उजाड मेरो जीवनमा जब इन्ट्री भयो विजय…

कथाकार भण्डारी

मोबाइल बिग्रिएको पनि धेरै दिन भइसकेको थियो । घरको नेटको त झन कुनै टुंगो थिएन, कहिले आउने कहिले जाने । त्यस माथि घर र अफिसको ब्यस्तता । कति दिनबाट ल्यापटप छुन पनि पाएको थिइन । आज ४ दिन पछि फेसबुक खोलेको फेसबुक त शुभकामनाका शब्दले भरिएको रहेछ, त्यो पनि आफ्नैं 
जन्मदिनको ।

आफ्नै जन्मदिन पनि याद भएनछ मलाई कस्तो अचम्म । हुन त याद नै के छ र आजभोलि । सबै त भताभुंग छन् जीवनका पल देखि सम्बन्धको डोरीहरु । सायद यिनैबाट भागेर बांच्नको लागि भए पनि आफैंलाई व्यस्त राख्ने कोशिस गर्छु म । तैपनि भाग्न 
कहां सकेको छु र ।

यस्तै बीचमा मेरा आंखा म्यासेन्जरको एउटा म्यासेजमा गएर टक्क अडियो ‘जन्मदिनको शुभकामना तपाईंलाई, संसारको सारा खुसी मिलोस् त भन्दिन । तर, हजुरको भागको खुसी कहिल्यै नखोसियोस्’- विजय शर्मा ।

बाबाको आफ्ना लागि आफैंले केही गर्नुपर्छ भन्ने सोच र आफ्नो पनि केही गरौं भन्ने हुटहुटीले गर्दा बिहान कलेज र दिउसो ट्राभल एजेन्सीमा काम गर्न थालें । अनि त्यही अफिसमा आउने जाने गर्दथ्यो मनिष । अफिसको हाकिमको साथी साथै एउटा राम्रो ट्रेकिङ्ग गाइड पनि । हाम्रोमा आउने अधिकांश विदेशीको पहिलो रोजाइ हुन्थ्यो उ पदयात्राका लागि । चाहे पहिलो चोटी आएका हुन् या पटक पटक ।

झट्ट हेर्दा ठिकै देखे पनि हेरिरहंदा राम्रो देखिन्थ्यो । अझ त्यो भन्दा नि राम्रो त उसको बानी ब्यहोरा र बोलीचाली थियो । यती सहयोगी र मिजासिलो छ कि आंखामा राखे नि बिझाउंदैन भन्थे उसंग संगत गर्नेहरु । त्यसैले होला एकचोटी भेटेका मान्छेहरु पटक पटक भेट्न लालयित हुन्छन् रे । यी सब कुरा अफिसको अर्को स्टाफ रीताबाट थाहा पाएकी हुं मैले ।

हुन पनि सक्छ कहिल्यै नबोलेको, संगत नगरेको म त उ संग भेट्न र बोल्न लालयित हुन्थें । जब उ अफिस आउंथेन या कामको सिलसिलामा हराउंथ्यो मलाई बेचैनी हुन्थ्यो । अनि जब उ मेरो नजिक हुन्थ्यो म आफैंमा लुटपुटिन्थे । तर किन थाहा छैन् ? उ प्रतिको माया या यो बेचैनी थाहा पाउछ भन्ने डरले । जे होस् उ मेरो दिमागमा मात्र होइन, मन मुटुमा पनि बसेको थियो ।

एकदिन लन्च टाइममा अगाडिको कफी सपमा बसेर कफी पिउंदै थिएं । ‘अन्जना’- पछाडिबाट चिरपरिचित आवाज । फर्केको मनिष रैछ । हातमा सानो प्याक लिएर उभिरहेको । ‘जन्म दिनको धेरै धेरै शुभकामना तिमीलाई, थाहा छ मलाई तिम्रो जन्मदिन पर्सी हो तर म कामको सिलसिलामा २ हप्ताका लागि आजै बेलुकाको फ्लाइटबाट देश बाहिर जांदैछु । यो सानो उपहार तिम्रो लागि ल्याएको छु । मन परयो भने राख मन परेन भने म फर्केपछि फिर्ता गर्नु ल । तैपनि भगवानसंग प्राथना गर्न भने बिर्सिन, तिमीलाई मेरो उपहार अवश्य मन परोस् ।’

घर गएर प्याक खोलेको सानो ताजमहलको मुर्ती रैछ । जसमा लेखिएको थियो ‘जीवनका बांकी रहेका पलहरु तिमीसंग बिताउन चाहन्छु मायामा । के तिमी मेरो जीवन यात्राको सहयात्री बन्छौ ?’

म पनि त यही चाहन्थें । मेरो मनले पनि त यही भनिरहेको थियो । ‘तिम्रो सहयात्री बनेर तिमी संगै हिडुं, तिम्रो दुःखमा संगै 
रोउं, सुखमा हांसु, तिम्रै मायाको चौतारीमा आफूलाई बिसाउं’ । तर, किन किन मनको आवाज शब्द बनेर मुखसम्म कहिल्यै आएन । सायद परिवारको अगाडि मेरो यो इच्छाको कुनै सम्बोधन हुन्थेन, त्यसैले म मौन बस्न वाध्य थिएं ।

राजकुमारी थिएं घरको, हजुर आमाको त आंखाको नानी । हरपल उहांकै वरिपरी फुलिरहन्थें फूलजस्तै । तर आज यही फूलले बिझाउंदै छ त्यो पनि पत्थरले जस्तै । एउटा पराइको निम्ति आफ्नालाई निको नहुने घाउ दिंदैछु । जुन दिन थाहा पाउंछन् सब टुट्ने छन् । यी कुरा बुझ्दा बुझ्दै नि हरपल मनिषतिर खिचिंदै गएं म । उसको लागि घर परिवार, आफन्त सब छोड्न तयार भएं । हो सब छोडें मैले मनिषको लागि अनि परिवारले मलाई छोडे आफ्नो इज्जत र मान मर्यदाका लागि ।

प्रेमको अन्तिम रुप बिहे हो, बिहे बिनाको प्रेम सफल हुंदैन । बाबा आमाको यस्तै प्रेम देखेर हुर्केको मलाई पनि आफ्नो प्रेम सफल बनाउनु थियो । तर, बिहे पछि मेरा आफ्ना बदलिए । तिनलाई मनिष मेरो लागि कहिले योग्य लागेन, बिहे दुई जनाको मात्रै होइन दुई परिवारको सम्बन्ध हो भन्थे । तर, मनिषको कोही थिएन, बस दुर्घटनामा परिवार गुमाएर टुहुरो बनेको थियो । यिनै पीडाले कयौं चोटी आफ्नालाई सम्झिएर भक्कानिएको थियो उ मेरो काखमा । तर, अहिले हामी दुवै टुहुरा बनेका छौं (उ आफन्त गुमाएर, म आफन्तले लत्याएर ।

म आमा बन्ने भएं । खुसी माथि खुसी अनि म यही खुसीको पखेटा हालेर उड्न चाहन्थे तर उड्नु भन्दा पहिलै पछारिएं उठ्नै नसक्ने गरि । किनकी यो खुसीलाई मनिषले महशुस गर्न सकेन तर किन ?

बिस्तारै अनेकौं बहाना बनाएर घर आउन छोड्यो, जतिखेरनि फोनमा मात्र बिजी हुने, हप्तौं हराउने, कहां गएको नभन्ने । त्यति धेरै ख्याल राख्ने, माया गर्ने मनिष फर्केर पनि नहेर्ने भएको छ । बाहिर देख्दा संसारको खुसी लोग्ने स्वास्नी थियौं । तर, भित्र यही खुसी बोझ हुंदै गएको थियो । एउटै घर बिस्तारा प्रयोग गर्दैमा आदर्श जोडी हुन्थ्यो भने गर्वका साथ भन्छु सायदै हाम्रो जस्तो जोडी संसारमा बिरलै भेटिएला । ५ महिनाको गर्भवती थिएं, काममा जान्छु भनेर निस्केको त्यसपछि फर्केन । कहां गयो, कतै केही भयो कि डर पनि लाग्यो । उसको अफिसमा फोन गरेर पनि सोधें, उ संग गएकाले पनि अफिससंगै फर्केको त्यसपछि कहां गयो कसैलाई थाहा नभएको बताए । खोज्ने सोध्ने ठाउं कही बांकी राखिन तर देखें भन्ने कोहि भएन ।

दशौं महिनामा हिड्दै थिएं । आफ्नो मान्छेको सहाराको खांचो थियो । तर, साथमा न मनिष थियो, न बाबा आमालाई भन्न सकें । सायद घरबेटी दिदीले दुःख देख्न सक्नु भएनछ क्यारे, बाबा आमालाई फोन गर्दिनु भएछ ।

६ घन्टाको प्रसव पीडापछि छोरीलाई जन्म दिएं, आमा बनें । आफ्नी आमाको पीडा र बाबाको दुःख सम्झें । आफूले गरेको गल्ती सम्झें तर पश्चातापको दुई थोपा आंसु झार्न बाहेक केही गर्न सकिन । यता जति छोरी हुर्कंदै जान्थी उति मनिषको याद दिलाउंथी । अनुहार देखि बानी ब्यहोरा सबै उसैको जस्तो थियो ।

‘बाबा’- उसको पहिलो बोली । जब देखि बोल्न थाली बाबाको कुरा गरेर नथाक्ने भइ । बाबा खोइ ? कहां जानु भयो, कहिले आउनु हुन्छ ? मलाई के ल्याइदिनु हुन्छ ? तर म नाजवाफ हुन्थें । स्कुलमा पनि अरुको बाबा देख्दा मेरो बाबा मलाई लिन किन नआउनु भएको भनेर प्रश्न गर्थी तर म अनुत्तरित रहन्थें । स्कुलको कार्यक्रम, जन्मदिन मात्रै होइन हरेक पल बाबालाई सम्झन्थी । तर, कुनै पल कुनै जन्म दिन यस्तो छैन् मनिषले फोन गरेर आफू बाबु हुनुको कर्तब्य निभाएको । कति जन्म दिनमा त बाबा नभई केक काट्दिन भन्ने उसको ढिपीसंग हारेको थिएं । कति विवश, कति लाचार थिएं, न झुट बोल्न सकें न सांचो । न बाबा आउनु हुन्न भन्न सकें, न भोलि पर्सि धेरै गुडिया लिएर आउनु हुन्छ भन्न सकें । सायद यिनै पीडाले गर्दा होला मनिष म मा अझै जिउंदै थियो त्यो पनि एउटा चोट बनेर । अनि यही चोटमा भएनि जिउंदो राख्न चाहन्थें उसलाई छोरीका लागि ।

दिन त बित्थ्यो तर रात नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । उसले दिएको धोकाले घोचिरहन्थ्यो सियोले जस्तै । कहांनेर चुकें के कमी गरें । आज पनि यिनै पिरलोबीच आंखा कति खेर लागेछ कुन्नि राति छोरीले मम्मी भनेर बोलाएपछि मात्र बिउझिएं । त्यसपछि फिटिक्कै निन्द्रा लागेन । छोरीतिर हेरें उ मस्त निन्द्रामा छे । घरि घरि लाग्थ्यो छोरीलाई उठाएर मनको सारा बह उसको सामु पोखुं र आफूलाई कपास जस्तै हल्का बनाएर बांचु । तर, यो मनले मानेन । यी आंशु, पीडा दुःखबाट बेखबर फूल जस्ती छोरीलाई ओइलिएको कसरी हेरुं, अहं कदापी यस्तो गर्न सक्दिन् ।

यस्तै एक्लोपन र निराशा भरिएको जीवनमा आएको थियो ‘बिजय’, त्यो पनि जन्मदिनमा खुसीको शब्द लिएर । तर, पनि अन्जान थियो उ मेरो लागि । उ को थियो ? कहां बस्छ ? कसरी फेसबुकमा साथी भयो केही थाहा थिएन । जब एउटा अन्जानले आफ्नो खुसीको कामना गर्छ नि, तब उ अन्जान कम र आफ्नो बेशी हुंदो रैछ । मलाई पनि उसको बारेमा जान्ने उत्सुकता बढ्यो, फेसबुक अन गरि प्रोफाइलतिर आंखा डुलाएं । हिजो मात्र पोस्ट गरेको स्टाटस- ‘संसारलाई विजय गर्छु भनेर हिंडेको मान्छे आज आफैंसंग पराजय भएर बाचिंरहेछ ।’ अनि हिजै मात्र पोस्ट गरेको ४, ५ वर्ष सानो बाबुको फोटो र केही पहिला पोस्ट गरेको उही बाबुलाई मोटरसाइकलमा राखेर खिचेको फोटो बाहेक अरु केही देखिन । हया जो सुकै होस्, धन्यवाद भन्छु छोडिदिन्छु । भोलिपल्ट फेसबुक खोलेको म्यासेज देखें उसैको रैछ ।

‘स्वागत छ हजुरलाई । आराम हुनुहुन्छ ? अनि के गर्दै हुनुहुन्छ आजभोली ?’ उसो त त्यति धेरै फेसबुक नचलाउने म म्यासेज त झन् हत्तपत्त रिप्लाई गर्दिन । तर, खोइ के भयो मलाई त्यतिखेर तुरुन्त म्यासेजको रिप्लाई गरें । ‘आराम छु अनि तपाई नि ?’
मेरो जवाफको उत्तर आउनु भन्दा पहिला उताबाट यस्तो जवाफ आयो- ‘हजुरको स्टाटस सधैं हेर्छु, सारहै मार्मिक लेख्नु हुन्छ । यस्तो लाग्छ मेरो जीवनलाई पनि नजिकबाट नियाली रहनु भएको छ । हरेक शब्दले मुटु छुन्छ । कहांबाट लेख्नु हुन्छ ? कसरी फुर्छ यस्ता शब्दहरु ?’

‘मनबाट’ । ओहो म त दिमागबाट हो कि भनेको (स्माइली इमोजी) । हुन सक्छ, दिमागको एउटा कुना तरंगित हुंदा मुटुको अर्को कुना भेटेको । अनि त्यही तरंगलाई शब्द मार्फत पोख्छु ताकी आफूलाई हल्का पार्न सकुं ।

ल्यापटपको मधुरो प्रकाश बाहेक कोठाभरि अध्यारो छायो, सायद बत्ति गयो अनि बत्ति संगै फेसबुक नि ।

पहिलो दिनको सम्वाद यही नै थियो ।

कुराहरु हुंदै गए, दुरीहरु घट्दै गए । विचारहरु मिल्दै गए, भावनाहरु पोखिंदै गए । एकदिन कुरा नहुंदा पनि वर्षौ जस्तो हुन थाल्यो । ५ वर्ष भइसकेको थियो एक्लिएको पनि । भन्छन् रोकिएको आंशु र थुनिएको खोलाको कुनै भर हुंदैन । कुनै बेला फुटन वा बग्न सक्छ । जब बग्छ आफ्नो वरीपरी केही बांकी राख्दैन् । हो म पनि यसरी नै बगें, मेरो एक्लोपन, पीडा, अतित, वर्तमान सब बग्यो आंसु बनेर बिजयसंग । अनि आफ्नो मुटु गुमाएर एक्लो बनेको बिजय पनि बग्यो म संगै । लागेको थियो मनिषले दिएको धोकाले पत्थर भएको छु, कसैले पगाल्न सक्दैन । गलत रैछु पग्लदंै थिएं घामले पगालेको बरफ जस्तै । खुसी र हांसो हराएर उजाड भएको म फुल्दै थिएं मखमली जस्तै । निभ्न लागेको मेरो आशाको दियोमा तेल थप्दै थियो उ, गुमिसकेको भरोसालाई फर्काउंदै थियो, टुक्रिएको मुटुलाई जोड्दै थियो ।

अर्कोतिर मनिषको बारेमा पनि जान्नु थियो, कहां बस्छ, के गर्छ, किन उसले यस्तो गरयो यो पनि बुझ्नु थियो तर कसरी ? न उसका कुनै आफन्तसंग मेरो चिनजान थियो न कुनै अरु सम्पर्क । फेसबुकमा पनि मनिष ढकाल भनेर खोजें, संसार भरिका मनिष देखें तर मैले खोजेको मनिष भेटिन ।

तर एकदिन फेसबुक चलाई रहेको थिएं । ‘यू मे नो मनिष ढकाल’ भन्दै चिरपरिचित अनुहार मेरो वालमा देखा परयो । हेरेको मनिष रहेछ । साथमा अरु कोही सानो बच्चा बोकेर उभिएको थियो र क्याप्सन थियो, ‘माइ वाइफ, माइ लाइफ, माइ वल्ड’, अनि पछाडिको सिन कतै बाहिर देशको तर कहांको होला ? मनिषको फोटो देखेर जति खुसी भएं, त्यो भन्दा हैरानी संगै उभिनेलाई देखेर भयो । उ अरु कोही थिइन रीता थिई । त्यही रीता जो संग मैले एक वर्ष एउटै अफिसमा काम गरें । मनिष र मेरो सबै कुरा जान्थी र फेरी यस्तो किन गरी ? के त्यतिबेला अफिसको स्टाफले गर्ने कुरा सांचो थियो ? रीताको मनिषप्रतिको आशक्ति आफ्नै आंखाले देखेर पनि किन देखिन मैले । अनि मनिषले घर छोडेको केही दिनमानै उसले पनि अफिस छोड्नु, के यी सब संयोग मात्र थिएन ?

उसलाई रीतासंग जिन्दगी बिताउनु थियो भने मसंग बिहे किन गरयो । प्रेम रीतालाई गर्दथ्यो भने म संगको के थियो ? मात्र आंखाको प्रेम र शारीरिक आकर्षण ? यदि आकर्षण मात्र थियो भने त्यो आंसु, आत्मियता के का निम्ति थियो । सायद उसको चाह जुनको चमक थियो होला । फगतमा मै टुकी बनेर पछयाई रहें । मनमा धेरै प्रश्नहरु अनुरित्त छन् जसको जवाफ मनिष र रीताले मात्र दिन सक्छन् अनि म यही जवाफको प्रतिक्षामा रहिरहने छु ।

छोरीको लागि फर्किन्छ कि भन्ने आश थियो त्यो पनि टुट्यो । आशा, माया, अनुभूति सब फगत भए मेरा लागि । कुनै बेलाका प्रेमिल पलहरु अहिले घाउ बनेर बल्झियो । म पनि टुटें जोडिनै नसक्ने गरि । अब जोडिरहन सक्ने भनेको यहि सम्बन्ध थियो तर सम्बन्धले मात्र परिवार हुंदो रहेनछ । परिवारको जग विश्वास, आत्मियता र आफ्नोपनमा अडिएको हुन्छ । तर, यहां त धोका थियो, बेवास्ता थियो । आफ्नोपन र विश्वास बिनाको सम्बन्ध सम्झौता मात्र हो । सम्झौता कसको लागि गरुं, 
मैले लगाउने सिन्दुरको लागि जसको मान कहिल्यै राखेन या छोरीको लागि जसलाई छोरी भनेर कहिल्यै सम्बोधन गरेन । जीवनका पलहरु अझै बांकी छ, बांच्नु छ । अनि बांच्नको लागि सहारा चाहिन्छ, जिउनको लागि आधार चाहिन्छ, हांस्नको लागि खुसी चाहिन्छ, खुसी बिनाको मुस्कान फगत हो । हराएको मान्छेलाई खोज्न सकिन्छ, रिसाएको मनलाई फकाउन सकिन्छ तर बदलिएको मनलाई कसरी फकाउं, कसरी फर्काउं ?

एक वर्षपछि ‘कसैले धोका दिंदैमा कसैको जिन्दगी सकिंदैन, मेरो सुन्दर परिवार’, प्रोफाइल फोटो बदलें र मनिषलाई फेसबुकमा रिक्वेष्ट पठाएं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री