शिक्षा, स्वास्थ्य र प्रविधिमा उल्लेखनीय प्रगति – प्रधानमन्त्री

कञ्चनपुरको भीमदत्तनगरमा शनिबार आयाजित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहपछि प्रधानमन्त्री एवं सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा, उपप्रधान एवं शिक्षामन्त्री तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सहकुलपति गोमालमान क्षेष्ठलगायत । तस्बीर – शेरबहादुर सिंह, कञ्चनपुर, रासस

भीमदत्तनगर, २९ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति देउवाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताउनुभयो ।

उहाँले सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व रहेको बताउँदै विश्वविद्यालय शिक्षामा गरेको लगानीले नै राष्ट्रमा वर्तमानमा मात्रै नभई भविष्यमा पनि प्रतिफल दिने धारणा राख्नुभयो । “शिक्षा राष्ट्रको पुँजी हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “शैक्षिक र अनुसन्धानात्मक गतिविधिको स्तरोन्नतिमा लाग्न सबैसँग आग्रह गर्दछु ।”

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका निम्ति यहाँका स्थानीयको पहल महत्वपूर्ण रहेको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय, योग्य र नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

आफ्नै नेतृत्वको सरकारले गत असोजमा यहाँका थप १५ क्याम्पसलाई समायोजन गरी विश्वविद्यालयका आङ्गिक क्याम्पसका रुपमा विकास गरेको पनि बताउनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षालाई मानवअधिकारको अभिन्न अंगका रुपमा स्वीकार गर्दै सर्वसुलभ शिक्षाको प्रत्याभूतिमा सरकार सदैव तत्पर रहेको बताउनुभयो । उहाँले आधुनिक युगमा शिक्षाको महत्वलाई दर्शाउन अन्य संघ-संस्था, अनुसन्धानमूलक निकायसँगको सहकार्य पनि जरुरी रहेको औँल्याउनुभयो ।

विसं २०६७ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयमा हाल तीन हजार ९०० विद्यार्थी अध्ययनरत छन् । शनिबार दीक्षान्तका लागि २८२ विद्यार्थी योग्य रहेपनि १२० दीक्षित भएका छन् । आज विज्ञान, व्यवस्थापन, मानविकीलगायत पाँच संकायका विद्यार्थी दीक्षित भएका छन् ।

मानार्थ विद्यावारिधि डा पोख्रेललाई 

सुदूरपश्चिम विश्वविद्यालयले पहिलो मानार्थ विद्यावारिधिको उपाधि वरिष्ठ आँखा रोग विशेषज्ञ डा रामप्रसाद पोख्रेललाई प्रदान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दीक्षान्त समारोहमा डा पोख्रेललाई उक्त उपाधि प्रदान गर्नुभएको हो ।

उहाँलाई नेपालको आँखा उपचारको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएको भन्दै विश्वविद्यालयले उक्त उपाधि दिएको जनाएको छ । नेपाल नेत्र ज्योति संघका संरक्षक समेत रहनुभएका डा पोख्रेल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं उपाधिबाट पनि सम्मानित हुनुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री