एनआरएनए यूकेलाई सल्लाहकार छान्न हम्मे हम्मे


लन्डन । गैरआवासीय नेपाली संघ बेलायतमा सल्लाहकार मनोनयन प्रक्रियालाई अन्तिम रुप दिन हम्मे हम्मे परेको छ । सल्लाहकारहरुको नामावली सोमबार औपचारिक रुपमा सार्वजनिक हुने भनिएपनि अहिलेसम्म एनआरएनए यूकेले नाम घोषणा गर्न नसकेपछि यस भित्रको ‘अप्ठ्यारो’ सतहमा आएको हो ।

कार्यसमितिमार्फत सल्लाहकारमा सिफारिस संख्या झण्डै ४ सय पुगेपछि त्यसलाई ‘डाउन साइज’ गर्दै २ सयमा झार्ने निर्णय शनिबारको कार्यसमिति बैठकले गरेको थियो । त्यही दुई सयभित्रबाट पनि ‘फाइनलिष्ट’ निकाल्न संघले सास्ती खेपिरहेको छ । ‘प्राविधिक विषय मिलाउन बांकी रहेकाले केही समय लागेको हो, छिट्टै सल्लाहकारहरुको नामावली सार्वजनिक गर्नेछौं’- एनआरएनए यूके प्रवक्ता रमेश साराङकोटीले भने ।

त्रिपाठीको अण्डरमा नेतादेखि पत्रकारसम्म

एनआरएनए आइसीसी अनररी सल्लाहकारबाट राजिनामा दिएका विश्वआदर्श पण्डित एनआरएनए यूके अन्तर्गत बनेको एउटा समितिको मात्रै सल्लाहकारमा बस्न भने राजी भएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद जस्तो केन्द्रको मनोनयनप्रति असन्तुष्टि जनाउंदै विज्ञप्ति मार्फत बाहिरिएका पण्डित एनआरएनए यूकेको समितिमा खुम्चिन तयार भएका हुन् ।

संघले महासचिव आर के त्रिपाठीको संयोजकत्वमा ‘नेपाल संघीय सरकार प्रदेश एवं नेपाली दूतावास बेलायत समन्वय विभाग’ गठन गरेको थियो । आइसीसीमा आफूसंगै मनोनयनमा परेका कनिष्ठ व्यक्तिहरुमाझ बस्न अस्वीकार गरेका पण्डित महासचिव त्रिपाठी संयोजक भएको समितिमा सल्लाहकार बस्न राजी भएकोबारे वीनेपालीले राखेको जिज्ञासामा प्रतिक्रिया दिएनन् ।

समिति उपसंयोजकमा विनय अधिकारी, सदस्य सचिव डा. मिन रानाभाट र अन्य सल्लाहकारहरुमा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व सभापति लोक गुरुङ, नेता विज्ञान प्रसाईं र केशव भण्डारी, माओवादी पूर्व केन्द्रीय सदस्य पूर्ण लक्सम, नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष एवं एनआरएनए यूकेमा सल्लाहकार भइसकेका चिरन शर्मा, पूर्व डिएसपी शिवजी श्रेष्ठ, राप्रपा नेपाल निकट रोशन सापकोटा, मोती भण्डारी, शिव भण्डारी, कमल गुरुङ, सूर्य तामाङ, धर्म तामाङ, सूर्य नेम्वाङ, युवराज गुरुङ र विनोद मोक्तान छन् ।

उक्त समिति सदस्यहरुमा राजन खकुरेल, कुस बस्नेत, रितेश निरौला र होमनाथ पौडेल छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री