स्कटल्याण्डका रेष्टुरेन्ट सुके, व्यवसायी 
सरकारसंग समस्या सुनाउंदै

लन्डन । बेलायत सरकारको कडा अध्यागमन नियमका कारण स्कटल्याण्डका रेष्टुरेन्ट व्यवसाय संकट उन्मुख भएका छन् । दक्ष जनशक्ति (सेफ) अभावले स्कटल्याण्डका झण्डै ९० प्रतिशत रेष्टुरेन्टले संकट झेलेका वा बन्द हुने तरखरमा रहेका भन्दै व्यवसायीहरुले बचाउ अभियान थालेका छन् ।

नेपाली तथा एसियन व्यवसायीहरुले बेलायत सरकारसमक्ष आफ्ना समस्या अवगत गराइ समाधानको बाटो पहिल्याउन अभियान शुरु गरेका हुन् । स्कटल्याण्डका एकजना नेपाली रेष्टुरेन्ट व्यवसायी काशिराम भण्डारीले यसको नेतृत्व गरेका छन् । ‘हामीहरुको व्यापार त चौपट्टै भयो’, भण्डारीले भने, ‘हाम्रा समस्या स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने सांसद, काउन्सिल लिडर र अन्य स्थानीय अधिकारीहरुलाई अवगत गराउन फेब्रुअरी १५ मा स्कटल्याण्डको काउडनबीच टाउनस्थित नमस्ते सिम्ला प्यालेसमा विशेष भेला डाकेका 
छौं ।’

लामो प्रयासपछि उक्त भेलामा सांसद लेस्ली लेर्डसहित अन्य बरिष्ठ अधिकारी सहभागी हुने कार्यक्रम छ । त्यस क्रममा व्यवसायीहरुले सरकारका प्रतिनिधिसमक्ष समाधानका केही उपाय प्रस्ताव गर्ने योजना बनाएका छन् । ‘कम्तीमा दुई वा तीन वर्षका लागि मात्र अस्थायी भिजा दिने प्रावधान भएपनि यस संकट तत्काल समाधान गर्न सकिने थियो’, व्यवसायी एकै स्वरमा भन्छन्, ‘सरकारको नियमले बाहिरबाट वर्क परमिटमा सेफ झिकाउन वार्षिक ३५ हजार पाउण्ड तलव दिनुपर्छ जुन असम्भव छ । अर्को समस्या टेक वे 
गर्ने रेष्टुरेन्टहरुले वर्क परमिट स्पोन्सरसीप लाइसेन्स नै पाउंदैनन् । स्थानीय बेलायती करी हाउसमा काम गर्दैनन् ।’

भण्डारीले सरकारको कठोर अध्यागमन नियमका कारण बाहय मुलुकबाट दक्ष जनशक्ति ल्याउन नसकिएकाले रेष्टरेन्ट व्यवसाय झण्डै ९० प्रतिशत सुकेका बताए । ‘सेफ पाइएन भन्दा तलब राम्रो दिए किन नहुने भनिन्छ, तर हामीले चाहेको दिन्छौं भन्दा पनि अहिले सेफ पाउन मुश्किल छ’, भण्डारीको गुनासो छ, ‘मान्छे पाइए पनि बेनिफिट लिएर बसेकाहरु नगद दिएमात्र आउंछौं भन्छन् जुन नियमसंगत र व्यवहारिक छैन् ।’

एसियन क्याटरिङ फेडेरेसनले बेलायत सरकारको कठोर नियम रहिरहे दश वर्षभित्र बेलायतका करिब १७ हजार रेष्टुरेन्ट बन्द हुने चेतावनी दिएको छ । उक्त फेडेरेसनले बेलायतका ३५ हजार इथ्नीक रेष्टुरेन्ट (इण्डियन, चाइनिज, बंगलादेशी, थाइ, मलेसियन, नेपाली आदि) र टेक वे रेष्टुरेन्टको प्रतिनिधित्व गर्छ । ४ दशमलब २ बिलियन पाउण्डको यस करी उद्योगले कम्तीमा एक लाख जनालाई रोजगारी दिइरहेको अनुमान छ ।

बंगलादेश क्याटरर्स एसोसिएसनले केही समय अघि होम अफिसले अनावश्यक रुपमा रेष्टुरेन्टहरुमा छापा मारेर दुःख दिइरहेको आरोप लगाएको थियो ।

बेलायतमा नेपालीहरुले गरेको सबैभन्दा धेरै व्यवसाय रेष्टुरेन्ट नै छ । नेपलिज क्याटरिङ एसोसिएसन यूकेको अनुमानमा बेलायतमा नेपालीका करिब तीन सय ७५ रेष्टुरेन्ट चालु छन् । सरकारको कडा अध्यागमन नियमका कारण ब्रिटेनका नेपाली रेष्टुरेन्टले गैर युरोपेली मुलुकबाट सेफ र दक्ष कामदार झिकाउन असमर्थ भएको र यसले रेष्टुरेन्ट व्यवसाय नै संकटमा परेको बताउंदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री