सिरियाबारे भियना वार्तामा विद्रोही सहभागी हुने

द्वन्द्वका कारण सिरियालीहरु विस्थापित हुने क्रम जारी छ । तस्विर- एएफपी

बेरुत, लेबनान, २ माघ – सिरिया सङ्कट समाधानका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा अष्ट्रियाको राजधानी भियनामा गरिने नयाँ वार्तामा विद्रोहीले सहभागिता जनाउने मङ्गलबार सञ्चारमाध्यमले जनाएका छन् ।

भियना वार्ता मिति सार्वजनिक नभैसकेको अवस्थामा विद्रोहीले भने वार्तामा आफ्नो समूहले सहभागिता जनाउने बताएको हो ।

सिरियाको शान्तिवार्ता आयोगको कार्यालयले आज एक विज्ञप्ति जारी गरी विद्रोहीले नयाँ चरणको वार्तामा सहभागिता जनाउने बताएको छ । भियनामा हुने वार्ताको मिति छिट्टै तय गरिने कार्यालयले बताएको छ ।

यसैबीच रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असदले पनि यही जनवरीको २९ र ३० गतेका लागि शान्ति सम्मेलनको घोषणा गर्नुभएको छ । असद सरकारको सहयोगी इरान र विद्रोहीको निकट मानिने टर्कीले सहआयोजक रहेको सम्मेलनले द्वन्द्वपछिको सिरियामा संविधान निर्माणका लागि छलफल गर्ने बताइएको छ ।

सिरियाबारे पछिल्लो वार्ता डिसेम्बरमा भएपनि यहाँ विगत सात बर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि खासै उपलब्धि हुन सकेको थिएन । यस पहिले वार्ता स्वीट्जरल्याण्डमा नै जनवरी २१ देखि हुने अपेक्षा गरिएको थियो ।

सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण करिब तीन लाख २० हजार नागरिकको मृत्यु भएको छ भने यहाँको झण्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री