सर्वाधिक पुरस्कार राशीको इपिएल क्रिकेट फाइनलमा विराटनगर र भैरहवा

काठमाडौँ, १४ पुस – सर्वाधिक पुरस्कार राशी भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्व टोली विराटनगर वारियर्स र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच हुने सो खेल हुँदैछ ।

विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ, जुन नेपाली क्रिकेट इतिहासमा नै सर्वाधिक पुरस्कार राशी हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा रु २० लाख पुरस्कार राशी थियो ।

बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

यता विराटनगर भने जारी प्रतियोगिताको एक्लो अपराजित टोली हो । त्यस्तै भैरहवाले पनि विराटनगरबाहेक अरु सबै खेलमा जित हात पारेको छ ।

विराटनगरले समूह चरणमा ३५ रन तथा पहिलो क्वालिफायरमा ८ विकेटले भैरहवालाई पराजित गरेको थियो । अब फाइनल खेलमा भैरहवालाई विराटनगरसँग हारको बदला लिने अवसरसमेत हुनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री