बुद्ध फाउण्डेशन यूकेको अध्यक्षमा पुनः दीपक श्रेष्ठ

लन्डन । बुद्ध फाउण्डेशन यूकेको शनिबार सम्पन्न पहिलो अधिवेशनले नयां पूर्ण कार्यसमिति चयन गरेको छ । गेसो हल प्लमस्टिडमा सम्पन्न अधिवेशनले तदर्थ समिति विघटन गर्दै दीपक श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयां पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयां कार्यसमितिको उपाध्यक्षहरुमा सचिन श्रेष्ठ, एभरेष्ट गौतम र हरिश ज्ञवाली, महासचिवमा अर्जुन कटुवाल, सचिव सुरेन रुपाखेती, कोषाध्यक्ष राजन खकुरेल र सह-कोषाध्यक्षमा धनराज मल्ल चुनिएका छन् ।

त्यसैगरि, सदस्यहरुमा हयारी गुरुङ, जीवन सेन, महेन्द्र विक्रम कुंवर, निरन्जन खड्का, विकास नेपाल, बर्मा खनाल, गणेश खड्का, मन्जु भट्ट, सूर्य गुरुङ र सिमी पुन चुनिए ।

पत्रकार फडिन्द्र भट्टराईको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले नयां कार्यसमिति घोषणा गरेको थियो । संयोजक भट्टराईले नवनिर्वाचित कार्यसमितिलाई शपथ गराएका थिए । निर्वाचन मण्डलमा अर्क तिम्सिना र नरेन्द्र कंडेल सदस्य थिए ।

अधिवेशनमा समाजसेवीहरु मोहन गुरुङ, श्रीचन्द्र गुरुङ, सुशील प्रजापति, सहदेव गिरी, कुमार श्रेष्ठ लगायत अतिथीहरुले शुभकामना मन्तब्य दिए ।

यसअघि पहिलो चरणमा फाउण्डेशनका महासचिव गणेश खड्का र अध्यक्ष दीपक श्रेष्ठले संस्थाका गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

‘पावर पोइन्ट’ प्रिजेन्टेसन दिंदै अध्यक्ष श्रेष्ठले फाउण्डेशनले कपिलवस्तु समाज यूके र एनआरएनए यूकेको सहकार्यमा कपिलवस्तुमा वुद्ध वृद्धाश्रम निर्माण गरिरहेको जनाए । उनले गत वर्ष ट्राफलगर स्क्वायरमा भव्य रुपमा बुद्ध जयन्ती मनाइएको, वृद्धाश्रम निर्माण सहयोगार्थ प्लमस्टिडमा च्यारिटी कार्यक्रम गरिएको र संस्थाको तर्फबाट केही खेलकुद प्रतियोगितामा सहभागी गराइएको समेत उल्लेख गरे ।

उनले फाउण्डेशनले आगामी २१ जनवरी दिउसो उलवीचमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचेको विशेष आतिथ्यमा निशुल्क बुद्ध सम्वन्धि प्रवचन गर्न लागेको पनि जानकारी दिएका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री