नर्सिङ एसोसिएसनको शैक्षिक कन्फेरेन्स फेब्रुअरी ९ मा लन्डनमा गर्ने तयारी

 

अध्यक्ष प्रसुना कंडेल

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको
 शैक्षिक कन्फेरेन्स आगामी फेब्रुअरी ९ मा लन्डनमा हुने भएको छ । एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलको अध्यक्षतामा आइतबार लन्डनमा सम्पन्न कार्यसमिति बैठकले तमु समाज यूकेको सामुदायिक भवन, सडबरी टाउनमा सम्मेलन गर्ने निर्णय गरेको हो । कन्फेरेन्स बिहान ११ देखि अपरान्ह ५ बजेसम्म हुनेछ ।

उक्त कन्फेरेन्समा विज्ञहरुबाट विभिन्न ‘प्रिजेन्टेसन’ 
हुनेछन् । उक्त सम्मेलनमा रोयल कलेज अफ नर्सिङको इमिग्रेशन डिपार्टमेन्टका सोलिसिटर र इमिग्रेसन अफिसर आइ बेलायतमै रहेका नर्सहरुका इमिग्रेसन सम्वन्धि समस्या, नेपालबाट आउने प्रक्रिया, क्राइटेरिया लगायतबारे प्रष्ट पारिदिने अध्यक्ष कंडेलले जनाइन् ।

नेपलिज डक्टर्स एसोसिएसन यूकेबाट पनि वक्ताहरु आउने कार्यक्रम छ । सम्मेलनमा सेफ गार्डिङ, करिअर प्रोगेसन जस्ता इष्यूमा युनिभर्सिटी अफ वेष्ट लन्डन, युनिभर्सिटी अफ एडिनबरा र बक्स युनिभर्सिटीका विज्ञहरु साथै विशेषज्ञ नर्सहरुबाट समेत अन्य विभिन्न विषयमा ‘प्रिजेन्टेसन’ हुने एसोसिएसनले जनाएको छ ।

अध्यक्ष कंडेलले कम्युनिटी, अस्पताल र नर्सिङ होममा काम 
गर्ने नर्सहरु, हेल्थ केयर असिस्टेन्ट, रजिष्टर्ड र नन रजिष्टर्ड नर्सहरु, विद्यार्थी, विदेशी तथा नेपाली सबै इच्छुकलाई उक्त कन्फेरेन्समा सहभागी हुन विशेष आव्हान गरेकी छन् । सम्मेलनबाट वौद्धिक तथा व्यवसायिक विकास, अन्तरक्रिया, नेटवर्किङ, ज्ञान, सीप, अनुभव आदानप्रदान, करिअर अवसर आदि लाभ हुने विश्वास व्यक्त गरिएको छ ।

बैठकले नयां वर्ष २०१८ को विभिन्न कार्ययोजना समेत तय गरेको छ । बैठकमा एसोसिएसनको पूर्ण आर्थिक सहयोग तथा एक्सन वर्क नेपालको सहकार्यमा जुम्लामा बन्न लागेको ‘बर्थिङ सेन्टर’ बारे विस्तृत छलफल भएको थियो ।

फाइल तस्विर

बैठकमा करिब ६० लाख रुपैयांको लागतमा यही मार्चदेखि बर्थिङ सेन्टर निर्माण कार्य शुरु गर्न सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा भइसकेको बताइयो । उक्त प्रसुति गृह करिब एक वर्षभित्र निर्माण सम्पन्न गरि ५ वर्षपछि सरकारलाई हस्तान्तरण गरिने छ ।

बैठकमा एसोसिएसनले उक्त प्रसुतिगृह निर्माण सहयोगार्थ गत २६ अगष्टमा लन्डनमा भएको च्यारिटी डिनरका सबै सहयोगीप्रति पुनः आभार व्यक्त गरेको छ । बर्थिङ सेन्टर निर्माणको कार्य प्रगति बुझ्न यसै वर्षको अक्टोबरतिर एसोसिएसन अध्यक्ष, सल्लाहकार लगायत पदाधिकारीहरु नेपाल जाने योजना तय गरिएको छ ।

एसोसिएसनले बर्थिङ सेन्टर निर्माणमा आर्थिक सहयोग जुटाउन यो समरमा म्याराथनमा सहभागिता, समर वाक, कफी मर्निङ लगायत विभिन्न च्यारिटी गतिविधिमा सहभागिता जनाउने तय गरेको छ । ब्रेन्ट काउन्सिलसंग मिलेर च्यारिटी 
गर्ने लक्ष्य समेत एसोसिएसनको छ ।

एसोसिएसनले डक्टर्स एसोसिएसन यूकेसंग मिलेर विगत वर्ष जस्तै यसपटक पनि ‘हेल्थ अवेरनेस’ कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी वार्षिक च्यारिटी डिनरभित्र एउटा ‘स्मारिका’ निकाल्ने जनाउंदै एसोसिएसनले इच्छुक नर्सहरुलाई अनुसन्धनात्मक लेख, अनुभव, आफ्नो डिग्रीका शोधपत्र आदि सामाग्रीहरु भए उपलव्ध गराइदिन अपिल समेत गरेको छ ।

बैठकमा अध्यक्ष कंडेलले बेलायत र नेपालका विशेषज्ञ नर्सहरुको सहकार्यमा ‘ग्लोवल च्यालेन्ज रिसर्च’ अन्तर्गत ‘सर्टेज एण्ड माइग्रेसन अफ हेल्थ केयर प्रोफेशनल इन एण्ड फ्रम नेपाल’ प्रोजेक्ट गर्ने प्रस्तावबारे अवगत गराएकी थिइन् ।

एसोसिएसनले यतिखेर नेपालबाट नर्सहरु बेलायत आउन विभिन्न जिज्ञासा राखिरहेको परिप्रेक्ष्यमा सम्वन्धित नर्स वा विद्यार्थीहरुलाई बेलायतको ‘नर्सिङ एण्ड मिडवाइफ्री काउन्सिल’ को आधिकारिक वेवसाइट हेरि क्राइटेरिया फलो र पर्याप्त सूचना लिएर मात्र बेलायत आउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री