राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती मनाइयो

२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, २७ पुस – नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्योपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ राष्ट्रिय एकता दिवस मनाइएको छ ।

दोस्रो जनआन्दोलनपछि सरकारले आजको दिन बिदा कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक बिदा दिइएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, नेपाली कांग्रेसका नेता डा रामशरण महत, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

लामो समयदेखि शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्ने माग गर्दै अभियानमा लाग्नुभएका पूर्वमन्त्री मोदनाथ प्रश्रित यस वर्ष सो दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत सरकारका उच्च ओहोदाका व्यक्तिको उपस्थिति भएकामा खुशी हुँदै भन्नुहुन्छ, ‘गत वर्ष यही दिवसका अबसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाँदा पनि प्रहरीले अभद्र व्यवहार गर्दथ्यो, अहिले आनन्दका साथ मनाउन पाइयो, हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।’

गोरखाका राजा शाहले विसं १८०१ असोज १५ गते नुवाकोट विजय गरेपछि पृथ्वीनारायणले तत्कालीन बाइसे तथा चौबीसेसहितका साना राज्य एकीकरण गरेर मुलुकलाई एक सूत्रमा बाँध्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा गंगाप्रसाद उप्रेती शाहका राष्ट्रिय एकतासम्बन्धी दिव्योपदेशलाई कार्यान्वयनमा ल्याए मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुहुन्छ । ‘यो दिवस प्रज्ञा–प्रतिष्ठान वा एक मन्त्रालयले मात्र मनाएर हुँदैन, देशव्यापी रूपमा मनाउनुपर्छ’- उहाँ भन्नुहुन्छ ।

पण्डित विश्वप्रेम भट्टराई सरकारले ढिलै भए पनि शाहलाई सम्मान गरेर राम्रो कामको थालनी गरेको बताउनुहुन्छ । ‘सरकारले पृथ्वीनारायण शाहको योगदानलाई ढिलै भए पनि सम्झेको छ, अब मुलुक सशक्त भएर अगाडि बढ्नेछ’- उहाँले भन्नुभयो ।

विशाल नेपाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरद दाहाल भन्नुहुन्छ, ‘संघीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सनु हुँदैन ।’

कलाकार सन्तोष पन्त पनि जनताले मानेका व्यक्ति शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदा दिनु नेपाली जनताको विजय भएको बताउनुहुन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव दिव्योपदेश नयाँ ढंगबाट अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । ‘पृथ्वीनारायण शाहले लामो समयको नेपाललाई कल्पना गरेर दिव्योपदेश दिनुभएको हो, यो अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ’- उहाँ भन्नुहुन्छ । सबै भाषा, धर्म, संस्कृति, चालचलन, बोलीचाली र व्यवहारलाई एकै सूत्रमा बाँध्न सके मात्र राष्ट्रिय एकता दिवसको सार्थकता हुने उहाँको भनाइ छ ।

राष्ट्रपति प्रधानमन्त्रीद्वारा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर – रोशन सापकोटा, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गर्नुभएको हो ।

यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक बिदा दिन शुरु गरेपछि उक्त दिवस भव्यताका साथ मनाउन थालिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर – रोशन सापकोटा, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री