ट्युनिसियामा मुल्यवृद्धि विरुद्धको आन्दोलनमा ७७८ गिरफ्तार

Tunisia police

राजधानी ट्युनिसमा सुरक्षा दिंदै सुरक्षाकर्मी । तस्विर- सिन्हवा

ट्युनिस, २८ पुस – ट्युनिसियामा मुल्यवृद्धि विरुद्ध भइरहेको आन्दोलनका क्रममा ७७८ जना प्रदर्शनकारी गिरफ्तार भएका छन् ।

सोमबार राती देखि भएको प्रदर्शनका क्रममा उनीहरूलाई सुरक्षाकर्मीहरूले गिरफ्तार गरेको गृह मन्त्रालयले शुक्रबार जनाएको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मीकाबीच पटक पटक भएका झडपपछि उनीहरूलाई गिरफ्तार गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको गृह मन्त्रालयका प्रवक्ता खालिफ चिबानीले जानकारी दिनुभयो ।

उहाँले पछिल्ला दिनमा अघिल्ला दिनहरूको तुलनामा आन्दोलन बिस्तारै थप आक्रमक र हिंसात्मक हुदै गएको बताउनुभयो ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा अहिले पनि गरिबी र बेरोजगारीको समस्या समाधान हुन सकेको छैन ।

उहाँले प्रदर्शनकारीहरूबाट ठूलो मात्रामा श्रोत साधनहरूको क्षति भएको पनि बताउनुभयो । प्रदर्शनकारीहरूलाई तितरवितर पार्न र आन्दोलन नियन्त्रण गर्न प्रहरीले केही राउण्ड टियर ग्यास समेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिनुभयो ।

तानाशाह जीन एल अबिडिन बेन अलीको लामो समय सम्मको शासनबाट मुक्त भएपछि सन् २०११ देखि ट्युनिसियामा अपेक्षित रुपान्तरण भईरहेको छ । तर, यसै बर्षको सुरु देखि भने निराशा र असन्तुष्टी व्यक्त भएको छ । मुल्यबृद्धि, संघर्षपूर्ण अर्थतन्त्र लगायतका कारणले निराशा छाएर प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनका क्रममा भएका झडपमा परी ११ प्रान्तमा रहेका गोदाम, प्रहरी चौकी, निजी तथा व्यापारीक प्रतिष्ठान र बैंकहरूमा क्षति पुगेको छ ।

प्रवक्ता चिबानीले ९६ जना सुरक्षाकर्मी घाइते भएका र ८७ सवारी साधनहरूमा क्षति पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री