फागुनमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेलको प्रायोजनसम्बन्धी सम्झौतापत्र हस्ताक्षरपछि आदानप्रदान गर्दै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र नेपाल स्याटलाइट टेलिकम प्रालीका अध्यक्ष अस्मीता सुमार्गी । तस्बिर – नवीन पौडेल, रासस

काठमाडौँ, २१ पुस – नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख तथा तेस्रोले रु ६० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु १५ हजार पाउनेछन् भने उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सरभर र प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा महिलातर्फ नौ तथा पुरुषतर्फ १२ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीलाई छनोट गरी आगामी चैत-वैशाखमा हुने राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी गराइने नेपाल भलिवल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक नेपाल स्याटलाइट टेलिकम प्राइभेट लिमिटेल कम्पनी हुनेछ । कार्यक्रममा मुख्य प्रायोजक कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गी र भलिबल संघका अध्यक्ष शर्माले भलिबल खेलमा कम्पनीले दुई वर्षसम्म प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार भलिबल खेलको लागि कम्पनीले रु ४० लाख दिने सहयोग गर्नेछ ।

सोही कार्यक्रममा उक्त क्लब च्याम्पियनसिपका लागि कम्पनीले पहिलो किस्ताबमोजिम रु १० लाखको चेक संघलाई प्रदान गरेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री