ओली र दाहालबीच तीन घण्टा वार्ता, के भयो कुराकानी ?

दाहाल ओली । फाइल तस्वीर

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षण गरेर थाइल्याण्डबाट फर्केकै भोलिपल्ट माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग तीन घण्टा लामो भेटवार्ता गरेका छन् । ओली थाइल्याण्डबाट फर्केको भोलिपल्ट दाहाल उनलाई भेट्न बालकोट पुगेका थिए ।

बालकोटमा दुई नेताहरुबीच आसन्न राष्ट्रियसभा निर्वाचन, सरकार गठन र पार्टी एकतालगायतका विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले दुई नेताबीच राष्ट्रिसभा निर्वाचनका विषयमा कार्यदलले दिएको प्रतिवेदनका विषयमा छलफल भएको जानकारी दिए । उनकाअनुसार दुवै नेताहरुले त्यसलाई सामान्य हेरफेर गरेर अन्तिम रुप दिने समेत सहमति भएको छ । यसैगरी नेताहरुबीच प्रदेश र केन्द्र सरकार गठनका विषयमा पनि छलफल भएको थियो ।

साथै, दुवै पार्टीका अध्यक्ष दूरगामी महत्वको विषयका रुपमा हेरिएको पार्टी एकताका विषयमा पनि कुराकानी गरेका छन् । त्यसका लागि शनिबार पुनः दुई नेताहरु छलफल गर्ने बताइएको छ ।

यस्तै, आइतबार भने पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री