प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयप्रति महरा असन्तुष्ट

महरा

काठमाडौँ, ३ माघ – सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र) का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

उहाँले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलितरुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको उल्लेख गर्नुभएको छ ।

नेता महराले प्रशासन पुनःसंरचना आयोगको सिफारिश, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको आरोप लगाउनुभएको छ ।

महराले प्रदेश नं ५ को राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुलित हुनुपर्दछ भनि त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्छु भन्दै सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्नुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री