युकेका बिभिन्न ठाउँमा ‘एभरेष्ट म्यूजिकल ब्लाष्ट २’ हुँदै

लन्डन । इ मिडिया हब युकेको आयोजनामा बेलायतमा ‘एभरेष्ट म्यूजिकल ब्लाष्ट २’ हुने भएको छ । आगामी २७ जनवरीदेखि युकेका विभिन्न स्थानमा कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा नेपालकी चर्चित गायिका मिलन अमात्यसहित बेलायतमै रहेकी गायिका ममता गुरुङ र एभरेष्ट आइडल युके २०१७ का विजेताहरु सोनाहाङ राई, निमान प्रताप तामाङ, दिप प्रकाश राई एवं सुमी राईसहित अन्य कलाकारहरुको प्रस्तुति रहने इ मिडिया हब युकेका कार्यक्रम संयोजक एवं इन्टरटेनमेन्ट प्रमुख किसन राईले जानकारी दिएका छन् ।

‘हामी दर्शकहरुलाई कसरी उत्कृष्ट कार्यक्रम पस्कन सकिन्छ भन्नेमा केन्द्रित रहेर तयारी गरिरहेका छौं । यो फिल्डमा एक पटकको लागि होइन, पटक पटक दर्शकबीच पुग्नुपर्छ, त्यही भएर पनि हामीले आयोजना गर्ने कार्यक्रम उत्कृष्ट हुन जरुरी छ’- राईले भने ।

पहिलो कार्यक्रम अल्डरसटको एम्पाएर हलमा २७ जनवरी साँझ ६ बजे देखि शुरु हुनेछ । कार्यक्रममा गायक नोर्देन तेन्जिङ र गायक तथा संगीतकार बिसी राई समेत अतिथि रहने छन् ।

दोश्रो शो लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा २ फेब्रुअरी शुक्रबार सांझ गर्ने तयारी छ भने तेश्रो कार्यक्रम १० फेब्रुअरीमा आसफोर्ड केन्टको क्रिस्चियन फेलोशिप चर्च हल र चौंथो १८ फेब्रुअरीमा उलवीचस्थित द ट्रामसेड थियटर हलमा तय भएको आयोजकले जनाएका छन् । अन्य स्थानहरुमा समेत कार्यक्रम गर्ने योजना छ ।

गायिका मिलन अमात्यले आफ्नो लोकप्रिय गीतहरु गाला रातै, आशैको गुलेलीमा, ठेकीमा दही, जहिलेसम्म, सिरिमा सिरी, यो के हो माया जस्तै लगायत थुप्रै हिट नम्बर प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने छिन् ।

ममता गुरुङ र एभरेष्ट आइडलका विजेताहरुको पनि उस्तै बेजोड प्रस्तुति रहने आशा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री