एनआरएनए अध्यक्ष भट्टसंग पत्रकारहरुको अन्तरक्रिया हुने

लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टसंग एक अन्तरक्रिया गर्ने भएको छ । आगामी साता २२ जनवरीमा बेलायत आउन लागेका भट्टसंग २३ जनवरी मंगलबार, सांझ ७ बजे लन्डनमा अन्तरक्रिया गर्न लागिएको हो । इलिंग ब्रोडवेस्थित मन्टिजमा हुने उक्त कार्यक्रममा शाखाले हालै अध्यक्ष निर्वाचित भट्टलाई औपचारिक रुपमा बधाइ र स्वागत गर्ने कार्यक्रम छ । अक्टोबरमा अध्यक्षको नेतृत्व सम्हालेपछि भट्टको यो पहिलो बेलायत भ्रमण हो ।

अन्तरक्रियामा गैर आवासीय नेपाली संघको भावी योजना, केही अनलाइनमा संघका विरुद्ध हाल आइरहेका समाचार, विदेशमा रहेका नेपालीको संघबाट अपेक्षा, एनआरएनए र पत्रकारहरुबीच व्यवसायिक सम्वन्ध लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

उता, गैर आवासीय नेपाली संघ बेलायतले पनि २२ तारिखमा भट्टसहित राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल, ग्लोबल आइएमइ बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, एनआरएनए आइसीसी पूर्व अध्यक्ष जीवा लामिछाने, एनआरएनए उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य लगायत अभियन्तासंग अन्तरक्रिया गर्ने भएको छ । उक्त कार्यक्रमको संयोजन एनआरएनए यूके उपाध्यक्ष शेर सुनारले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री