बुधबार, असोज ३ २०७५ | Wed, September 19, 2018
नेपालको समय: ०३:१३ | UK Time: 22:28

सस्तो सम्मानको पछि किन दगुर्ने ?

नरेश खपांगीमगर
२०७४ पुष १४ गते २१:४६

तस्वीर गुगलबाट

यसैसाता लण्डनमा आयोजना गरिएको ‘विश्व परिक्रमा- विश्व नागरिक सम्मान’ पछि युकेको नेपाली डायस्पोरामा सम्मान किनबेचको विषयले तरङ्ग ल्याइदिएको छ । सम्मान पाएका भनिएका करिब दुई दर्जन व्यक्तिहरुको कार्यक्रममा अनुपस्थिति र डेढ दर्जनले मात्र सम्मान ग्रहण गर्नुले के अब युकेमा सम्मान सस्तो हुन थालेको हो त भन्ने प्रश्न जगाइदिएको छ । सम्मान भनेपछि किनेरै भए पनि लिन पछि नपर्ने युकेको नेपाली डायस्पोराले के अब सम्मानलाई इन्कार गर्न शुरु गरेकै हो त ? सम्मानभित्रको स्वार्थलाई रातो कार्ड देखाउन थालेकै हुन् त ? सवाल उठ्न थालेको छ ।

सम्मानको व्यापार
सम्मान राम्रो कार्य मात्र होइन पुण्य कार्य हो । तथापि नाफा घाटाको ‘क्यालकुलेटर’ चलाउनेहरुले यस क्षेत्रलाई पनि बाँकी राखेका छैनन् । धेरैले यस्तो प्रसंग कोट्याउँदा पत्याउँदैनन् । ‘आफूले नपाएर त्यस्तो गुनासो गरेको’ कतिपयको धारणा रहन्छ । तर, पंक्तिकारले नजिकबाट देखेको एक दृष्टान्त यस्तो छ –

जीपी ढुंगेल नाम गरेका एक व्यक्ति थिए काठमाडौँमा कुनै समय । नागरिक समाज नेपाल नाम गरेको संस्था चलाउने उनको खेती थियो सम्मान गर्ने । हरेक महिना वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्मान कार्यक्रम आयोजना गर्दथे । उनको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री, तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु हुन्थे । करिब १ हजार, १५ सय मानिसको बीचमा दर्जनौंलाई बिहामा झैँ तामझामले सम्मान गरिन्थ्यो । यस्तो बडे बडे कार्यक्रम गराउने उनको स्रोत के थियो सबैको जिज्ञासा रहन्थ्यो । सधैँ सुट–टाइ लगाएर हिँड्ने उनले कार्यालय नै राखेका थिए र थिए करिब एक दर्जन कर्मचारी । उनको सम्मान थाप्न प्रवासबाटै कति स्रष्टा र सामाजिक अभियन्ताहरु आउँथे ।

यस्तैमा यस पंक्तिकारका नजिकका एक समाजसेवी दाइ र एक कलाकार दिदीले पनि सो सम्मान पाए । सम्मानपछि पुस्तक निकालिने जसमा सम्मानितहरुको ‘जीवनगाथा’ समेटिने बताइयो । उहाँहरुको जीवनी पंक्तिकारले नै तयार गरिदियो । पछि उहाँहरुले मलाई सुझाव माग्नुभयो, ‘जीपीले पुस्तक निकाल्न यति पैसा चाहियो भन्दैछ के गर्ने होला भाइ’ ? माग भएको रकम हजारमा थिएन । शायद हुन्थ्यो त त्यति सानो रकमका लागि राय सोधिने पनि थिएन होला । तर, त्यतिबेला सम्ममा सम्मानको फोटो भरिएको एल्बम, भिडियो क्यासेटवापत लाखभन्दा बढी लगिसकेका रहेछन् । एकै व्यक्तिबाट यसरी लाख रुपियाँभन्दा बढी उठ्न थालेपछि सम्मान जस्तो राम्रो व्यापार के हुँदो हो । एउटा व्यक्तिलाई सम्मान गर्न बढीमा २५ हजार रुपियाँ खर्च हुँदो हो, बाँकी ७५ हजार त चोखो बच्यो । महिनामा २० जनालाई मात्र सम्मान गर्दा पनि १५ लाख रुपियाँ चोखो बच्दोरहेछ । यतिको कमाइ त सुन पसलमा मात्र हुँदो हो । उता सम्मान पाउने पनि दंग पर्दै भोलिपल्टैदेखि के के न पाइयो भन्दै पत्रिकामा विज्ञापन छपाउने, शुभकामना दिँदै ठीक्क । जब कालान्तरमा ‘रिभ्यु’ हुन्छ त्यतिबेला मात्र थाहा हुन्छ कि सम्मान पाएर सम्मानित भएँ कि लुटिएँ ।

खै र । यतिखेर जीपी ढुंगेल त्यस्तो सक्रिय छैनन् । एकताका प्रहरीले ठगीको अभियोगमा खोजिरहेको समाचार पढ्न पाइएको थियो । शायद उनी अहिले प्रहरीको पाहुना पनि हुन सक्छन् । तर उनका पद चिन्ह पछ्याउने नयाँ जीपीहरु देश विदेश सर्वत्र छन् । मात्र पात्र फरक प्रवृत्ति उही ।

लेखक

सम्मान कि अपमान ?
कसैले सम्मान गर्छु भन्यो भन्दैमा मख्ख पर्नु त होइन बरु कतै उल्टै अपमान पो हुने हो कि भन्ने आशंका पनि गर्नुपर्ने भइसक्यो । केही वर्षअघिको कुरा हो । कुनै समय युकेमै निजी कलेज संचालन गरेका एक सज्जन नेपाल गए । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, विजयकुमार गच्छदार, ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कान्तिपुर दैनिकका तत्कालीन निर्देशक रामेश्वर थापा आदिलाई ग्रीनफोर्ड विश्वविद्यालयका तर्फबाट मानार्थ विद्यावारिधि उपाधि प्रदान गरे । निकै प्रमुखता पायो यो समाचारले । किनकि कुनै पनि विदेशी विश्वविद्यालयबाट यति ठूलो संख्यामा त्यो पनि नेपालमै दीक्षान्त समारोह गरी नेपालीहरुलाई यस्तो सम्मान दिइएको थिएन । तर, त्यसको केही दिनमै पत्रकारहरुले पत्ता लाए कि जुन विश्वविद्यालयको तर्फबाट मानार्थ विद्यावारिधि प्रदान गरियो त्यो विश्वविद्यालय त दुनियाँमा कतै रहँदै रहेनछ । हुँदै नभएको संस्थाबाट सम्मानित हुँदा अघिल्लो दिन सम्मानित हुनेहरुको गति के भयो होला ? त्यसपछि महजोडी, रामेश्वर थापा लगायतले सो सम्मान फिर्ता गरेको सार्वजनिक घोषणा गर्नुपर्यो ।

अब आफैँ सोच्नोस्, अघिल्लो दिन पाएको सम्मानको भोलिपल्टै आफैँले ‘मलाई यो सम्मान चाहिएन’ भन्दै खण्डन गर्नुपर्यो भने त्यो सम्मान भो कि अपमान ? त्यसैले कसैले सम्मानका लागि ‘अफर’ गर्यो भन्दैमा दंगदास हुने होइन बरु सम्मान गर्ने व्यक्ति, संस्था कत्तिको भरपर्दो हो बुझेर उनीहरु वास्तविक हुन् र आफूलाई सम्मान लिन मन लाग्छ भने लिने । कुनै निस्कर्षमा पुग्न सकिएन वा त्यस्ता व्यक्ति वा संस्थाका बारेमा केही थाहा पाउन सकिएन भने नलिँदा बेस होला । कालो पोतिनुभन्दा बरु निधार खाली भएकै जाति । हैन त ?

आखिर सम्मान हो के ?
केही महिनाअघि अमेरिका बस्ने एक मित्रले भने, ‘तिमीहरुले कुनै सम्मान वा पुरस्कार दिन मिल्दैन मलाई ?’ पंक्तिकारले थप सोध्दा उनले भने, ‘बरु पुरस्कारको राशी तिमीहरु नै राख ।’ उनको भनाइ प्रष्ट थियो प्रमाणपत्र र फोटोको निम्ति चाहिएको थियो सम्मान । प्रमाणपत्रको सन्दर्भ निस्कँदा स्वर्गीय गायक युक्त गुरुङ्गसितको प्रसंग ताजा हुन्छ । उनको प्रोफाइल लेख्नका निम्ति यस पंक्तिकार उनको निवास कुपण्डोल पुगेको थियो । कुराकानीकै क्रममा सम्मान, पुरस्कारको विषय निस्किएपछि उनले खाटमुनी देखाए । त्यहाँ थियो सम्मानपत्र निकालिएको फ्रेमहरुको खातैखात । ‘सम्मान पत्र चाहिँ खोइ त दाइ’ भन्दा उनले सम्मानपत्रको चिल्लो कागजको पछाडिपट्टि चित्र बनाउन सजिलो हुने भएकाले सबै छोराले उक्काएको बताए । ‘बरु यो सम्मान पत्रको साटो पैसै दे’को भए छाक टार्न त सहयोग हुन्थ्यो’- उनले भनेका थिए ।

उता, सम्मान पैसा हो भनुँ भने त्यसमा पनि सहमत हुन सकिने ठाउँ छैन । अर्को एउटा दृष्टान्त, नेपाली साहित्यमा सबैभन्दा मान र राशी भएको पुरस्कार भनेर मदन पुरस्कारलाई लिइन्छ । केही वर्षअघि व्यापारी सीताराम प्रसाइँले मदन पुरस्कारभन्दा दोब्बर राशीको सीताराम प्रज्ञा पुरस्कार शुरु गरे । केही स्रष्टाहरुले केही वर्ष भव्य समारोहबीच दुलाहा झैँ सजिएर प्रतिष्ठित व्यक्तित्वहरुबाट पुरस्कार ग्रहण पनि गरे । शायद पुरस्कारको राशीले खर्च पनि चल्यो होला तर अहिले कसैले पनि ‘सीताराम प्रज्ञा पुरस्कार प्राप्त कृति’ वा ‘सीताराम प्रज्ञा पुरस्कार प्राप्त लेखक’ भनेर कतै चिनाएको पाइँदैन । अझ प्रसाई संचालक रहेको बैँक टाट पल्टेपछि त सो पुरस्कार हाल अस्तित्वमा रहेको ज्ञात छैन ।

वास्तवमा पुरस्कार न प्रमाण पत्र हो रहेछ, न त राशी नै । न त आजकल फेसबुकमा पोष्ट गर्ने तस्वीर नै हो । ती त सबै भ्रम मात्र हुन् । मात्र क्षणभरका । पुरस्कार वा सम्मान त आफू अडेको समाजले स्वस्फूर्तरुपमा स्वीकार र ग्रहण गर्ने एउटा पहिचान हो । त्यसैले होला कुनै बखत नेपालमा १ रुपियाँ राशीको पुरस्कार स्थापना गरिएको थियो पुरस्कार वा सम्मानमा बढ्दै गएको बजारीकरण र व्यापारीकरणप्रति व्यंग्य गर्न । कवि, गीतकार दुर्गालाल श्रेष्ठ त्यो १ रुपियाँ राशीको पुरस्कार पाउनेमध्ये एक थिए । पुरस्कार वा सम्मान त यस्तो होस् न । पाउनेले पनि गर्व गरोस् । समाजले पनि त्यसलाई महत्व देओस् । अपनत्व लेओस् ।

अन्त्यमा,
बेलायतको नेपाली समाजमा समुदायका लागि निस्वार्थ काम गरेका धेरै व्यक्तित्व छन् । नेपाली समाजभन्दा बाहिरबाट पनि नेपालका लागि धेरै योगदान दिएका गैरनेपालीहरु छन् । उनीहरुको योगदानको यथोचित सम्मान गर्न नसकिएको सत्य हो । तथापि त्यस्ता व्यक्तित्वहरु तपस्वी जस्ता छन् र पुरस्कार वा सम्मानका लागि मरिहत्ते गर्दैनन् । बदलामा माहुरी झैँ सेवामा दत्तचित्त भइरहन्छन् । तर पनि समाजमा प्रायोजित पुरस्कार र सम्मान पाउने अनि तस्वीर खिचेर फेसबुक वा पत्रिका राख्ने, छाप्ने क्रम बढ्दैछ । दर्शनकारीभन्दा प्रदर्शनकारीको दबदबा बढ्दो छ समाजमा । कतिपय जानेर, कतिपय नजानेर यसो गर्दैछन् ।

धर्मशास्त्र भन्छ – ‘कर्म गर फलको आश नगर ।’ त्यसैले आफ्नो पेशा, व्यवसाय, इलम, रहरको क्षेत्रमा निष्ध्यान भएर लाग्नुस् । यदि तपाई साँच्चिकै सेवक हो भने तपाईको दिन अवश्य आउँछ । मिडिया र सम्मान तपाईलाई पछ्याउँदै तपाईकै दैलोमा आउँछ । त्यसरी सम्मानित हुनु पो मज्जा त, जाबो सस्तो सम्मानको पछि के दगुर्नु ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक