ट्रम्पले आप्रवासीलाई होच्याएपछि विवाद

ट्रम्प

वासिङ्टन, २८ पुस – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका नागरिकको बारेमा प्रयोग गर्नुभएको भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उहाँले ती नागरिकप्रति ‘हेपाहा’ भाषा प्रयोग गर्नुभएको बताइएको छ ।

सो सम्झौता प्रस्ताव पनि खारेज गर्नुपर्ने भन्दै उहाँले उक्त प्रस्तावको खारेजीका क्रममा हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गर्नुभएको बताइएको छ ।

ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपरयो भनी प्रश्न गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले सोही क्रममा ती देशका नागरिकलाई बेकामे भनी गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाइएको समाचारमा उल्लेख छ ।

उहाँले उक्त बैठकका क्रममा ती देशका नागरिकलाई प्रयोग गरेको भाषा अशिष्ट भएको भन्दै सांसदहरूले पनि विरोध गरेको बताइएको छ ।

हाइटी, एल्साल्भाडोर र अफ्रिकी देशका नागरिकलाई बेकामे भनेकोमा ती देशले पनि विरोध गरेका छन् ।

रिपब्लिकन र डेमोक्रयाट सांसद्हरूलाई नै राष्ट्रपति ट्रम्पले उल्टै प्रश्न गर्नुभएको थियो– ‘किन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ ल्याउनुपरयो ? उनीहरुलाई किन अमेरिका प्रवेश गर्न दिने ?’

वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री