डा केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता

तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २८ पुस – त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ ।

आज साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भई भोलि अनशन तोडने सहमति भएको छ ।

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले भोलि डा केसीले अनशन तोड्ने जानकारी दिनुभयो । उहाँ पाँच दिनदेखि अनशनमा हुनुहुन्छ । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उहाँले अनशन शुरू गर्नुभएको थियो ।

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उहाँलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

भोलि बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्ने डा सिंहले जानकारी दिनुभयो । यो उहाँको १४ औं आमरण अनशन हो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री