका रुपमा लिनु पर्ने हुन्छ । बसाँई सराईसंगै यो प्रक्रिया सुरु हुन्छ ।

हाल नेपालबाट दैनिक १५ सय मानिस रोजगारीका लागि विदेश जाने गरेको तथ्यांक सरकारसँग छ । यो क्रम नरोकिने हो भने क्रिशमस मात्र होइन अरु धर्म र सँस्कृतिको आयात पनि विस्तारै बढ्ने नै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक